News 24 Television
संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छ : सांसद नेम्वाङ

काठमाडौँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले  संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखे। उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको उनकाे भनाइ छ । 

नेम्वाङले भने, ‘स्वच्छ बहस जीवित लोकतन्त्रमा एकदमै आवश्यक चिज हो । तर दुर्भाग्यबस कहिलेकाँही रचनात्मक बहसको सट्टा हरु विषयमा समय खर्च गरेर बसिरहेका छौं कि भन्ने मलाई लागेको छ । आरोप–प्रत्यारोप, गालीगलौज, टिकाटिप्पणी र असंसदीय व्यवहारमा अल्झिँदा हामीले हाम्रो मुल जिम्मेवारी ओझेलमा पारेको जस्तो मलाई महसुश भएको छ । त्यो साह्रै नै दुःखद् छ । सभामुख महोदय, हामीसँग छलफलका लागि थुप्रै विषय छन् जस्तो लाग्छ मलाई । हामीले धेरैभन्दा धेरै समय त्यसमा व्यतित गर्नुपर्छ भन्ने मलाई लागेको छ । नीति नियमलाई अझै प्रभावकारी बनाएर, हाम्रो काम गर्ने शैलीलाई सुधारेर जनतालाई सकारात्मक परिवर्तन भएको अनुभुति दिनुपर्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकासलजस्ता क्षेत्रहरुमा अझै गम्भिर भएर काम आवश्यक देखेको छु ।’

उनले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताउँदै संसदमा उठेका प्रश्नहरुको समयमै जवाफ दिन मन्त्रीहरुको समेत ध्यानाकर्षण गराए । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update