
सिन्धुपाल्चोक । सरकारले वैकल्पिक समाधानबारे ठोस योजना नबनाउँदा कृषकहरु बाँदर आतंकबाट चरम निराशामा छन् । तर, अहिले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले भने बाँदरको आतंक न्यूनीकरण गर्न दीर्घकालीन समाधानका लागि सामुदायिक वन र खुला चौरहरूमा फलफूलका विरुवा रोप्ने अभियान शुरु गरेको छ ।
नेपालका अन्य पहाडी क्षेत्रमा जस्तै सिन्धुपाल्चोकमा समेत बाँदरको संख्या उच्च छ । बाँदरको हुल नै खेतीबारीमा पस्ने र अन्नबाली, फलफूल सखाप पार्ने समस्याले आजित छन्, सिन्धुपाल्चोकवासी । तर, अब भने उनीहरुले बाँदरको आतंक कम गर्न रोचक उपाय अपनाउन थालेका छन्, जुन उपायले बाँदरले दुःख दिने समस्या दीर्घकालीन रुपमै समाधान हुनसक्छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा बाँदर आतंक रोक्न सामुदायिक वन र खुला चौरहरूमा फलफूलका विरुवा रोप्ने अभियान शुरु गरिएको हो । यतिमात्रै होइन, दुई तिर फाइदाको बाटो अपनाउन खोज्दैछन् सिन्धुपाल्चोकवासी । हरियाली प्रवद्र्धन गर्दै जमिनलाई उत्पादनशील बनाउने, एकातिर अर्कातिर जंगली जनावरको जंगलमै व्यवस्थापनको प्रयास उनीहरुको छ ।
तथ्यांक अनुसार सिन्धुपाल्चोक जिल्लामा करिब ३६ % खेति योग्य जमिन बाझै छ । जमिनलाई हरियाली बनाउने दिर्घकालिन उद्देश्यका साथ भविष्यको सम्भावना खोज्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ ले उदाहरणीय पहल थालेको हो– सार्वजनिक स्थलमा फलफूलका विरुवा रोप्ने । फलफूल रोपेर एकातिर जंगली जनावरलाई खेतबारीमा पस्न नदिने र अर्कोतिर जमिनलाई उत्पादनशील बनाउने उदेश्य रहेको भन्दै स्थानीय श्रमदानमा जंगलमा विरुवा रोप्न जुटेका छन् ।
वडाले सुरु गरेको यो अभियान अन्तर्गत आप, लिची, अम्बा, सुन्तला, नास्पाती, एभोकाडो, जामुन, अन्जिर लगायत १२ भन्दा बढी प्रजातिका ४,५०० बोट फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ । सान्ती सेवा गृहको सहयोगमा ल्याइएका यी बिरुवाहरू उन्नत ग्राफ्टिङ प्रविधिबाट उत्पादन गरिएका हुन् ।
जसको मूल्य प्रतिविरुवा पाँच सय रुपैयाँसम्म पर्छ । फलफूलका विरुवा रोप्ने काम पर्यावरणीय सचेतना, सामाजिक सहभागिता, आर्थिक सबलीकरण र समृद्धिको बहुआयामिक अभियान रहेको भन्दै यस अभियानमा स्थानीयदेखि सरोकारवाला सवैको उत्साहजनक सहभागिता जनाएका छन् । सार्वजनिक स्थलमा विरुवा रोप्नेलाई प्राथमिकता दिइएको छ, र निजी जमिनमा लैजाने किसानले सार्वजनिक ठाउँमा कम्तीमा एक बिरुवा रोप्नुपर्ने वडाले सर्त बनाएको छ ।
सिन्धुपाल्चोकमा पछिल्ला वर्षहरूमा बाँदरका कारण अन्नबाली, फलफूल र बगैंचामा क्षति बढेपछि मेलम्ची, चौतारा साँगाचोकगढी र इन्द्रावती लगायतका पालिकाले कृषि संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गर्दै आएका छन् ।
रातो बाँदर संरक्षित जनावर भएकाले निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार नियन्त्रण गर्न कानुनी चुनौती पनि छ । ऐनले बाँदरको निर्यात वा हत्या प्रतिबन्धित गरे पनि, खेतीबालीमा क्षति पु¥याउने संरक्षित जनावर नियन्त्रणका उपाय भने स्पष्ट रूपमा नबताउँदा स्थानीय सरकारहरूमाझ चुनौति छ । तर अब, फलफूल रोप्ने अभियानले बाँदर आतंक नियन्त्रण र उत्पादनका क्षेत्रमा राम्रो सुधार हुने अपेक्षा छ ।