काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर आफ्नो प्रभाव विस्तार गरेको दाबी गरिरहेको बेला नेताहरुले पार्टी छाड्नेक्रम बढेको छ । रास्वपा छाड्नेहरुले आर्थिक अनियमिततादेखि अनेक आरोप लगाउदै रास्वपा छाड्नुपरेको दाबी गरिरहेको बेला यसले कस्तो प्रभाव पार्ला ? राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर लोभलाग्दो प्रभाव विस्तार गरिरहेको चर्चा चलिरहेको बेला नेताहरुले धमाधम पार्टी छाड्दै अनेकन आरोप लगाउनेक्रम बड्न थालेको छ । प्रतिनिधिसभाको चुनावमा प्राइमरी इलेक्सनको नाटक गरिएकोदेखि आर्थिक अनियमितताको आरोप लगाउदै नेताहरुले पार्टी छाडेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि रास्वपालाई यस्ता विषयमाथि प्रष्टीकरण दिनैपर्ने बाध्यता आइलाग्ने खतरा बढेको छ ।
रास्वपा छाडेका तीन नेताहरुले पत्रकार सम्मेलन नै गरेर मतदान चटक गर्नेहरुलाई नदिन भन्दै उनीहरुले रास्वपाप्रति गम्भिर आरोपहरु लगाएका छन् । जसमा वागमती प्रदेशका उपसभापतिको जिम्मेवारीमा रहिसकेका दिनेश हुमागाईले चटकदार अनुहारलाई भन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्नुपर्ने भनेका छन् ।
रास्वपाबाट उम्मेदवार बन्न चाहेका प्रणय शमशेर राणाले पनि विधि र पद्धतिको पालना नगरिएको भन्दै आपत्ति जनाउने गरेका छन्। रासवपा छाडेका प्रणयले संगठनात्मक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको र थितिको थालनी र वेथितिको अन्त्य भन्ने नाराका साथ स्थापना भएको पार्टी उल्टो बाटोतिर हिँडेको अहारोप लगाएका छन् ।
यस्तै, रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति समेत रहिसकेकी ममता शर्माले पार्टीभित्र अपारदर्शिता बढ्दै गएको आरोप लगाइन् ।
रास्वपा त्यागेका नेताहरू प्रणय र ममता नेपाली काँग्रेसमा प्रवेश गरिसकेका छन भने दिनेश हुमागाईं हालसम्म कुनै पार्टीमा प्रवेश गरेका छैनन् । रास्वपामा पछिल्लो समय मधेसका विभिन्न जिल्लाका नेताहरुले धमाधम पारटी छाडिरहेका छन् ।
यस्तै जिल्ला तहका नेताहरुले पार्टी छाड्दा रास्वपामाथि अनेक आरोप गम्भिर बन्दै गएका छन् । तर, पार्टी छाडेर जानेहरुले पनि यथेष्ट प्रमाण र तथ्य दिन नसक्दा उनीहरु अवसरको खोजीमा अर्को पार्टीमा जाने बाटोका निम्ति यस्तो भएको भन्ने समेत चर्चा चलिरहेको छ ।
प्रष्टीकरण दिनैपर्ने बाध्यतामा रास्वपा
रास्वपामाथि लागेका यस्ता आरोपको प्रष्टीकरण दिनुपर्ने स्थिति बन्न पुगेको छ । तर, रास्वपाले देशभर सिर्जना गरेको माहोलकाबीच एमालेसंगको टक्कर, झण्डा जलाउनेदेखि अनेक विवादमा मुछिने क्रमले पनि संकट भने पैदा गर्न थालेको देखिन्छ ।
यस्तोमा रास्वपा नेतृत्वले कसरी विवाद व्यवस्थापनमा काम गर्छ भन्ने कुराले समेत धेरै कुरा निर्धारण हुने स्थिति बनिरहेको छ । तर, देशभर रास्वपाको पक्षमा देखिन थालेको लहरकाबीव चलिरहेको विवादले क्षति भने बढाउने खतरा बढ्दै गएको छ ।
