काठमाडौँ । नेपाल सरकारले आन्दोलनरत नेपाल चिकित्सक संघ सँग वार्ता थालेको छ। साँझ ६ बजे देखि स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो ।
वार्तामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सहभागी छन् । साथै वार्तामा स्वास्थ्य सचिव डा. विकास देवकोटा, चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा. सञ्जीव तिवारीलगायत सहभागी रहेका छन् ।
केहि दिन यता उपभोक्ता अदालतको चिकित्सकीय लापरबाहीसम्बन्धी गरेको एक फैसलाविरुद्ध चिकित्सकहरूको काम नै ठप्प पारेर आन्दोलनमा उत्रेका छन्। गत असार १७ गतेदेखि चिकित्सकहरूले देशभर कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिरहेका छन् । हिजो र आज देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन्।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको क्षतिपूर्ति र कारबाहीसम्बन्धी फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको ठहर गर्दै आन्दोलन चर्काएको हो । संघले उपभोक्ता संरक्षण ऐन, २०७५ मा संशोधन गर्न माग पनि गरेको छ। साथै, चिकित्सकहरूको पेसागत मर्यादा र सुरक्षाको प्रत्याभूति गर्न र नेपाल मेडिकल काउन्सिलको स्वायत्तता कायम राख्न सरकारसँग आग्रह गरेको छ। सरकारले तत्काल कदम नचाले कडा आन्दोलन गर्ने चेतावनी संघले दिइसकेको छ।