
काठमाडौं । सिन्धुलीका ३५ वर्षीय खिलबहादुर भुजेलले जब काठमाडौंको सडकमा आँखा खोले उनीसँग मिर्गौला थिएन । रोजगारीको नाममा भारत पु¥याइएका उनले घर फर्किंदा पैसा होइन, शरीरको अङ्ग हराएको पाए । यो व्यक्तिगत पीडा होइन, नेपालीहरूलाई सस्तो श्रम र सजिलो नाफाको चक्रमा फसाउने अन्तर्राष्ट्रिय मानव तस्करी सञ्जालको नयाँ, भयावह रूप हो ।
‘काम गर्न भारत गएका थिएँ, फर्किंदा मिर्गौला नै थिएन’ यो कथन ३५ वर्षीय खिलबहादुर भुजेलको हो, जो दुधौली नगरपालिका–१ का बासिन्दा हुन् । परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर भारत गएका भुजेल जब फर्किए उनीसँग न त स्वास्थ्य बाँकी थियो, न त विश्वास । खुलेआम बन्दै गएको मानव तस्करी र अङ्ग तस्करीको भयावह रेखा उनको जीवनमा अमिट घाउ बनेर बसेको छ ।
शुरुमा भाँडा माझ्ने, सफा गर्ने जस्ता सामान्य काम दिइएको थियो । केही हप्ता वातावरण सामान्य लागे पनि जब उनले बारम्बार घर फर्किने इच्छा जनाउन थाले, त्यही बेला उनको जीवन नै उल्टो मोडमा लाग्यो । एक दिन अचानक बेहोस भए । होश खुलेपछि आफू भारतमा नभई काठमाडौंको कलंकीमा छन् भन्ने थाहा पाए । न पैसा, न कागजात, शरीर कमजोर र कम्मरमा असह्य पीडा । आफन्तको सहारामा सिन्धुली फर्किए । तर पीडाले थला परेका उनी अस्पताल पुगेपछि चकित पार्ने सत्य बाहिर आयो । उनको देब्रे मिर्गौला निकालिएको थियो ।
खिलबहादुरको कथा कुनै फिल्मको स्क्रिप्ट होइन । यो आजको नेपालमा मौन रूपमा बढिरहेको मानव तस्करी र अङ्ग तस्करीबीचको गहिरो सम्बन्धको ज्वलन्त उदाहरण हो । भारत वा अन्य देशमा रोजगारीको प्रलोभनमा लगिने नेपालीहरूलाई शोषण मात्र होइन शारीरिक रूपमा क्षतविक्षत पार्ने गिरोहहरू सक्रिय छन् ।
उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिइसकेका छन् । चार जनालाई संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको छ र अनुसन्धान जारी छ । यता, भुजेल परिवार न्यायको प्रतीक्षा गरिरहेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान शाखाका अनुसार पछिल्लो केही वर्षयता भारत हुँदै हुने मानव तस्करीमा अङ्ग तस्करी जोडिएको उजुरीहरू उल्लेख्य रूपमा बढेका छन् । तर प्रमाण अभाव, कानुनी अस्पष्टता र पीडितको मौनता जस्ता कारणले कारबाहीका घटनाहरू न्यून छन् ।
अब हेरौं मानव वेचविखन अनुसन्धान व्युरोमा मुद्धा दर्ताको संख्या
कानूनी अस्पष्टता : मानव तस्करी र वेचविखनको धमिलो रेखा
नेपालमा प्रचलित कानुनले मानव बेचबिखनलाई स्पष्ट परिभाषा दिएको भए पनि मानव तस्करीलाई स्पष्ट रूपमा छुट्याउन सकेको छैन । नेपाली कानुनअनुसार व्यक्ति बेचबिखन (जस्तै वेश्यावृत्ति, अङ्ग निष्कासन, बालश्रम) अपराध हो । तर, व्यक्तिलाई झूटो प्रलोभनमा पारेर देशभित्र वा बाहिर लैजाने कार्य (जुन मानव तस्करी हो) अझै कानुनी रूपमा अस्पष्ट छ । यही कानुनी कमजोरीका कारण धेरैजसो तस्करहरू कानुनी फन्दाबाट जोगिइरहेका छन् ।
फेरियो तस्करीको स्वरूप
दक्षिण–पूर्वी एसिया : नेपालीहरूलाई थाइल्याण्ड हुँदै म्यान्मार, लाओस, कम्बोडिया पु¥याइन्छ । ट्रान्जिट पोइन्टको रूपमा प्रयोग हुने थाइल्याण्डमार्फत उनीहरूलाई बन्धक बनाएर साइबर ठगीमा लगाइन्छ ।
खाडी देशहरूः महिलाहरूलाई घरेलु कामदारका रूपमा बेचिन्छ । ती महिला यौन शोषण र अमानवीय व्यवहारको शिकार भइरहेका छन् ।
अमेरिकाको सपनाः अमेरिका जान ‘डंकी रुट’ प्रयोग गर्नेहरू जङ्गल, समुन्द्र र बिच बाटोमै मृत्युको मुखमा पुगिरहेका छन् । यस्ता यात्रामा करिब ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च हुन्छ ।
राज्यको भूमिका : कमजोरी नै कमजोरी
एकातिर कानुनी अस्पष्टता, अर्कोतर्फ पीडितको मौनता यी दुई कारणले तस्करहरू खुलेआम चलिरहेका छन् । प्रहरी निकाय, अध्यागमन, विदेश मन्त्रालय जस्ता सम्बन्धित निकायबीच समन्वयको अभाव छ । विदेशिनेहरूका लागि चेतनामूलक कार्यक्रमहरू पनि नगण्य छन् । खुला सिमाना, गरिबी, बेरोजगारी र कम तलबको कारण युवा आकर्षक विदेश यात्रा नाममा तस्करीमा परिरहेका छन् । तर, न त सरकार सक्रिय छ, न न्यायिक प्रणाली प्रभावकारी ।
नेपालले वर्षौंदेखि मानव तस्करीको समस्यालाई सामाजिक र कानुनी प्राथमिकताबाट बाहिर राख्दै आएको छ । अझ अङ्ग तस्करीजस्तो जटिल र अमानवीय अपराधलाई त कानुनी परिभाषामा समेत अस्पष्ट रूपमा प्रस्तुत गरिएको छ । आज खिलबहादुरजस्ता पीडितहरू भौतिक र मानसिक पीडामा तड्पिरहेका छन्, तर राज्य संयन्त्र अझै तथ्यांक गन्दै र प्रतिवेदन लेख्दै व्यस्त छ । मानव तस्करी एक ‘अपराध’ मात्रै होइन यो त ‘मानवता विरुद्धको हमला’ हो भन्नेतर्फ सरकारको ध्यान जाने कहिले ?