काठमाडौं । डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग तीव्र रूपमा बढेसँगै नेपालमा विद्युतीय माध्यमबाट हुने ठगीका घटनाहरू पनि चिन्ताजनक रूपमा बढ्दै गएका छन् । नक्कली एसएमएस, इमेल, सामाजिक सञ्जाल र फोन कलमार्फत बैंक वा सेवा प्रदायकको नाम प्रयोग गरी ओटीपी, पासवर्ड र व्यक्तिगत विवरण ठगी गर्ने क्रम बढेको देखिन्छ ।
डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन भुक्तानीको प्रयोग बढ्दै जाँदा विद्युतीय माध्यमबाट हुने ठगीका घट्नाहरु पनि बढ्दै गएका छन् । विभिन्न मानिसहरुको व्यक्तिगत विवरण वा बैंक खाता सम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानी भएका थुप्रै घटनाहरु नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता भएका छन् ।
प्रहरीका अनुसार वित्तीय ठगी गर्नेहरुले खातावालालाई सम्पर्क गर्ने र विभिन्न प्रलोभनमा पारेर खातासम्म पहुँच पु¥याई रकम चोर्ने काम गरेको देखिन्छ ।
बैंक वा वालेट कम्पनीबाट आएको जस्तै देखिने नक्कली एसएमएस, इमेल वा सामाजिक सञ्जालमार्फत‘खाता बन्द हुँदैछ’ वा ‘केवाईसी अपडेट गर्नुपर्छ’ जस्ता सन्देश पठाउँछन् ।
प्रयोगकर्ताले सो लिंक खोलेर आफ्नो विवरण राख्नासाथ ठगले खाताबाट तत्काल रकम निकाल्छन् ।आफूलाई बैंक कर्मचारी वा सेवा प्रदायक बताउँदै ठगहरुले फोनमार्फत ओटीपी माग्छन र ओटीपी दिएमा तत्काल खाताबाट रकम गायब गर्छन।
विद्युतीय कारोबारहरुमा देखिने ठगीहरु निम्न छन् ।
– सामाजिक सञ्जाल र नक्कली वेबसाइटमार्फत व्यक्तिगत तथा वित्तीय सूचना माग गर्ने,
– चिठ्ठा परेको, विदेशबाट सामान÷पार्सल आएको मेसेज वा इमेल पठाएर रकम माग गर्ने,
– मोबाइल वा इन्टरनेट बैंकिङ वा मोबाइल वालेटको युजर नेम, पासवर्ड, खातानम्बर माग गर्ने,
– डेविट, क्रेडिट कार्डको गोप्य सूचना जस्तै, पीन, कार्ड नम्बर आदि चोरी गर्ने,
– नक्कली मोबाइल एप, क्यूआर कोडमार्फत रकम चोरी गर्ने,
– बैंकको कर्मचारी हुँ भनी टेलिफोनमार्फत ओटीपी माग गरी ठगी गर्ने,
– बैंक तथा वित्तीय संस्थाको हुबहु जस्तै देखिने वेबसाइट बनाई युजर आइडी र पासवर्ड चोरी गर्ने ।
– सामाजिक सञ्जालमार्फत सस्तो मूल्यमा सामान बेच्ने विज्ञापन गरी अग्रिम भुक्तानी गराउने र पछि सम्पर्क विहीन हुने।
किन बढ्दैछ डिजिटल ठगी?
नेपालमा डिजिटल ठगी बढ्नुका मुख्य कारणहरू डिजिटल साक्षरताको कमी, ओटीपी र पासवर्ड साझा गर्ने र सामाजिक सञ्जालको दुरुपयोगनै हो। खासगरी आफूलाई सबै कुरामा स्मार्ट देखाउने व्यक्ति र नयाँ डिजिटल प्रयोगकर्ताहरु ठगीको सिकार बन्दै आएको देखिन्छ ।
