News 24 Television
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछः देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा कांग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका निवासलाई योजनाबद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन् । पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवाले आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गर्दै पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्ने घोषणा पनि गरेका छ । 

शनिवार ललितपुरमा आफू पक्षीय कांग्रेसको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले जेनजी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र बीपी कोइरालाको पुख्र्यौली घरसमेत जलाइएको भन्दै आक्रोश व्यक्त गरे । अन्य दलका नेताहरूको घरमा आक्रमण नभई कांग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उनको दाबी थियो । जेनजी आन्दोलनलाई देउवाले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिए । 

देउवाले विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रका लागि संघर्ष गरेको र साढे आठदेखि नौ वर्षसम्म जेल जीवन बिताएको स्मरण गरे । बीपी कोइरालालगायत प्रजातन्त्रका लागि संघर्ष गरेका नेताहरूको योगदान बिर्सन नहुने भन्दै उनले कांग्रेसका लागि पसिना बगाएका नेता–कार्यकर्ताका सन्तान अझै पार्टीमै रहेको बताए । 

जनताको समर्थनबाट पाँचपटक प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले प्रजातान्त्रिक आन्दोलनको इतिहास र योगदानको सम्मान गर्न आग्रह गरे । त्यसैगरी पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निष्पक्ष न्याय दिनेमा आफू विश्वस्त रहेको देउवाको भनाइ छ । 

सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था नभएको भन्दै उनले अदालतले आफूहरूमाथि अन्याय नगर्ने जिकिर गरे । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा शाही आयोगमार्फत आफूलाई जेलमा राखिएको प्रसंग स्मरण गर्दै त्यतिबेला पनि सर्वोच्च अदालतले साहसपूर्वक आफूलाई रिहा गरेको देउवाको भनाइ छ । 

देउवाले आफूहरूलाई न्याय मिल्ने र अन्ततः आफ्नो पक्षको जित हुने दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।  जनता र पार्टी आफ्नो पक्षमा रहेको उल्लेख गर्दै देश तथा जनताको सेवामा निरन्तर समर्पित हुन पनि उनले आग्रह गरेका छन् । देउवाले व्यक्तिगत रूपमा आफूलाई कुनै पद वा जिम्मेवारीको चाहना नरहेको पनि दाबी गरेका छन् । 

शहीदहरूको बलिदानबाट निर्माण भएको कांग्रेसलाई कसैले बन्दी बनाउन नसक्ने दाबी गर्दै उनले पार्टीको संरक्षण र एकताका लागि अन्तिम समयसम्म संघर्ष गर्ने बताए । पार्टीकै सहयोग र समर्थनका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको स्मरण गर्दै देउवाले कांग्रेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update