काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै सुशासनको नारालाई निरन्तरता दिइरहेका छन् । जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट पदच्युत भएका ओलीले लामो समयपछि सार्वजनिक भएरपनि फेरि सुशासनको पक्षधरता पेश गर्न थालेका हुन् । उनी प्रधानमन्त्री रहेकै बेला मुलुकमा जेन–जी आन्दोलन भएको र उक्त आन्दोलनकै बलमा ओली पदच्युत भएका थिए । प्रधानमन्त्री ओलीको नेतृत्वकालमा मुलुकमा भ्रष्ट्राचार व्याप्त भएको भनेर जेन–जीहरुले नै आनदोलनको आरम्भ गरेपछि अहिले राजनीतिकले नयाँ मोड लिएको छ । तर ओलीले अझै पनि आफू सुशासनको पक्षधर रहेको भनेर जिकिर गरेका छन् ।
ओलीले हालै पार्टी निकट पत्रकार संगठन प्रेस चौतारी नेपालका पदाधिकारीहरुसँग छलफल गर्दै आफू भ्रष्टाचारको विपक्षमा रहँदा रहँदै पनि निशाना बनाइएको दुखेसो पोखेका छन् । उनले आफूले गरेको अपराध के हो ? भ्रष्टाचार नगर्नु अपराध हो ? भन्ने प्रश्न गर्दै आफूले भ्रष्टाचार नगरेको र गर्न पनि नदिने ब्रिफिङ गरेका छन् । तर ओलीको यस्ता दावी अहिले मात्रै आएका होइनन् । सत्तामा हुँदा वा सत्ता बाहिर रहँदा नै किन नहोस् उनले भ्रष्टाचारविरुद्धमा यस्ता अभिव्यक्ति सँधै दिँदै आएका छन् । उनले पछिल्लो प्रधानमन्त्रीत्व कालमा पनि यस्ता अभिव्यक्ति पटक–पटक दिँदै आएका थिए । ओलीले धेरैजसो समय आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचारीको अनुहारसमेत नुहर्ने भनेर सर्वजनिक टिप्पणी नै दिँदै आएका छन् ।
तर ओलीका यी अभिव्यक्तिहरु केवल भाषणमा मात्रै सिमित रहेका छन् । उनले पटक पटक यस्तो दावी गरेपनि उनी सत्तामा रहँदा भ्रष्टाचारको आरोपले डामिन कहिल्यै छाडेका छैनन् । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा गिरिबन्धु टि–स्टेज जग्गा प्रकरण, यति, ओम्नीजस्ता भ्रष्ट्राचार प्रकरणमा जोडिए । त्यस्तै पछिल्लो पटकको प्रधानमन्त्रीत्वकालमा भिजिट भिसा प्रकरण तथा विगतका भ्रष्ट्राचार र वेथितिविरुद्धको उठेका आवाज दबाउन सामाजिक संजाल बन्द गर्नेजस्ता निर्णयका कारण ओली विवादमा परेका छन् ।
यसपछि नै सृजना भएको जेन–जी आन्दोलनले ओलीलाई सत्ताबाटै विस्थापित गरेको अवस्था छ । ओलीले पटक पटक सत्ता सम्हाल्दा सुशासन स्थापित गराएर जनताको मन जित्ने अवसर प्राप्त गरेका थिए । तर उनले यो अवसरमा पनि सुशासनको पक्षमा भाषणबाजी मात्रै गरेका छन् । ओलीले व्यवहारतः सुशासन र पारदर्शीतासहितको सत्ता संचालन गर्न नसक्नु उनको असक्षमता नै हो । तर अब युवा पुस्ताको आन्दोलनको जगमा फालिएका ओलीले पुनः सुशासन र समृद्धिको सपना देखाउनु खास सान्दर्भिक देखिँदैन ।
