News 24 Television
कास्कीमा रैथान बालीप्रति सचेत किसान, विउविजन बचाउने किसान दत्तचित्त

कास्की । कास्कीका किसानहरु रैथाने बिउ बिजन संरक्षणमा जुटेका छन् । पछिल्लो समय हाइब्रिड जातका बिउको प्रयोग बढ्दै जादाँ स्थानीय जातका बिउ संकटमा पर्ने दखेपछि किसानहरु संरक्षणमा जुटेका हुन् । किसानले स्थानीय जातका बिउलाई हराउन नदिन थोरै क्षेत्रफलमा भए पनि खेती गरेर संरक्षण गदैँ आएका छन् । 

हाइब्रिड जातका बिउको प्रयोग बढ्दै जादाँ स्थानीय जातका बिउको खेती न्युन हुन थाले पछि किसान संरक्षणको प्रयासमा जुटेका हुन् । व्यवसायी खेतीमा उन्नत जातको प्रयोग भए पनि स्थानीय जातका बिउको संरक्षणका लागि भए पनि कास्कीका किसानले खेती गदैँ आएका छन् । 

रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरण सहन सक्ने गुण हुन्छन् । उपभोक्तामा पनि चेतना बढ्दै गएको र स्थानीय जातको उत्पादन खोजी खोजी खरिद गर्न थालेपछि कृषक रैथानी बाली संरक्षणतर्फ लागेका हुन् । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउदै कास्कीका किसानले स्थानीय बालिको प्रदर्शन समेत गरेका छन् । 

लहरे तरकारी तथा आलु, पिँडालु, धान, गहुँ, तोरी, मास आदिको घरमै राखिएका बिउमा अहिलेसम्म नउम्रने समस्या नदेखिएको किसान बताउछन् । लौका, कुभिन्डो, फर्सी र काँक्राको बिउ सुरक्षितसाथ राखिएका छन् । त्यसैगरी स्थानीय आलु, पिडालु, तरुल लगायतका कन्दमुलको बिउ पनि सुरक्षित छन् । 

खाध्यबाली धान, कोदो, मकै, कागुनो गहुँको खोती हुदै आएको छ । यो साता विविध कार्यक्रम आयोजना गरी चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइयो । २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय भएको थियो ।  कास्कीको रुपा गाउँपालिकाले आयोजना गरेको कृषि जैविकता विविधता प्रदर्शनीमा स्थानीय जातका खाध्य, दलहन र तरकारीका एक सय भन्दा बढी जातका विउको प्रदर्शनी गरिएको थियो ।

जैविक विविधताको संरक्षणका लागि जातको अभिलेखिकरण र डकुमेन्टेसन गरेर पुस्तान्तरण गर्न रुपामा लिवर्डको सहयोगमा यसै बर्ष सामुदायीक बिउ बैंक स्थापना गर्न लागिएको छ । । रैथाने वालीलाई व्यवसायीकरण गर्नेगरी पालिकाले नीतिमा समेट्दै न्युनतम समर्थन मुल्य समेत तोकेको छ । 

रैथाने बालीहरू ठीकठिकैको हेरचाह तथा थोरै मलखाद पाउँदा पनि लहलहाउँदो हुनुका साथै कठोर वातावरणमा पनि पुरै मासिँदैनन् भने रोग र किराको प्रभाव पनि सहन सक्छन ्। किसानहरूका अनुसार आजकल उपभोक्ताहरू पनि विषादीरहित तरकारी खोज्दै किसानका घरसम्मै पुग्ने गरेका छन् । नेपालजस्तो अनिश्चित मौसमी प्रभावसँग जुधिरहनुपर्ने देशका लागि स्थानीय जातका बिउ बिजनको प्रयोग एकमात्र प्रभावकारी समाधान हो  । 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update