News 24 Television
चुनाव विथोल्न को को सक्रिय ? बहिष्कारवादी भन्दा ठूला दलकै डर

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक माहोल झनै गर्माएको छ । मतदानका लागि अब १० दिन भन्दा कम समय मात्रै बाँकी छ । तर, निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नुपर्ने बेलामा देशका विभिन्न स्थानमा झण्डा जलाउने, कार्यालय तोडफोड गर्ने र साम्प्रदायिक तनाव बढाउने खालका घटनाहरु बढ्न थालेका छन् । गौर, तुलसीपुर र दाङ लगायतका स्थानमा भएका पछिल्ला घटनाले चुनावी वातावरण विथोल्दै त छैन? संशय पैदा भएको छ ।

चुनाव नहुन पनि सक्छ ?यो भाष्य यतिबेला जबरजस्त स्थापित गर्न खोजिँदैछ । मतदानका लागि १० दिन भन्दा कम समय बाँकी हुँदा राजनीतिक गतिविधि तीव्र हुनु स्वभाविक हो । तर, पछिल्ला केही दिनयता भइरहेको घटनाले चुनावी माहोललाई असहज बनाउने संकेत गरेको छ । रौतहटको गौरमा सूरु भएको साम्प्रदायिक तनाव अझै साम्य भएको छैन । माहोल विग्रँदै गएपछि प्रशासनले कफ्र्यु आदेश जारी गर्दै सेना परिचालन गरेको छ । 

निर्वाचनको मुखमा स्थानीय तहमा भएको यो घटनाले सुरक्षा व्वस्थामाथि चुनौती थपेको छ । यता तुलसीपुरको वीरेन्द्र चोकमा नेकपा एमालेको सूर्य अंकित झण्डा जलाइएको घटनाले पनि राजनीतिक वृत्त गर्माएको छ । यहि बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच साइबर युद्ध नै चलिरहेको छ । सोही क्षेत्रमा स्वर्गीय राजा विरेन्द्रको शालिकमाथि तोडफोडको बिषयलाई लिएर यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि असन्तोष पोखिरहेको छ । 

विभिन्न दलका झण्डा च्यात्ने, अपमानजनक व्यवहार गर्ने र कसैको अस्थामाथि प्रहार गर्ने जस्ता गतिविधिले निर्वाचनलाईअस्वस्थ दिशातर्फ लैजाने चिन्ता बढाएको छ।

पछिल्लो समय पुराना राजनीतिक दलप्रति नै वितृष्णा देखिएको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा एक पटक नयाँलाई हेर्ने धारणा बलियो बनेको छ । जसका कारण पुराना राजनीतिक दलहरुलाई पार्टी सदस्यहरुकै मत जोगाउन मुश्किल छ । जेनजी आन्दोलनको बेला सत्तासिन एमाले सबैभन्दा बढी दबाबमा छ ।

कांग्रेस सभापति गगन थापाले कांग्रेस बदलिएको भन्दै युवा आकर्षण बढाउन खोजे पनि पार्टीबाट किनारा लागेको शेरबहादुर देउवा समूह यो निर्वाचन टार्ने मनस्थितिमा छ । कमल थापासँग एकता गरेर ठूलो पार्टी बनेको राप्रपा पनि आफ्नो मत जोगाउन सक्ने अवस्थामा छैन । यो निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न नसक्ने हो कि भन्ने डर पनि छ । पूर्वराजा ज्ञानेन्द्र शाहले नै अहिलेकै अवस्थामा निर्वाचनमा जान नहुने अभिब्यक्ति नै दिएका छन् । 

माधव नेपाल लगायत विभिन्न समूहसँग एकता गरेर बनेको नेकपालाई पनि नयाँ परिस्थितिमा पुरानै मत जोगाउन मुश्किल छ । यद्यपी एमाले कांग्रेस र राजावादीहरुसमेत कमजोर रहेको अहिलेको अवस्थामा निर्वाचनलाई अवसरका रुपमा लिन सकिने आशामा पनि छ । त्यसैले चुनाव भाड्न नहुने नेताहरुले बताइरहेका छन् । 

राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ निर्वाचन भाड्ने योजनामा नै छन् । उनलाई पक्राउ गरिए पनि उनको समूहले आन्दोलनको घोषणा गरिसकेको छ ।

निर्वाचन बहिष्कार गरेको मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोलको नेकपा बहुमत, विश्वभक्त दुलालको वैज्ञानिक कम्युनिस्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरु यो निर्वाचनलाई पश्चिमाको डिजाइनमा हुन लागेको भन्दै निर्वाचन बहिष्कारको घोषणा गरेर आन्दोलनमै छन् । बहिष्कारका प्रचार सामग्री नै बनाएर लागेको यी दलहरुले संयुक्त संघर्ष समिति नै बनाएका छन् । यद्यपी बहिष्कारवादी यी समूहहरुले निर्वाचन विथोल्न नसक्ने बुझाई प्रधानमन्त्री सुशीला कार्कीको छ । 

आगामी फागुन २१ मा निर्वाचन नहुने हो कि भन्ने संशय चुनावमै भाग लिएका दलहरुलाई पनि छ । त्यसैले उनीहरुले निर्वाचन नहुने हो कि भनी आयोगलाई बारम्बार सोध्ने गरेको कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताउँछन् । निश्चित उद्देश्य पुरा गर्न चाहनेहरुले हल्ला गर्ने र विथोल्ने खोजे पनि निर्वाचनको वातावरण विथोलिने अवस्था नरहेको भण्डारीको प्रष्टोक्ति छ । 

एमालेका पदाधिकारीहरु नै पराजित हुने विश्लेषण 

नेकपा एमाले भित्रै पार्टी नेतृत्वदेखि पदाधिारीहरु नै निर्वाचनमा पराजित हुने विश्लेषण भइरहेको छ । त्यसैले विभिन्न बाहनामा निर्वाचनको वातावरण विथोल्ने योजनामा एमाले छ । एमालेलाई कांग्रेसकै देउवा समूहले पनि साथ दिएको छ । उनीहरुले प्रसाईँ समूह तथा र राजावादी समूहलाई उचालेर निर्वाचनको वातावरण विगार्ने रणनीतिमा छन् । यस्तो अवस्थामा राजनीतिक दलहरु संयमित र जिम्मेवार बन्न नसके चुनावी वातावरण थप असहज बन्ने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update