News 24 Television
ओलीविरुद्ध बोले कारबाही, अपानिमा विद्यादेवीको कामदेखि चुनावी हारको जिम्मासम्म !

काठमाडौं । नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै अबदेखि अध्यक्ष केपी ओलीको सार्वजनिक विरोध, आलोचना वा आरोप लगाउने कामलाई पूर्णतः बन्देज लगाएको छ । पार्टीको नीति, नेतृत्व र निर्णयविरुद्धका अन्यथा गतिविधिको अन्त्यसंगै ओलीले चुनावी हार समेत स्वीकार गरेका छन् । 

नेकपा एमालेले अन्तरपार्टी निर्देशन ३ जारी गरेको छ। असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय समितिको बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा एमालेले चुनाव हार्नुको कारण, युवा पुस्ताले एमालेलाई विश्वास नगर्नुदेखि भूराजनीतिक कारणबारे चर्चा गरिएको छ।

एमाले जनतासंग बलियो सम्बन्ध भएको पार्टी भन्दै जनताको बहुदलीय जनवाद र यसको जगमा नेपालको समृद्धि हासिल गर्ने दाबी गरेको एमालेले अध्यक्ष केपी ओली वा अन्य नेतृत्व, नीति र निर्णयविरुद्धका सबैखाले सार्वजनिक गतिविधिलाई बन्देज लगाउने प्रष्ट व्यवस्था गरेको छ । 

अपानीमा अनुशासन पुनस्र्थापनाका लागि कटअफ बैठक भन्ने बुँदामा भनिएको छ, ’बैठकले अध्यक्ष कमरेडको प्रस्ताव बमोजिम पार्टीमा हुर्किदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकतावद्ध र सुदृढ पार्टी निर्माण गर्न निम्नानुसारको निर्णय गरेको छः पार्टीको नीति, निर्णय र नेतृत्वको विरूद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृतिमा पूर्णरूपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनस्र्थापित गर्ने । आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । 

केन्द्रीय कमिटीको चालू बैठकलाई कटअफ बैठक मान्ने ।अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरूद्धमा सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने । 

त्यस्तो क्रियाकलाप गरेको पाइएमा कारवाहीको विषय बनाउने र कारवाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने । पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोग सक्रिय रहने । केन्द्रीय अनुशासन आयोगलाई यसअनुरूप अघि बढ्न कुनै व्यवधान वा अप्ठ्यारो भएमा केन्द्रीय कमिटीले बाधा अड्काउ फुकाएर भए पनि सहयोग गर्ने ।’

यसरी एमालेले अपानीअघि सार्वजनिक गरेका सार्वजनिक आलोचना, विरोध र नेतृत्व परिवर्तनका कुरालाई भने सगोलमै माफी दिने भनेको छ । 

चुनावबारे के भने ओलीले ?

गएको चुनावमा एमालेले भोगेको पराजयमा एमाले अध्यक्ष केपी ओलीले नैतिक जिम्मेवारी लिदै अप्ठ्यारोमा छाडेर जानेभन्दा नेतृत्व गर्नुपर्ने भनेको उल्लेख छ। अपानीमा भनिएको छ, ’पार्टी अध्यक्षको हैसियतले म निर्वाचन परिणामप्रतिको नैतिक जिम्मेवारी स्विकार गर्छु । 

सत्य हो– हामीले बैरीको चौतर्फी हमलाको आवश्यक प्रतिकार गर्न र त्यसलाई पराजित गर्न सकेनौ ।’ जनतालाई एमालेले आफ्ना कुरा भन्न नसकेको, विश्वास दिलाउन नसकेको र सकारात्मक परिवर्तनको आभास दिलाउन नसकेको भन्दै भनिएको छ, ’जिम्मेवारी स्विकार गर्नु र मैदान छोडेर भाग्नु एउटै कुरा होइन । विरामी देखेर डाक्टरले अस्पताल छोड्दैन । बालीमा रोग लागेको देखेर किसानले खेत छोड्दैन । 

त्यसरी नै संकटको बेला नेतृत्वले संगठनलाई अनिश्चिततामा छोड्नु हुँदैन । कुशल नेतृत्वको कर्तव्य कमजोरी खोज्नु, सच्याउनु, सत्यको सामना गर्नु, कार्यकर्ताको मनोबल उठाउनु, जनताको घरमा फर्केर जनसम्बन्धमा सुधार ल्याउँदै पार्टी र आन्दोलनको भविष्यलाई सुरक्षित बनाउनु हो ।’ यसरी ओलीले अब पार्टीको नेतृत्व कसिलो पार्ने र जनतातर्फ फर्काउने भनेका छन्।

पूर्वराष्ट्रपतिको जिम्मेवारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षपछिको वरियतामा राख्ने गरि वरिष्ठ नेता मनोनित गरिएको छ। विद्यालाई वरिष्ठ नेतामा मनोनित गर्न एमालेले विधानको धारा १३ लाई संशोधन गर्ने भएको छ। धारा १३ मा एमालेको पदाधिकारीबारे व्यववस्था छ । 

जसमा वरिष्ठ नेताको पद राखिएको थिएन् । यसरी अब त्यो धारा संशोधन गर्दै विद्यालाई वरिष्ठ नेता बनाइने छ। जुसमा उनको काम कर्तव्य र अधिकार समेत तोकिएको छ। जसअनुसार वरिष्ठ नेताको जिम्मेवारी यस्तो हुनेछ ।

१. अध्यक्ष पछिको दोस्रो बरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने । अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवम् समयोचित निर्णय गर्न योगदान गर्ने ।

२. बरिष्ठ नेताको हैयितले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने ।

३. केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने । यस् निर्णयलाई पार्टीको आगामी विधान महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गर्ने । 

उसोतः एमालेले योसंगै स्थानीय समस्यासंग सम्बन्धि काममा सक्रिय हुने, अनुशासनको पालना गर्ने गराउनेदेखि जनतासंग एकाकार हुने प्रण समेत अपानीमार्फत गरेको छ। तर, एमालेले यसलाई कसरी कार्यान्वयनमा लैजान्छ भन्ने चासो भने बढ्दो छ ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update