
काठमाडौँ । केही दिनअघि सरकारले निवर्तमान प्रधानमन्त्री, गृहमन्त्री लगायत केही शीर्ष नेताहरुको पासपोर्ट रोक्का राख्ने तयारी भइरहेको खबर बाहिरियो । यसले वर्तमान सरकार पुराना दलका नेताप्रति अनुदार भएको र उनीहरुमाथि छानबिन गर्ने संकेत दियो । तर अघिल्लो सत्ता गठबन्धनका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादर देउवाले आफूहरु देश छाडेर कतै नभाग्ने सन्देश दिएका छन् । काँग्रेस सभापति देउवा तथा एमाले अध्यक्ष ओली दुवैले जेन–जी आन्दोलनलाई स्वीकार्न नसकेको देखिन्छ । जेनजीको भावना अनुसार नेतृत्व हस्तान्तरणमा समेत उनीहरु अनुदार देखिन्छन् भने वर्तमान सरकारलाई अस्वीर गरेको संकेत ओलीका पछिल्ला अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
शनिबार नेकपा एमालेको भातृ संगठन युवा संघले ओली निवास गुण्डुमा आयोजना गरेको दशैँ–तिहार विशेष कार्यक्रममा ओली आक्रोशित मुद्रामै प्रस्तुत भए । ओलीले वर्तमान सरकार हा–हुबाट बनेको र यस्ता हल्लाबाजहरुलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताए । अहिलेको सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको र आफूहरुको पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै उनले हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पारे । देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै उनले देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने पतिबद्धता समेत जनाए । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाऊँ भन्ने गरिएको भन्दै उनले सरकार सुरक्षा दिनका लागि बसेको हो कि हैन भनेर प्रश्न समेत गरे ।
ओलीले आफूलाई अपदस्थ गरी जेन–जी आन्दोलनको बलमा बनेको वर्तमान अन्तरिम सरकारप्रति अनेक कटाक्ष गरे । उनले यो सरकार जनअभिमतबाट बनेको नभएर तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप अरोप लगाए । जेनजी भनिएको यो सरकार संवैधानिक बाटोबाट, जनताको अभिमतबाट नबनेको भन्दै उनले सरकारलाई अस्वीकार गरेको संकेत दिए । आफूले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै त्यसको विवरण प्रकाशित गरेर देखाउन पनि सरकारलाई चेतावनी दिए । आफूले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै उनले कहीँकतै भ्रष्टाचार गरेको भए देखाउन पनि सरकारलाई चुनौती दिए ।
पूर्व सत्ता साझेदार काँग्रेसका सभापति देउवा भने आन्दोलनमा कुटाइ खाएपछि अहिलेसम्म सार्वजनिक भएका छैनन् । उनको घरमा आगजनीका क्रममा पासपोर्ट लगायत कागजात सबै जलेपछि यही असोज ३ गते विशेष सुंयन्त्रमार्फत नयाँ कूटनीति पासपोर्ट बनाइसकेको बताइन्छ । उपचारको नाममा थाइल्यान्ड जान भिसा समेत लागिसकेको कुरा बाहिरिए पनि काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने देउवा कतै नभाग्ने बताएका छन् । आईतवार पत्रकार भेटघाटका क्रममा महतले पार्टी सभापति देउवा लोकतान्त्रिक आन्दोलनका लागि निरन्तर लडेको व्यक्ति भएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने अपराधी नभएको जिकिर गरे । पासपोर्ट बनाएर देशबाट भाग्न खोज्यो भन्ने जस्ता भ्रम फिँजाइएको भन्दै उनले सांघातिक हमला हुने देख्दासमेत देउवाले घर नछोडेको र अब पनि देश छोडेर भाग्नुपर्ने मानसिकतामा नरहेको प्रस्ट पारे ।
जेनजी आन्दोलनपछि नेतृत्व छाड्न र युवापुस्ताको सहभागितामा पार्टी पुनर्गठन गर्न काँग्रेसभित्र दबाब बढेको छ । पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनको कुरा उठेकोले कार्यकर्ताहरुमा अन्योल सिर्जना भएको डा. महत बताउँछन् । यसबारे केन्द्रिय समितिबाटै निचोड निस्किने पनि उनले स्पष्ट पारे । उता एमाले अध्यक्ष ओलीले पनि आफू नेतृत्व नछोड्ने संकेत गरेका छन् । उनले एमालेले मात्रै मात्रै मुलुकलाई सही बाटोमा फर्काउने दाबी गर्दैे राष्ट्रलाई जोगाउन, शान्ति र समृद्धिको बाटोमा फर्काउन सिंगो पार्टी पंक्ति र देशवासीलाई संयमताका साथ एकताबद्ध भएर लाग्न आह्वान समेत गरे । यसबाट के कुरा प्रष्ट हुन्छ भने ओली–देउवालगायत नेताहरु तत्काल देश छाडेर कतै जानेवाला छैनन्, बरु अनेक तिकडम गरेर भए पनि पुनः पार्टी र सत्ता नेतृत्वमा फर्किन खोज्ने छन् ।