News 24 Television
रसुवागढी नाका : ठूलो धनजनको क्षतिसँगै व्यापारिक सम्बन्ध विच्छेद

काठमाडौँ । बाढीपहिरोले रसुवागढी नाका हुँदै भइरहेको चीनसँगको व्यापारिक सम्बन्ध विच्छेद भएको छ । चीनतर्फबाट आएको बाढीले चीन–नेपाल जोड्ने व्यापारिक नाका रसुवागढीको पुल बगाएसँगै ठूलाे धनजनकाे क्षतिसँगै व्यापारिक सम्बन्ध तत्काललाई टुटेको छ भने अर्बौंको ब्यापार प्रभावित हुने देखिएको छ ।

गएराति आएको बाढीले मितेरी पुल बगाउनुका साथै भन्सार ड्राइपोर्टमा समेत ठूलो क्षति गरेको थियो । सोही कारण जनधनको क्षति हुनुका साथै ड्राइपोर्टमा रहेका दर्जनौंँ विद्युतीय (इभी) गाडीहरु समेत बगाएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रसुवागढी नाका पछिल्लो समय अत्यान्तै महत्वपूर्ण नाकाका रुपमा लिने गरिएको थियो । चीनसँगको ब्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न ब्यापारीहरुले अति सहज मान्दै आएका थिए । तथ्यांक मै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्बको ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाकाहुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु आयात भएको छ ।

खासगरी चीनबाट इभि गाडी, खेलौंना, लत्ताकपडा, जुत्ता, फलफूलसहितका वस्तुहरु ल्याइन्थ्यो भने चीनतर्फ चिया, पुस्तक, छापा सामग्री, हस्तकलाका सामग्रीहरू, हस्तकला र ढुंगाका मूर्तिहरू, चित्रकलाहरू, ऊन/पश्मिना तथा तिनबाट बनेका कपडाहरू, काठका सामग्रीहरू निर्यात गर्ने गरिएको छ । पुल तथा सडक नै बगाएसँगै तत्काललाई दुई देशको व्यापारमा ठूलो असर परेको छ ।

रसुवा प्रहरीका अनुसार आज बिहान सबा तीनबजे चीनतर्फ अबिरल बर्षाको कारण लेन्दे नदिमा बाढी आएको थियो । बाढीले नेपाल –चीन जोड्ने मितेरीपुल बगाएको छ ।  

प्रारम्भिक विवरण अनुसार बाढीले रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ टिमुरे स्थित रहेको इभी चार्जिङ स्टेसनमा क्षति गरेको छ । अहिलेसम्म ८ ओट गाडिहरु बगाएको छ ।

भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको छ । ८-९ ओटा लोड कन्टेनर डिब्बा बगाएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

माथिल्लो त्रिशुली –१ जलबिद्युत आयोजनामा समेत बाढी पस्न सक्ने खतरा छ ।  

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update