News 24 Television
सर्लाहीका किसानलाई तरुल खन्ने चटारो

सर्लाही । सर्लाहीमा बरहथवा नगरपालिका र बागमती नगरपालीकाको नदी तटीय क्षेत्रमा व्यावसायिक रुपमा तरुल खेती हुने गरेको छ । यस क्षेत्रका किसानलाई यतिखेर तरुल खन्ने चटारो छ । 

यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालीमाटी तरकारी बजार हुँदै देशका अन्य ठुला सहरसम्म पुग्ने गरेको छ । पछिल्लो समय सर्लाही जिल्ला व्यवसायिक तरुल खेतीको रुपमा परिचित हुदै गएको छ । विशेष गरी सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने बागमती, बरहथवा नगरपालिकामा तरुलको व्यवसायिक खेती हुन्छ । तरुल जमीन मुनी फल्ने फल हो । घर तरुल, बन तरुल, हात्तिपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल जस्ता धेरै प्रकारका तरुलहरु हुन्छन् । 

यससँगै पिँडालु, सख्खरखण्ड आदि पनि खाइन्छ । यस सिजनमा जे जति कन्दमुल उत्पादन हुन्छन्, ती माघे संक्रान्तिको विशेष परिकार बन्छ । बागमती फाँटमा धमाधम तरुल खन्ने काम भइरहेको छ । जसले सयौँ मजदुरको आम्दानीको स्रोत बनेको छ । 

सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि निकै उपयुक्त मानिन्छ । यहाँ उत्पादन भएका तरुल काठमाडौँस्थित कालीमाटी तरकारी बजार हुँदै देशका अन्य ठुला सहरसम्म पुग्ने गरेको छ । ब्यापारीले किसानबाट हरियो बोट हुँदै खरिद गरेको तरुल मजदुर लगाएर धमाधम खन्ने काम गरिरहेका छन् । 

जमिनभित्र रहेको तरुल के कति फलेको छ भन्ने थाहा नहुने भएकाले व्यापारीले बोट हेरेर मूल्य लगाउदा सधैं मुनाफा हुन्छ भन्ने छैन । अघिल्लो बर्षभन्दा यो वर्ष तरुलले राम्रो मूल्य नपाएको व्यापारीको भनाइ छ ।

फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ । सर्लाहीमा तीन सय आठ हेक्टर क्षेत्रफलमा झन्डै ५ हजार ८२ मेट्रिक टन तरुल उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मलंगवाकी सूचना अधिकारी सिमा कार्की बताउँछिन् ।  

सर्लाहीको दक्षिणी भेगका विभिन्न गाउँबाट युवादेखि वृद्ध उमेरका मानिस तरुल खन्न बागमती क्षेत्रमा आइपुगेका छन् । सर्लाहीको बागमती, राजघाट, सोल्टी, हजरिया, बरहथवा लगायत क्षेत्रमा धेरै किसानले तरुल खेती गर्ने गरेका छन्  । 

तरुल एक पटक रोप्ने समयमा र एक पटक गोडमेलको लागि मात्र मजदुर लाग्ने भएकोले यस खेतीबाट राम्रो आम्दानी हुने गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update