काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको महामन्त्री पदका लागि युवा नेता जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दिने तयारी गरेका छन्। लामो समयदेखि कांग्रेसको संगठन, विचार र जनताको पक्षमा सक्रिय रहँदै आएका केसीको उम्मेदवारीलाई कांग्रेसभित्र नयाँ ऊर्जा र संघर्षशील नेतृत्वको खोजीका रूपमा हेरिएको छ।
नुवाकोट क्षेत्र नं। २ बाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका केसी जनतासँग प्रत्यक्ष रूपमा जोडिएका लोकप्रिय नेताका रूपमा परिचित छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका उनले आफ्नो जीवनको अधिकांश समय नेपाली कांग्रेसको संगठन निर्माण, कार्यकर्ता संरक्षण र जनताको आवाज उठाउन समर्पित गरेका छन्।
राजनीतिलाई केवल पद र प्रतिष्ठाको माध्यम होइन, जनताको सुख–दुःखमा साथ दिने जिम्मेवारीका रूपमा लिएका केसीको राजनीतिक यात्रा संघर्षले भरिएको छ। २०६२र६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा गोंगबु तथा सामाखुसी क्षेत्रमा भएको दमन र आन्दोलनमा उनले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। लोकतन्त्रका लागि सडकमा उत्रिएको त्यो संघर्ष होस् वा आम नागरिकका दैनिक समस्या—केसी सधैं जनताको बीचमा रहेर आवाज उठाउँदै आएका छन्।
“राजनीति पदका लागि होइन, जनताको विश्वासका लागि हो” भन्ने मान्यतासहित अघि बढेका केसीको पहिचान कार्यकर्ताको सुख–दुःखमा साथ दिने नेताका रूपमा स्थापित छ। पार्टीभित्र होस् वा बाहिर, आफ्ना धारणा र राजनीतिक दृष्टिकोण स्पष्ट रूपमा राख्ने उनको शैलीले उनलाई देशभरका कार्यकर्ता तथा आम नागरिकमाझ परिचित बनाएको छ।
मिडिया तथा सार्वजनिक मञ्चमा पनि आफ्ना विचार निर्भीक र स्पष्ट रूपमा प्रस्तुत गर्ने केसीलाई क्षमता, अनुभव र संघर्षबाट खारिएको नेताका रूपमा हेरिन्छ। युवा पुस्तासँग सहज रूपमा जोडिन सक्ने क्षमता, संगठनप्रतिको निरन्तर प्रतिबद्धता र जनतासँगको प्रत्यक्ष सम्बन्ध उनको राजनीतिक यात्राका महत्वपूर्ण विशेषता हुन्।
कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा केसीको उम्मेदवारी केवल एउटा पदका लागि हुने प्रतिस्पर्धा मात्र नभई दशकौँदेखि संगठन र लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको सम्मान र नयाँ पुस्ताको नेतृत्वप्रतिको अपेक्षाको अभिव्यक्तिसमेत बन्न सक्ने देखिन्छ।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा आज पार्टीको केन्द्रीय नेतृत्वको महत्वपूर्ण जिम्मेवारीतर्फ अघि बढ्दै गर्दा केसीका अगाडि एउटा ठूलो अवसर र चुनौती दुवै छन्। कार्यकर्ताको भावना बुझ्ने, जनताको घरदैलोमा पुग्ने र पार्टीलाई समयअनुकूल गतिशील बनाउने नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
संघर्षमा सडक, संगठनमा समर्पण र जनताको दुःख–सुखमा निरन्तर साथ—यही यात्राको जगमा उभिएका जगदीश्वरनरसिंह केसी अब कांग्रेस महामन्त्रीको जिम्मेवारीका लागि मैदानमा उत्रिने तयारीमा छन्।
उनको राजनीतिक जीवनमा जोडिएको लामो संघर्ष, संगठनप्रतिको निरन्तर समर्पण र जनतासँगको आत्मीय सम्बन्धलाई हेर्दा महामन्त्रीको जिम्मेवारीमा पुग्नु उनका लागि मात्र होइन, उनले दशकौँदेखि बोकेको राजनीतिक यात्राको योगदानको सम्मानसमेत हुने देखिन्छ।


