News 24 Television
जेन–जी आन्दोलन, रुपान्तरित कांग्रेस र प्रवल थापा

काठमाडौं । नेपाली कांग्रेसले यतिबेला आफूलाई बदलिएको कांग्रेस भन्दै चुनावी मैदानमा होमिएको छ । उसको दाबी छ– भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले राखेमा माग स्वीकार गर्दै, सोही भावनामा पार्टी नेतृत्व परिवर्तन भएकाले कांग्रेस सबैभन्दा नयाँ पार्टी हो ।

यसैको उदाहरण हुन्, प्रबल थापा । झण्डै दुई दशकदेखि प्रकाशमान सिंहको एकछत्र रहेको काठमाडौँ–१ मा अहिले थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यासी छन् । 

जेनजीहरुले उठाएका माग बुझेको, स्थानीयका समस्याबारे जानकार र संविधान र कानूनप्रतिको फराकिलो र गहिरो बुझाइ भएका थापालाई मतदाताले पनि उपयुक्त उम्मेदवारका रुपमा अपनाएका छन् ।

यदी कांग्रेस समयअनुसार बदलिन नचाहेको भए वा जेनजीको भावनालाई आत्मसात् नगरेको भए सबै १६५ निर्वाचनमा उम्मेदवार हुने सम्भावना थिएन । किनभने कांग्रेसले यसअघिको निर्वाचनमा ७३ ठाउँमा उम्मेदवार नै उठाएको थिएन । अहिले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार हुने एउटा मात्रै पार्टी कांग्रेस बनेको छ ।

त्यति मात्रै होइन, कांग्रेसले प्रबल थापा जस्ता होनहार र नयाँ विचार र भावना भएका एक सयभन्दा बढी नयाँ अनुहारलाई यसपटक अवसर दिएको छ ।

त्यसो त थापा त्यहाँ ठाउँमा स्थानीय हुन्, जहाँ जेनजी आन्दोलनको विऊ रोपिएको थियो । अर्थात् गत भदौ २३ गते काठमाडौँको माइतिघर मण्डलादेखि नयाँबानेश्वरसम्म जेनजीहरुले गरेको आन्दोलनमै थापाको घर पर्छ । यो ठाउँमा थापाका छ पुस्ताले जीवन बिताइसकेका छन् । थापाहरु बसेकै ठाउँ भएर थापागाउँ भन्ने नाम नै रहेको छ ।

थापा जेनजी उमेर समूहबाट अलिक अगाडि बढेका छन् । तर जेनजीले उठाएका मुद्दा उनका पनि हुन् । स्वदेशदेखि अष्ट्रेलिया पढ्न जानेहरुको भावना पनि उनलाई थाहा छ । किनकि उनी पनि अरु जस्तै उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने हजारौँ नेपालीमध्येमा पर्छन् । उनले अष्ट्रेलियामा अन्य नेपालीहरुले दुःख गरी काम गरेका छन् । स्वदेश फर्केर व्यवसाय सम्हाल्दा पनि अरुले जस्तै दुःख भोगेका छन् ।

“हामी पार्टीमा लामो समय यही मुद्दामा लडिरहेका थियौँ, युवाहरुका माग स्थापित गर्नका लागि हामीलाई लामो समय लाग्यो, सभापति गगनकुमार थापाको नेतृत्वमा अहिले त्यो सम्भव भएको छ, अब नेपाली कांग्रेस जेनजीहरुका भावनालाई स्वीकार गर्दै मुलुकको विकासमा अघि बढ्छ”, थापाले भने ।

काठमाडौँ–१ को स्थानीयका रुपमा थापासँग यहाँका समस्या बुझेका मात्रै छैनन् भोगेका पनि छन् । सुकुम्बासीका समस्या सानैदेखि देखेका छन्, उनीहरुका समस्या कसरी समाधान गर्ने भन्ने पनि थाहा छ । यसका लागि उनले आफू सांसद् भइसकेपछि कसरी ती समस्या समाधान गर्ने भन्ने खाका पनि कोरेका छन् ।

उनको यो क्षेत्र जेनजी आन्दोलनको इपिसेन्टर मात्रै होइन । मुलुकका हरेक असन्तुष्टि पोखिने ठाउँ पनि हो । यो क्षेत्रले मुलुकमा भएका हरेक परिवर्तन भनेको छ । सहकारीका पीडितहरुले सरकारलाई आफ्ना आवाज सुनाउने ठाउँ पनि यही हो । मिटरब्याजीपीडितहरु आउने र विभिन्न विषयमा न्याय खोज्दै आउने ठाउँ पनि यही हो ।

जेनजीहरुले पनि सरकारलाई आफ्ना माग सुनाउन यही ठाउँ प्रयोग गरे । उनीहरुको शान्त आन्दोनललाई हिंसात्मक बनाउन पनि यही ठाउँमा बल प्रयोग गरियो । त्यति मात्रै होइन, भदौ २३ र २४ गतेको घटनापछि संवैधानिक संकट उत्पन्न भएको समयमा संविधानको रक्षाका लागि एक थान संविधान बोकेर एकजना व्यक्तिले मौन प्रदर्शन गर्ने ठाउँ पनि यही बन्यो । 

उम्मेदवार थापा अब यो ठाउँलाई असन्तुष्टि पोख्ने ठाउँका रुपमा खुसी पोख्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्छन् । नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पायो भने अब मुलुकभरबाट नागरिकहरु समस्या लिएर होइन, खुसी लिएर काठमाडौँमा आउने दिन बन्छ, त्यो दिनको पर्खाइमा यो क्षेत्र छ ।

उनको यो क्षेत्रमा संसद् भवन छ, सिंहदरबार छ, सर्वोच्च अदालतलगायतका महत्वपूर्ण संरचना छन् । त्यति मात्रै होइन, पाँच तारे होटलदेखि साना लगानीका लाखौँ व्यवसाय पनि यही ठाउँमा छन् । अबका दिनमा यो ठाउँलाई शान्त र समृद्ध बनाउँदै लाखौ मासिनसहरुको प्रिय ठाउँका रुपमा  विकास गर्ने थापाको योजना छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update