काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी र तोडफोड ग¥यो । यही आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप¥यो र १० दिनसम्म सेनाको शिवपुरी ब्यारेकमा सुरक्षित बसे । असोज २ गते उनी पहिलोपटक सार्वजनिक रूपमा बाहिरिए । आन्दोलनका क्रममा प्रदर्शनकारीले बालकोटस्थित ओलीको निजी निवासमा आगजनी गरेकाले उनी सिधै त्यहाँ जान सकेनन् । त्यसपछि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा नेता राजेन्द्र श्रेष्ठको घर भाडामा लिएर ओलीलाई बसोबास गराइदिए । त्यहीँबाट ओलीले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । यिनै भेटघाटकै क्रममा उनले सिंहदरबारमा भएको आगजनीबारे टिप्पणी गर्दै त्यसको योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भूमिका रहेको संकेत गरे । यद्यपि, उनले बालेनको नाम स्पष्ट रूपमा भने लिएनन् ।
एमाले अध्यक्ष ओलीले बालेनलाई नाम नलिएर आक्षेप लगाए पनि ती अभिव्यक्तिहरू उनीप्रति लक्षित रहेको प्रष्ट छ । कारण, १६ भदौ २०८० मा ट्राफिक प्रहरीले काठमाडौं महानगरका गाडी रोकेपछि बालेनले सामाजिक सञ्जाल दिएको आक्रोशपूर्ण अभिव्यक्ति । त्यसबेला धम्की दिँदै बालेनले उनले लेखेका थिए– “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार ।” त्यही अभिव्यक्तिलाई आधार बनाएर ओलीले सिंहदरबारमा भएको आगजनी बालेनकै योजनामा भएको आरोप लगाएका हुन् । तर, ओली र बालेनबीचको जुहारी नयाँ भने होइन, पहिलेदेखि नै यी दुई नेताबीच श्रंखलाबद्ध रुपमा जुहारी चल्दै आएको छ ।
ओली–बालेनको श्रंखलाबद्ध जुहारी
बालेनले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका बेला नै एमालेका उम्मेदवार केशव स्थापितले “र्यापर केटो आफूसँग भिड्न आएको“ भन्दै व्यङ्ग्य गरेका थिए । जब बालेनले स्थापितलाई पछाडि पार्दै मेयर जिते, त्यसपछि ओली स्वयं बालेनमाथि आलोचनात्मक रुपमा प्रस्तुत हुन थाले । फोहोर व्यवस्थापन, पार्किङ खुला गर्ने निर्णय, न्युरोडमा सडकपेटी विस्तारजस्ता विषयमा बालेन र केन्द्र सरकारबीच ठूला असहमति देखिए । ओलीले बालेनलाई “केटाकेटी” भनेर उल्लेख गरेपछि विवाद झन् चर्किएको थियो ।
यस्तै, बालेनले धरहरामा पार्किङ खुलाएका कारण ओली असन्तुष्ट भए । झापाको दमकमा ओलीको पहलमा बनेको “बिजनेस टावर“लाई बालेनले “अग्लो घर“ भन्दै सामाजिक सञ्जालमा कटाक्ष गरे ।
चक्रपथ निर्माण ढिलो भएको भन्दै बालेनले एमाले नेता तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई प्रतीकात्मक रूपमा “दैनिक एक ट्रक धुलो उपहार” पठाउन नै बताएका थिए । त्यसको केही दिनमै उनले सडक विभागको गेटमा सच्याइएको ट्रकभरि धुलो फ्याँकिएको भिडियो सार्वजनिक गरे, जसपछि ओलीको आक्रोश झन् बढ्यो । न्युरोडमा सडकपेटी विस्तारको विषयमा एमाले नेता योगेश भट्टराईले संसदबाटै आलोचना गरेका थिए । त्यस्तै एमालेबाट निर्वाचित काठमाडौंका वडाध्यक्ष चिनीकाजी महर्जनले समेत बालेनले अधिकार मिचेको आरोप लगाएका थिए यसै क्रममा एमाले र कांग्रेस दुबैले बालेनको निर्णयविरुद्ध मोर्चा खडा गरे । ओली र बालेनबीचको अर्को विवादास्पद विषय लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मासम्बन्धी हो ।
शर्माको घरमा काम गर्ने बालिकालाई यातना दिइएको भन्दै महानगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो । तर, ओली सरकारको दबाबमा मुद्दा नचलाइने निर्णय भएपछि बालेन आक्रोशित बनेका थिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नियुक्तिका विषयमा पनि ओली र बालेनबीच गम्भीर मतभेद देखिएको थियो । सार्वजनिक पदमा रहेकाहरूबाट यस्तो स्तरको आरोप–प्रत्यारोप हुनु गैरजिम्मेवार व्यवहार मानिन्छ । यी दुई नेताबीचको टकराव जिम्मेवार राजनीतिज्ञले गर्ने काम नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
यस्तो राजनीतिक वातावरणले जनतामा निराशा फैलाउने सम्भावना रहेको भन्दै विश्लेषकहरूले संयमता अपनाउन नेताहरूलाई सुझाव दिएका छन् । तर, यो टकराव तत्काल अन्त्य हुने सम्भावना पनि देखिँदैन । कारण, दुबैपक्षबीचको मतभेद केवल नीतिगत नभई व्यक्तिगत स्तरमा पुगिसकेको छ । अब ओली र बालेनबीचको कटराब कहिले र कसरी टुंगिएला भन्ने चाहिँ आगामी दिनेले नै बताउने छ ।
