काठमाडौँ । नेपालमा जेन–जी आन्दोलनपछि प्रमुख दलका शीर्ष नेताहरूलाई पार्टी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न ठूलो दबाब बढेको छ । विशेषगरी अहिलेको राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनको मुख्य कारण पुरानो पुस्तालाई मानिएको छ । अघिल्लो संसदमा प्रतिनिधित्वका आधारमा सबैभन्दा ठूलो दल काँग्रेसले सत्ताकै नेतृत्व गर्न पाएन । एमाले र माओवादीले नेतृत्व पाए पनि जनताको हितमा काम गर्न सकेनन् । भ्रष्टाचारको ढाकछोप, नातावाद कृपावाद, आफ्ना जोगाउने र प्रतिशोधको राजनीतिले निम्त्याएको जनआक्रोश जेन–जी विद्रोहका नाममा विष्फोट भयो । त्यसले ल्याएको उथलपुथलसँगै एकप्रकारको राजनीतिक सन्नाटा छाएको छ । असफल सावित भएका काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड तथा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत शीर्ष नेताहरुलाई अहिले पार्टी नेतृत्व हस्तान्तरण गर्न दबाब बढेको छ ।
वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् । ठूला दल काँग्रेस, एमाले, माओवादी केन्द्रको नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको उनको भनाइ छ । नेता र नेतृत्वको विरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरु असफल भएको प्रमाण रहेको उनले जिकिर गरे । आचार्यले काँग्रेस, एमाले र माओवादीको नेतृत्व गर्नेहरुले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्ने उनको तर्क छ । तर नेताहरुबाट त्यो हुन सकेको छैन । आन्दोलनमा टेकेर भएको अपराध, तोडफोड, हत्याले शीर्ष नेताहरु राजकाज चलाउन असफल भएको स्पष्ट हुने बताए । जेन–जी आन्दोलन शिर्ष नेताहरुको नेतृत्वको असफलतामै टेकेर भएको बताउँदै उनले पार्टी दुब्लाएर हात्तीबाट मुसा भइसक्दा समेत माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व नमानेको उदाहरण पेश गरे ।
अहिले एकथरीले वर्तमान विद्रोह देशी असन्तोष, विदेशी उक्साहटमा भएको भन्ने विश्लेषण समेत भइरहेका छन् । भदौ २३ को शान्तिपूर्ण प्रदर्शनमा सार्पसुटर घुसेर ताकी ताकी गोली हानेको हुनसक्ने आशंका बलियो बन्दै गएको छ भने सुरक्षा निकायको कमजोरी वा लापरवाही पनि जिम्मेवार छ । २४ गतेको विध्वंशले राज्यलाई असफल बनाउने तत्वहरुको घुसपैठको आशंका बलियो बनेको छ । यस्तो परिस्थितिमा संविधान, लोकतन्त्र र गणतन्त्रका लागि लडिआएका शीर्ष नेताहरुको बर्हिगमन मागले देश झन अस्थिर र कमजोर हुने एकथरीको तर्क छ । अर्काथरी भन्छन् उनीहरु पार्टीको संरक्षक बसेर सक्षम युवालाई नेतृत्व दिन सकिने बताउँछन् ।
शीर्ष नेताहरूले जिम्मेवारी हस्तान्तरण गर्दा प्रमुख पार्टीमा के कस्ता सकारात्मक वा नकारात्मक प्रभाव पर्न सक्छन् भन्ने विषयमा फरक–फरक दृष्टिकोण देखिएका छन् ।
सकारात्मक प्रभाव
युवा नेताहरूमा नयाँ सोच, ऊर्जा र काम गर्ने शैली हुने भएकाले उनीहरुमा नेतृत्वमा पुगे भने पार्टी र देशले नयाँ गति प्राप्त गर्न सक्छ । उनीहरूले वर्तमान समयको माग र प्रविधिलाई राम्रोसँग बुझेका हुन्छन् । लामो समयदेखि एउटै नेतृत्व कायम हुँदा पार्टीप्रति जनताको वितृष्णा बढेको छ । नयाँ पुस्ताको नेतृत्वले युवा मतदातासहित आम जनताको विश्वास पुनः प्राप्त गर्न सहयोग पुग्छ र पार्टीहरु बलियो बन्न सक्छन् । साथै नयाँ पुस्तामाथि पुरानो पुस्ताजस्तो भ्रष्टाचारको आरोप कम लागेको छ, उनीहरूले पारदर्शी र जवाफदेही शासन सञ्चालन गर्न सक्नेमा आम जनताको अपेक्षा देखिन्छ ।
नकारात्मक प्रभाव
तर, अनुभवले खारिएका, सुझबुझ र कुटिलता भएका पाका नेताहरुले चटक्कै छाड्दा पार्टी र देशको विषम परिस्थिति थप कमजोर हुन सक्ने सम्भावना पनि उत्तिकै छ । युवा नेताहरूसँग लामो राजनीतिक अनुभवको कमी हुन सक्छ । यसले गर्दा उनीहरूले ठूला राजनीतिक संकट वा जटिल अवस्थामा सही निर्णय लिन नसक्ने जोखिम रहन्छ । युवा नेताहरु एकजुट हुन नसकेमा शीर्ष नेताहरूले सजिलै पद छोड्न नमान्ने भएकाले पार्टीभित्र आन्तरिक कलह समेत बढ्न सक्छ । यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने सम्भावना पनि हुन्छ । नेतृत्व हस्तान्तरणपछि पनि पुराना नेताहरूले पार्टीको निर्णय प्रक्रियामा हस्तक्षेप कायमै राख्ने सम्भावना हुन्छ, जसले नयाँ नेतृत्वलाई स्वतन्त्र रूपमा काम गर्न समस्या हुन सक्छ ।
अहिलेको अवस्थामा, पुराना नेताहरूले सहजै नेतृत्व हस्तान्तरण गर्लान् भन्नेमा धेरैलाई शंका छ । यद्यपि, देशमा बढ्दो राजनीतिक दबाब र आन्दोलनले उनीहरूलाई यो विषयमा गम्भीर हुन बाध्य पार्न सक्छ ।
