
ओखलढुङ्गा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटार सुर्ती खेतीका लागि प्रख्यात छ । यो क्षेत्रमा पुस्तौंदेखि सुर्ती खेती गरिँदै आएको छ । स्थानीयको जिवनयानपनसँगै गाँसिएको यो खेती एकातिर किसानका लागि नगद आम्दानीको भरपर्दो स्रोत बनेको त छ, तर अर्कोतिर स्वास्थ्य र भविष्यका लागि चिन्ता पनि थपिएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६, सोक्माटार, यो क्षेत्र सुर्ती खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँको सुर्ती खेती केवल खेतीसँग मात्रै नभई परम्परागत जीवनसँग पनि गाँसिएको छ । स्थानीय किसानका लागि यहाँ सुर्ती खेती केवल पेशा मात्र होइन, परिवारको आम्दानीको मुख्य आधार पनि हो ।
परम्परागत अन्नबाली धान, मकै वा कोदो खेतीले अपेक्षित आर्थिक लाभ दिने समय र प्रक्रियाको तुलनामा, सुर्ती खेतीले छिट्टै नगद आम्दानी उपलब्ध गराउँदा किसानहरूले सुर्ती खेतीलाई नै निरन्तरता दिईरहेको देखिन्छ । सोक्माटार क्षेत्रमा करिब ९० घरपरिवारले पुस्तौँदेखि सुर्ती खेती गर्दै आएका छन ।
सोक्माटारमा उत्पादित सुर्ती स्थानीय बजारमा मात्र सीमित छैन । यहाँको सुर्तीको गुणस्तर र परम्परागत उत्पादन विधिका कारण अन्य क्षेत्रका तुलनामा यसलाई उच्च स्तरको मानिन्छ । किसानले उत्पादन गरेका सुर्ती घर—घरबाटै प्रति साँढे २ किलो १२ देखि १६ सय रुपैँयासम्ममा ठेकेदारले उठाउने गरेका छन । एक त पुस्तौँदेखीको खेती र अर्को मुल्य र बजार दुबै पाईने भएकाले पनि किसानहरु यसमै निर्भर भएको पाईन्छ ।
सुर्ती उत्पादन र प्रयोग दुवैलाई स्वास्थ्यका लागि हानिकारक मानिँदै आएको छ । दीर्घकालीन प्रयोगले श्वासप्रश्वास, मुटु, र बच्चा तथा किशोरहरूको शारीरिक विकासमा नकारात्मक प्रभाव पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी पनि छ । तरपनि, आर्थिक दृष्टिले अन्य सहज विकल्प नहुँदा सोक्माटारका किसानहरू यो पेशामा पूर्ण रूपमा निर्भर रहेका छन ।
यसैबीच, स्थानीय सरकारले स्वास्थ्य जोखिम र दीर्घकालीन प्रभावलाई ध्यानमा राख्दै कृषकहरूसँग छलफल सुरु गरेको छ । परम्परा र स्वास्थ्यबीच सन्तुलन राख्दै, दीर्घकालीन रूपमै किसानको आम्दानी र जीवनस्तर सुधार्न सुर्ती खेतीको विकल्प खोज्ने, विविध अन्नबाली र व्यावसायिक खेतीका सम्भावना अध्ययन गर्ने काम बिस्तारै अघि बढ्दैछ ।
सोक्माटारको सुर्ती खेतीले स्थानीय किसानको जीवनयापनमा दीर्घकालीन भूमिका खेलिरहेको छ । परिवारको आम्दानी, परम्परा र सामाजिक संरचनासँग गाँसिएको यो पेशा सहज विकल्प नहुँदा अझै कायम छ । त्यसकारण स्वास्थ्य र वातावरणीय जोखिमलाई दृष्टिगत गर्दै स्थानीय सरकार र सम्बन्धित निकायले सन्तुलित दृष्टिकोण अपनाउँदै किसानहरूलाई दीर्घकालीन रूपमा सुरक्षित आम्दानीको मार्ग प्रदान गर्न आवश्यक देखिन्छ ।
साथै अर्को पक्ष, नेपालको सुर्तीलाई अन्तराष्ट्रिय मापदण्डसँग मिलान गरि व्यापारिक दृष्टिकोणले उत्पादनलाई कानूनी दायरा र व्यवस्थापन भित्र राखि वैदेशिक व्यापारबाट ठुलो आय स्रोतका रुपमा विकास गर्न सकिने सम्भावना पनि रहेका छन् ।