News 24 Television
विध्वंसमा परेको मेची बल्ल खुल्यो, अब व्यापार गर्न ढुक्क

झापा । तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार कार्यालय काँकरभिट्टाले सेवा सुचारु गरेको छ । जेन–जीको आन्दोलनबाट क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको यस कार्यालयले सोमबारदेखि पुनः सेवा शुरू गरेको हो ।

भदौ २३ गते सोमबार काठमाडौंबाट सुरू भएको जेनजी आन्दोलन देशैभर फैलिदै मेची भन्सार कार्यालय काँकरभिट्टासम्मै पुग्यो । यसै आन्दोलनका नाममा तोडफोड र आगजनीले तहसनहस भएको मेची भन्सार सोमबारबाट पुनः सञ्चालनमा ल्याइएको छ । आन्दोलनकारीले भन्सार कार्यालय पूर्ण रूपमा कब्जामा लिइ तोडफोडसंगै आगजनी गरेका थिए ।

जसको कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा प्रभावित भएको थियो । भारतसहित तेस्रो मुलुकसंगको आयात निर्यात गर्ने मुख्य नाका मध्येको एक मेची भन्सार कार्यालयको सेवा बन्द हुँदा राज्यको करोडौं राजस्व गुमायो । त्यस्तै नेपालीहरूको ठुलो चाड दशैं नजिकिँदै जाँदा आयत निर्यात ठप्प हुँदा भन्सार एजेण्टहरू पनि समस्या परेको बताउँछन् । 

प्रदर्शनकारीले आगजनी मात्रै होइन कि, लुटपाटसमेत मच्चाएका थिए । घटनाका दिन भन्सारका कर्मचारीहरूलाई आफ्नो ज्यान जोगाउनै हम्मेहम्मे परेको थियो । यो घटना पश्चात् सोही दिनदेखि भन्सारको सेवा ठप्प बनेको थियो । तर, समस्याका बाबजुद स्रोत साधानको अभावका बिच पनि सोमबारबाट पुनः सेवा सुचारु गरिएको हो । आन्दोलनबाट कति क्षति भयो भन्ने बिषयमा भने अहिले सम्बन्धित निकायले मुल्चुका उठाउने कार्य गरिरहेको छ ।

मेची भन्सार कार्यालयले राज्यको राजस्व संकलमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यस नाका हुँदै नेपालबाट भारत भुटान र बंगलादेशलगायत देशहरूमा अदुवा, अम्लिसो, चिया, अलैंची, कुचो, प्लाइउड र भेनियरलगायतका सामाग्री निर्यात हुने गरेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थ, सब्जी, फलफूल, कफि, लत्ताकपडा, मेसिनरी सामाग्रीलगायत भारतसहित तेस्रो मुलुकबाट आयात हुने गर्दछ । यता आन्दोलनको क्रममा बन्द रहेको भद्रपुर भन्सारले भने शुक्रबारदेखि नै सेवा सुचारु गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update