News 24 Television
किताब बेच्दाबेच्दै मन्त्री बनेका महावीर, कम छैनन् चुनौती

काठमाडौँ । विगत लामो समयदेखि नेपालमा वैज्ञानिक खोज अनुसन्धान तथा आविष्कारका क्षेत्रमा सक्रिय डा. महावीर पुन अहिले अप्रत्याशित रुपमा मन्त्री बन्न पुगेका छन् । राष्ट्रिय आविष्कार केन्द्र नामक संस्था खोलेर युवाहरुलाई अनुसन्धान तथा आविष्कारमा संलग्न गराएर रोजगारी समेत दिँदै आएका पुनले राज्य पक्षबाट कहिल्यै सहयोग पाएनन् । आविष्कार केन्द्रका लागि उनले सरकारसँग बजेट लगायत अन्य सहयोग माग गर्दा सरकारले कहिल्यै उनलाई पत्याएन । देशविदेशमा रहेका शुभेच्छुक दाता एवं स्वयंसेवीबाट भने उनले राम्रै साथ सहयोग पाएका छन् । सोही बलमा खडा गरिएको आविष्कार केन्द्रले पछिल्लो समय वीरगन्जमा रहेको कृर्षि औजार कारखाना मर्मत तथा सञ्चालन गरिरहेको छ । राज्यको बेवास्ताले थलिएको उक्त उद्योग चलाउने खास दायित्व त राज्यकै हुनुपर्ने हो, तर राज्यबाट बजेट समेत नपाएका पुन आत्मकथाको किताब देशभर बेचेर कारखाना चलाउने पुँजी संकलनमा जुटेका थिए । किताब बेच्ने अभियानकै दौरान उनलाई मन्त्री बनेर सिंहदरबार छिर्ने सौभाग्य जुरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा गठित अन्तरिमक सरकारमा जेनजी प्रतिनिधिहरुकै आग्रह र छनौटमा पुन मन्त्री बनेका हुन् । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्री बन्ने पक्का भएपछि पुनले सुरुमै फेसबुक स्टाटस लेख्दै आफूलाई बधाई नदिन र खादा, माला नल्याउन आग्रह गरेका थिए । उनले आफूलाई मन्त्री नभन्न समेत आग्रह गरे, यदि भन्नै परेमा ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न आग्रह गरे । स्पष्टवक्ता र पारदर्शी मान्छेको छवि बनाएका पुन कुनै लोलोपोतो जान्दैनन् । उनले कवडी मालसामान मागेर आविष्कार केन्द्रमा अनेक प्रयोग गर्दै गराउँदै नयाँ नयाँ सामग्री आविष्कार गर्ने गरेका थिए, त्यसै कारण उनलाई कवाडी वैज्ञानिक भनेर हेलाहोचो समेत गरिन्थ्यो । सायद उनले सोही कुरालाई इंगित गर्दै आफूलाई कवाडी वैज्ञानिक मन्त्री भन्न सुझाए । 

उनले शिक्षा मन्त्रालय पुगेर सोमबार पदभार ग्रहण गरेपछि पत्रकारहरुका तिखा प्रश्न र क्यामेरा उनैतिर सोझिए । तर उनले विगतका मन्त्री र नेताहरुजसरी बनिबनाऊ जवाफ दिएनन्, ओठे जवाफ दिन उनलाई आएन । किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाइएकाले तत्काल खास केही नरहेको उनले बताए । मन्त्रालयमा के कस्ता समस्या छन् सोही आधारमा र विज्ञहरुले दिएको राम्रा सुझावका आधारमा सकेसम्म छिटो छरितो काम गर्ने उनको भनाइ थियो । विज्ञान, प्रविधि, नवप्रर्वद्धन, व्यवहारिक अनुसन्धान नै आफ्नो प्राथमिकतामा रहने उनले बताए । 

जिद्दी र हक्की स्वभावका मन्त्री पुनले कर्मचारीहरुले तयार पारेको पहिलो निर्णयमा हस्ताक्षर गर्न नै मानेनन् । पछि प्रक्रिया बुझाएपछि बल्ल हस्ताक्षर त गरे तर आफ्नो टिमबिना उक्त निर्णय अघि नबढाउन चेतावनी समेत दिए । त्यसलगत्तै पुनले मन्त्रालयअन्तर्गतका विभागबाट हुने सेवा प्रवाहमा ढिलासुस्ति भइरहेको भन्दै त्यसको अन्त्य गर्न निर्देशन दिए । उनले आफूलाई बस्नका लागि मन्त्री क्वाटर नचाहिने बताए । आफू जहाँ काम ग¥यो, त्यही सुत्ने बानी रहेको भन्दै उनले मन्त्रालयमै सुत्नेगरी एउटा कोठा, खाट र एक किचनको व्यवस्था गर्न समेत निर्देशन दिए । आफूलाई सुरक्षा समेत नचाहिने र सरकारी गाडीको प्रयोग औपचारिक कामको लागि मात्र गर्ने पनि उनले बताए । 

एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार विजेता पुनले समाज सेवा र ग्रामीण क्षेत्रमा प्रविधिको प्रयोगमार्फत जीवनस्तर उकास्न पु¥याएको योगदान स्मरणीय छ । नेपालका दुर्गम गाउँहरूमा इन्टरनेट पु¥याउन र सूचना तथा प्रविधिमा पहुँच स्थापित गर्न उनले खेलेको भूमिका अतुलनीय छ । खोज, अनुसन्धान र उद्यमलाई सँगसँगै जोड्न खोज्ने अहिले शिक्षा र विज्ञानका क्षेत्रमा देखा परेका तमाम चुनौती चिर्नुपर्ने ठाउँमा छन् । आविष्कार केन्द्रजस्तो एक गैर–सरकारी संस्था चलाउनु र सरकारको जटिल राजनीतिक तथा प्रशासनिक संरचनाभित्र काम गर्नु फरक कुरा हो । सरकारी काममा देखिने ढिलासुस्ती र पारदर्शिताको अभाव एउटा ठूलो चुनौती हुन सक्छ । नेपालको शिक्षा प्रणालीलाई आधुनिक बनाउने, अनुसन्धान र विकासमा लगानी बढाउने तथा वैज्ञानिक सोचको विकास गर्ने जस्ता नीतिगत सुधार ल्याउनुपने चुनौती पनि उनका सामु छन् । विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई अनुसन्धान केन्द्रहरूसँग जोड्ने र सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र प्रयोगात्मक बनाउने काम पनि चुनौतीपूर्ण हुनेछ ।

सारमा यो सरकार चुनावी प्रयोजनका लागि बनेको र मन्त्री पुनको कार्यकाल पनि करिब ६ महिना मात्र रहेकाले उनीबाट तत्कालै ठूलो अपेक्षा गर्न सकिन्न । सीमित समय, स्रोत र साधनको बीचमा अधिकतम परिणाम हासिल गर्नुपर्ने, उच्च जनआकांक्षा पूरा गर्नुपर्ने चुनौती उनका सामु छन् । त्यसैले उनी आफैले ५–६ महिनाभित्र सम्पन्न गर्न सकिने कुनै योजना वा सुझाव भएमा पेश गर्न आग्रह गरेका छन् । मूलतः उनको इच्छाशक्ति र पारदर्शितालाई कर्मचारीतन्त्रले साथ दिएमा केही अपेक्षित परिणाम देख्न सकिनेछ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update