News 24 Television
सरकार ऋणपत्र जारी गर्ने तयारीमा, लक्ष्य १० अर्बको 

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन अनेक प्रयास गरिरहेको  छ । अहिले फेरि विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारको छ । 
सरकारले आन्तरिक ऋण उठाउने प्रयास थालेको छ । यसका लागि विकास ऋणपत्र जारी गर्ने तयारी छ । ऋणपत्रमार्फत नै १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी सरकारले गरेको हो । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । 

हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । अहिले ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ बोलकबोलमार्फत  जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ । यो ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले बुधबार विहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । 

ऋणपत्र खरिद गर्न चाहनेले  अनलाइन प्रणालीको मध्यमबाट बोलकबोल पेश गर्नु पर्नेछ । ऋणपत्रको सावाँ भुक्तानी २०८५ भाद्र १२ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । त्यस्तो व्याजमा आयकर लाग्नेछ ।  बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । 

उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । 

ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिष्पर्धी बोलवालाहरुलाई विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिष्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिष्पर्धी वा अप्रतिष्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिष्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update