
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बारे अनेक आलोचना र टिप्पणी चलिनै रहेका छन् ।
व्यवस्थापकीयदेखि खेलाडीको मनोवैज्ञानिक अवस्थासम्ममा ध्यान दिँदै फुटबलका गतिविधि चुस्त बनाउन सक्रिय रहनु पर्ने एन्फा कहिले लफडाबाजी त कहिले गुमनाम हुनमै व्यस्त छ ।
अहिले पनि कुनै गतिलो काम भइहाल्ला भनि ढुक्क हुने अवस्था त देखिदैैन, तरपनि अब गति सुधार गर्ने र केही खेलहरुको आयोजना गर्ने तयारीमा देखिन्छ, एन्फा । प्रवक्ता सुरेश शाहको भनाई जे जस्तो भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा), यो लफडाबाजीको अखडाका रुपमा परिचय बनाउनतर्फ उद्दत छ । तरपनि एन्फा हो त, नेपाली फुटबलको सर्वोच्च निकाय । यसले प्रशासनिकदेखि खेलाडी उत्पादन एवम् व्यवस्थापन सबै पक्षमा एक्सन ओरेन्टेड काम गर्नु पर्ने हो । फिफा, एफसी र नेपाल सरकारसँग उच्चत्तम समन्वय गर्नु पर्ने हो । तर, होइन, यहाँ कहिले एकले सिघौंरी खेल्छ, त कहिले अर्कोले ।
एन्फाको विग्रदो गतिले खेलाडी पलायन
नेपालमा घरेलु फुटबलको अत्यासलाग्दो अवस्था देखेर राष्ट्रिय टोलीका खेलाडी विदेशी लिगमा अनुबन्ध हुनेक्रम बढेको छ । नेपाली खेलाडी प्रमुख गन्तब्य बंगलादेश बन्न पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ सहित आठ जना खेलाडी बंगलादेशको शीर्ष डिभिजनका क्लवमा अनुबन्ध भएका छन् ।
कप्तान किरण बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका हुन् । यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोट्र्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् । अर्का विंगर तथा स्टार खेलाडी आयुस घलान पनि बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका छन् ।
उनको यो पहिलो विदेशी क्लव हो । बंगलादेशी क्लव ब्रदर्श युनाइटेडमा फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर एरिक विष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ तथा योगेश गुरूङलाई अनुबन्ध भएका छन् ।
डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज पुग्दा राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्त तामाङलाई फर्सिट एफसी पुगेको हुन् । युवा मिडफिल्डर लाकेन लिम्बूे क्याम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन् । अर्का अनुभवी खेलाडी रोहित चन्द इन्डोनेसियनकै अर्काे क्लब पर्सिक कदिरीसँग अनुबन्ध भएका छन् ।
पर्सिजा जाकर्तासँगको सम्झौता समाप्त भएलगत्तै रोहित कदिरी पुगेका हुन् । यसरी खेलाडी विदेशी लिगमा अनुबन्ध हुनुको प्रमुख कारण हो, घरेलु लिग सञ्चालन नहुनु । पछिल्लो पटक २०८० जेठ २७ मा ए डिभिजन लिग सम्पन्न भएको थियो । त्यसयता लिग सुरु भएको छैन् । यसले राष्ट्रिय टोलीलाई नै फाइदा हुने पुर्व कप्तान विक्रम लामाको बुझाई छ । यद्दपी, राष्ट्रिय प्रतियोगिता नहुँदा मुलुकको आन्तरिक खेल अवस्था चिन्ताजनक हुने देखिन्छ ।
नेम्वाङको नेतृत्व : खेलाडी हात बाध्ने बस्ने !
पंखजविक्रम नेम्वाङले एन्फाको नेतृत्व सम्हालेको तीन बर्ष पुरा भइसकेको छ । यसविचमा न घरेलु फुटबलको बलियो आधार तय भयो न लिग सञ्चालन, न कुनै प्रोत्साहनमुलक कार्र्यक्रम नै । जसका कारण फुटबल क्षेत्रमा पूर्ण रुपमा सन्नाटा छायो । खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोली दुई बर्ष देखि खालि हात बस्न बाध्य भए ।
चुनाव ताका एन्फाको स्वरुप बदल्ने दाबी अध्यक्ष नेम्वाङको थियो । तर यस विचमा एन्फा पुर्णरुपमा मूकदर्शक बन्यो । घरेलु फुटबल गतिविधि ठप्प प्राय बने । अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता दर्शाउने काम भयो ।
बरु खेलाडी पलायनले राष्ट्रिय टोली गन्तब्य विहिन बन्यो । चौतर्फी आलोचनाको केन्द्रमा रहेको एन्फाले बल्लतल्ल फुटबल गतिविधिको सुरसार देखाएकोे छ । ए डिभिजन लिग, महिला लिग देखि ग्रासरुट फुटबलको तयारीमा लागेको एन्फा प्रवक्ता सुरेश शाह बताउँछन् ।
अब हुने खेलहरुको सम्भावित परिदृष्य कस्तो ?
- पुस पहिलो सातादेखि सर्वाधिक प्रतिक्षामा रहेको पुरुष ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी
- डबल राउन्ड रोविनका आधारमा हुने लिग करिब ६ महिनाको अवधिमा १ सय ८२ खेल हुने
- घरेलु फुटबलको माहोल बनाउन मोफसलमा समेत खेल खेलाउने तयारी
- मोफसलका समेत खेलले नेपाली फुटबलको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास आगामी प्रतियोगिताहरुको तयारी तीव्र भएको दाबी एन्फा अधिकारीहरुले गरेपनि एन्फाको गतिविधि निहाल्दा अहिलै नै विश्वस्त हुने अवस्था देख्दैनन् खेलकुद क्षेत्रका जानकारहरु । किनभने एन्फाले यसअघि यस्ता आश्वासन धेरै पटक दिइसक्यो तर, खेल भएनन् ।
चौतर्फी घेराबन्दीमा परेको एन्फाले पछिल्लो महिना यता आफ्ना गतिविधिमा केही सक्रिय देखाएको भने छ । साउन १५ मा दशरथ रंगशालामा फिफा फर स्कुल अभियान शुभारम्भदेखि देशभरमा ४९ जिल्लामा ग्रासरुट फुटबलका कार्यक्रम अघि बढाइएको छ ।
धन्न, सीमित स्रोत र साधनका बीच मै पनि नेपाली महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय क्षेत्रमा पकड जमाउँदै गएको छ । विश्व फिफा वरियतामा नेपालले छलाङमा नै मारेको छ । एक सयौँ स्थानमा रहेको नेपाली महिला टोली १३ स्थान सुधार सहित ८७ औँ स्थानमा पुग्यो । महिला टोलीको ऐतिहासिक वरीयता सुधार नेपाली फुटबलकै लागि राहतको विषय बनेको छ ।
यस्तो अवस्थामा नेपाली फुटबलले काचुली फेर्न आवश्यक देखिन्छ । त्यसका लागि एन्फामा चरम खिचातानी होइन, खेलकुदको प्रतिस्पर्धा उच्च बनाउनतर्फ ध्यान दिने कि ?