
काठमाडौं । भदौ २३ र २४ गते देशका सडकहरूमा उर्लिएका युवाहरूले केवल आक्रोश देखाएनन् । उनीहरू अब निर्णय लिन र मतदानमार्फत आफ्नो भविष्य बनाउने अधिकारको मागमा उत्रिएको प्रष्ट सन्देश दिएका छन् ।
‘जेनजी आन्दोलन’ले वेरोजगारी, भ्रष्टाचार र दल–केन्द्रित शासनप्रतिको असन्तोषका साथ प्रत्यक्ष कार्यकारी निर्वाचन र पारदर्शी शासनको आवाज बुलन्द गरेको छ । सडकमा चोटपटक खेप्दै पनि युवा आफ्नो निर्वाचन अधिकार र जवाफदेही सरकारको इच्छामा दृढ छन् ।
भदौ २३ र २४ गतेका दिनहरूमा देशका सडकहरू असन्तुष्ट युवाहरूको विरोधका आवाजले आक्रोशमय थिए । युवा आक्रोशको गर्जन यतिसम्म थियो कि, उनीहरुले शासकलाई क्षणभरमै घुँडा टेकाए र अब कुशासन गर्नेहरुलाई सहदैनौं भनि प्रष्ट सन्देश दिए ।
त्यस समय ती केवल भीडका दृश्य थिएनन्, नेपालको राजनीतिक इतिहासमा नयाँ चेतनाको उदयको संकेत पनि थियो । ‘जेनजी आन्दोलन’ नाम दिइएको यो जनलहर युवाको गहिरो असन्तोष र परिवर्तनको आकांक्षाबाट जन्मिएको हो ।
अवसरको अभाव, बढ्दो बेरोजगारी, सर्वव्यापी भ्रष्टाचार, पुरानो राजनीतिक सोच र राज्य संयन्त्रप्रतिको गहिरो अविश्वासले युवाहरूलाई सडकमा ल्यायो । उनीहरू कुनै राजनीतिक दलका कार्यकर्ता होइनन्, बरु देशको भविष्यबारे उत्तरदायी नागरिकका रूपमा उभिएका हुन् ।
माग र मर्म : विस्थापन होइन सुधार
जेनजी आन्दोलनको मूल मर्म व्यवस्थाको अन्त्य होइन सोचको रूपान्तरण हो । उनीहरूको प्रमुख मागमा संविधान पुनर्लेखन वा संशोधन, पछिल्ला तीन दशकमा सञ्चित सम्पत्तिको छानबिन, कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन, रोजगारी सिर्जना, र शासनमा पारदर्शिता रहेका छन् ।
यी मागहरूले राजनीतिक, आर्थिक र नैतिक—तीनै तहमा सुधारको आवश्यकता औंल्याएका छन् । शुरुवाती चरणमा यो आन्दोलन पूर्ण रूपमा नेतृत्वविहीन थियो ।
युवाहरूले डिजिटल माध्यम र सडक दुबैलाई आफ्नो आवाजको माध्यम बनाए । उनीहरूको असन्तुष्टि कुनै पार्टीको घोषणापत्रबाट होइन आफ्नै अनुभव र पीडाबाट जन्मिएको थियो । तर, अन्तरिम सरकार गठनको प्रक्रियामा ‘हामी नेपाल’का संयोजक सुधन गुरुङ अगाडि आए र अहिले सरकारभित्र प्रभावशाली पात्रका रूपमा देखिन्छन् ।
गुरुङबाहेक हाल सयभन्दा बढी राजनीतिक, गैरराजनीतिक र स्वतन्त्र समूहहरू जेनजी आन्दोलनका नाममा सक्रिय छन्, जसले प्रधानमन्त्री सुशिला कार्की समक्ष फरक–फरक मागहरू प्रस्तुत गरिरहेका छन् । यही कारणले प्रधानमन्त्री कार्की स्वयं अन्यौलमा परेकी छन् ।
कसलाई आधिकारिक समूहका रूपमा सम्बोधन गर्ने ? भन्ने स्पष्टता अझै छैन । अब सबै समूह एकीकृत हुनुपर्ने सुझाव जेनजी अभियन्ताहरूलाई दिइन थालिएको छ ।
पुरानो संरचनामा धक्का
जेनजी आन्दोलनले तीन दशकदेखि दल–केन्द्रित राजनीतिक संरचनालाई हल्लाइदिएको छ । पुराना नेताहरू अब युवाको आवाजलाई बेवास्ता गर्न सक्ने अवस्थामा छैनन् । तर, सबै युवाको आवाज समान रूपमा प्रतिध्वनित हुन सकेको छैन भन्ने आलोचना पनि उठ्न थालेको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर राजनीतिक दलहरूले गरेपछि आन्दोलनका समूहहरूमा अन्यौलता देखिएको छ ।
सर्वोच्च अदालतमा रिट दर्ता भइसकेकाले संसद् पुनःस्थापना हुने सम्भावना जीवित छ । तर, जेनजी समूहहरू निर्वाचनको पक्षमा दृढ छन् । उनीहरू निर्वाचनमार्फत नयाँ जनादेश चहान्छन्, टालटुले पुरानो संरचना होइन ।
नयाँ पुस्ताको राजनीतिक घोषणा
सबै कठिनाइका बीच पनि जेनजी आन्दोलनलाई केवल युवाको आक्रोश भनेर खारेज गर्न सकिँदैन । यो पुस्ता–परिवर्तनको संकेत हो । करिब दुई दशकअघि युवाहरूले लोकतन्त्रका लागि सडक तताएका थिए । आजका युवाहरू जवाफदेह लोकतन्त्रका लागि संघर्षरत छन् ।
उनीहरू अब केवल बोल्ने होइन निर्णय लिने अधिकार माग्दै छन् । यो आन्दोलनले सत्ता र नागरिकबीचको सम्बन्ध पुनर्परिभाषित गरेको छ । राज्य केवल शासक होइन उत्तरदायी संरचना बन्नुपर्ने चेतावनी यसले दिएको छ ।