
काठमाडौँ । जेनजी आन्दोलनले उग्र रुप लिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा गर्न बाध्य भए । आन्दोलनको पहिलो दिन भएको मानवीय क्षतिपछि नै ओलीलाई पद छाड्न दबाब थियो । तर, सुरुमा ओलीले राजीनामा नगर्ने अड्डी कसे । सरकारी निवास बालुवाटारमै असुरक्षित भएपछि मात्रै आन्दोलनको दोस्रो दिन उनले बाध्य भएर राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको शिवपुरी ब्यारेकमा १० दिनसम्म सुरक्षित बसेका अध्यक्ष ओली बिहीबार बाहिर आएका थिए । आन्दोलनका क्रममा प्रदर्शनकारीले ओलीको बालकोट निवास जलाएका कारण उनी सिँधै बालकोट जान पाएनन् । बालकोटमा रहेको घर जेन–जी प्रदर्शनकारीले आगजनी गरेपछि ओलीका लागि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिइदिएका छन् । त्यहीँ उनले प्राथमिकताअनुसार नेता-कार्यकर्तासँग छुट्टाछुट्टै र सामूहिक भेट गरिरहेका छन् । उनले अधिकांश पदाधिकारीसँग भेट गरेर उनीहरूको राय बुझिसकेका छन् ।
जेन–जी आन्दोलनपछि पार्टी पुनर्गठनका लागि आन्तरिक दबाब बढ्दै गएपनि ओलीले पद नछाड्ने स्पष्ट सन्देश नेताहरूलाई दिइरहेका छन् । ओली जेन–जी आन्दोलनबारे न संवेदनशील देखिएका छन्, न त कमजोरीको स्वीकारोक्ति गरेका छन् । बरु, काजी भीम मल्लसँग तुलना गरेर राष्ट्रवादी भएकै कारण जेन–जीको आवरणमा आन्दोलन गरियो भन्ने आशय व्यक्त गरेका छन् । जेन–जी आन्दोलनबाट अपदस्थ भएको ११ दिनपछि संविधान दिवसको दिन औपचारिक रूपमा बोलेका ओलीले एमाले सुधार्ने संकेत पनि गरेनन् । बरु महेश बस्नेतहरूलाई आन्दोलनमा संलग्नमाथि आक्रमण गर्न उक्साउने खालको प्रवृत्ति देखिएको छ ।
के छ ओलीको सन्देश ?
आइतबार साँझ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग ओलीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिदेखि सन्चो–बिसन्चोसम्मका विषयमा छलफल गरेका थिए । त्यसक्रममा ओलीले आफ्नै नेतृत्वमा पार्टीलाई चुनावमा लैजाने स्पष्ट सन्देश दिएका छन् । छलफलमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भूमिका बाँध्दै अध्यक्ष ओलीसँग ‘नेतृत्व छाड्दा राम्रो हुन्छ’ भन्ने संकेत गरेका थिए । तर, अध्यक्ष ओलीले नेतृत्व नछाड्ने, बरु पार्टी महाधिवेशन र निर्वाचनमा जनतासँग फेस गर्ने भन्दै पोखरेललाई उल्टै चुनौती दिएको बताइन्छ ।
भेटघाटको क्रममा ओलले प्रायसँग पछिल्लो अवस्था आउनुमा देशभित्रको मात्रै नभएर बाहिरी ‘फ्याक्टर’को धेरै भूमिका रहेको बताउने गरेका छन् । वरिष्ठ उपात्यक्षसँग पनि ओली त्यही कुरा दोहो¥याएका थिए । पार्टीभित्रको अन्तरसंघर्ष र ध्रुवीकरणका कारण अध्यक्ष ओली उपाध्यक्ष पोखरेलसँग पनि असन्तुष्ट छन् । पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर नेतृत्वमा स्थापित गर्नुपर्ने पक्षमा छन् । तर, ओलीले बहुमतको बलमा पार्टीबाटै निर्णय गराएर भण्डारीको बाटो छेकिसकेका छन् । बरु, ७० वर्षे उमेरहदको व्यवस्था विधान अधिवेशनबाट हटाएर तेस्रोपटक पनि अध्यक्ष बन्ने आफ्नो बाटो खुला गरेका छन् ।
अध्यक्ष ओलीले तत्काल पार्टी बैठक पनि नबोलाउने रणनीति बनाएका छन् । स्थिति केही साम्य भएपछि मात्रै बैठक डाक्ने, बरु त्यतिन्जेल पार्टी पदाधिकारीदेखि जिल्ला तहका नेताहरूसम्मलाई भेट्ने उनको योजना छ । तर एमालेका दोस्रो तहको नेताहरूले भने अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने दबाब दिइरहेका छन् ।
तर, तल्लो तहका नेताहरूले जतिसुकै दबाब दिएपनि राजीनामा त धेरै टाढाको कुरा, जेनजी आन्दोलनको दुई सातासम्म पनि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न ओलीले बैठक समेत बोलाएका छैनन् । एमाले पार्टी कार्यालय, नेताहरूका निवास लगायतका संरचना ध्वस्त छन् । नेता कार्यकर्ताको मनोबल खस्किएपछि पार्टी लथालिंग अवस्थामा छ । तरपनि ओलीले पछिल्लो परिस्थितिबारे छलफल गरेर निर्णयमा पुग्नेबारे चसो नै देखाएका छैनन् । जबकि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पछिल्लो परिस्थितिलाई गम्भीर रुपमा लिँदै भर्चुअल भएपनि बैठक राखेका छन् ।
कांग्रेस र माओवादीमा नेतृत्वको आलोचना हुँदा एमालेमा यसबारेमा मन्थन नै देखिएको छैन । पार्टीको भर्चुअल बैठक बोलाउन वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रहलाई समेत ओलीले अस्वीकार गरेको बताइन्छ । पोखरेलसँगै उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली लगायतले ओलीलाई भर्चुअल बैठक बोलाउन तथा आफू बोलाउन असमर्थ भए वरिष्ठ उपाध्यक्षलाई बोलाउन दिन दबाबसहितको सन्देश दिएपनि ओलीले मानेका छैनन् । आफ्नो अनुपस्थितिको बैठकले आफूलाई अप्ठेरो पार्ने भएकाले पोखरेललाई ओलीले बैठक बोलाउन नदिएका हुन् ।
अरु दलका नेताहरुसँगै एमालेका नेता÷कार्यकर्ताका घर तथा निजी सम्पत्ति, पार्टी कार्यालयमाथि तोडफोड र आगजनि भएपछि बैठक बसेर नेता÷कार्यकर्ताको गिरेको मनोबल उच्च बनाउन बैठकहरु राखेर निर्णय गर्नुपर्ने माग पनि उठिरहेको छ । तर, यी सबै कुरा तत्काल सम्भव नभएको ओलीले आफू निकट नेताहरूमार्फत सन्देश दिएका छन् । पार्टीका कमिटी बैठक नबसेपछि नेता÷कार्यकर्तामा अन्यौलताको अवस्था सिर्जना भएको छ ।