News 24 Television
गोरखा दरबारबाट हनुमान ढोका दरबारमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारमा आज फूलपाती भित्र्याइँदै छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

    बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर हनुमान ढोका दरबारका लागि फूलपाती पठाइएको उनको भनाइ छ । गोरखा दरबारको दसैँघरबाट दरबारका सुसारेहरूले फूलपातीसहितको डोली गाडीमा राखेर पठाएका हुन् । गोरखा दरबारको दसैँघरबाट बाजागाजासहितको -याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । 

    “गोरखाबाट पठाइएको फूलपाती हनुमान ढोका दरबारमा पु-याएपछि आजै साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ”, उनले भने । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लिएर भित्र्याउने गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update