काठमाडौं । निर्वाचन आयोगले कार्तिक २ गतेसम्म अध्यावधिक गरेको विवरण अनुसार, नेपालमा १ सय २४ वटा रानीतिक दल निर्वाचन आयोगमा दर्ता छन् ।
कार्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समय भएकाले दल दर्ता गर्ने क्रम जारी छ । विभिन्न ठूला तथा साना राजनीतिक दलहरु पनि एकता र ध्रुवीकरणको प्रक्रियामा छन् । बुधबार मात्रै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल तथा समूहबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ भने एकतामा असन्तुष्टहरु पुरानै पार्टी पुनर्गठनमा लाग्ने बताएका छन् ।
जेनजी आन्दोलनका कारण पुराना राजनीतिक दलहरु अस्तित्व रक्षाका लागि शक्ति सञ्चयमा लागिरहँदा जेनजी सहित विभिन्न समूह वैकल्पिक शक्ति निर्माणको पहलमा छन् ।
नेपालमा राणा कालमा राणा र राजाविरुद्ध कसैले आवाज उठाउन पाउँदैनथ्यो । राणा शासकहरुकाविरुद्ध आवाज उठ्दै गर्दा नेपाली कांग्रेसको स्थापना भएको थियो भने २००६ सालमा भारतमा रहेका नेपाली युवाहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका हुन् ।
जुन ७ सालको प्रजातान्त्रिक आन्दोलनका लागि निर्णायक बन्यो । त्यसपछिका जनआन्दोलनहरुमा कांग्रेस र कम्युनिस्ट पार्टीहरु मिलेर अघि बढेका छन् । संयुक्त आन्दोलनकै बलमा ४६ सालमा प्रजातन्त्र पुनःस्थापना हुनुका साथै ६२\६३ को जनआन्दोलनको बलमा राजसंस्थाकै समुल नष्ट भयो । तर सत्ता र शक्तिका कारण दलहरु विभाजनका शिकार भएका छन् ।
कांग्रेस, कम्युनिस्ट पार्टी मात्र होइन, राजसंस्थाको वकालत गर्ने राजावादी शक्तिहरुसमेत सत्ताको छिनाझपटीमा विभाजित भइरहेका छन् । नेपालको इतिहासमा सबैभन्दा बढी कम्युनिष्ट पार्टीहरु फुटको दलदलमा फस्ने गरेका छन् ।
नेपालमा कम्युनिस्टको जुट अनि फुटको इतिहास
नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुवात २००६ सालदेखि भएको हो । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठको अगुवाई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको भयो । पुष्पलालसहित निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्माचार्य र मोतीदेवि श्रेष्ठ संस्थापक सदस्य हुन् । तर कम्युनिस्ट पार्टी गठन हुँदै गर्दा नै विभाजनको रेखा कोरिन शुरु भएको थियो ।
२२ सालसम्म आइपुग्दा कम्युनिस्ट पार्टीहरु छिन्न भिन्न अवस्थामा पुगेका थिए । पुनर्गठित भएका कम्युनिस्ट पार्टीहरु २०३० सालमा आइपुग्दा पुनः विभाजित भई फरक धारहरु बोकेर अघि बढे ।
०२८ सालको झापा आन्दोलनमा होमिएकाहरु नेकपा माले, माक्र्सवादी हुँदै २०४७ सालमा एकता गरी एमाले बन्न पुगे भने चौथौं महाधिवेशनबाट कोही पातलो मसाल र मोटो मशालको गठन गरि अघि बढे ।
मोटो मशालको नेतृत्व गरेको समूहले २०५२ सालमा सशस्त्र क्रान्तिको बाटो अवलम्बन गरेको थियो । १० वर्षे सशस्त्र युद्धको बाटो समातेको समूह शान्ति प्रक्रियामा आइसकेपछि पनि उस्तै किसिमका विभाजन भइरहेका छन् ।
सशस्त्र युद्ध गरेर आएको माओवादी र संसदीय राजनीतिबाट उदाएको एमालेबीच २०७५ सालमा एकता नभई नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । तर त्यो एकता २ वर्ष पनि टिक्न सकेन ।
एमाले र माओवादी घटकहरु पनि विभिन्न टुक्रामा विभाजित छन् । पछिल्लो जेनेरेशन जेड अर्थात जेनजी पुस्ताको विद्रोहपछि पुनः राजनीतिक दलहरु एकता र रुपान्तरणको प्रक्रियामा अघि बढेका छन् ।
पछिल्लो पटक नेकपा एमालेबाट छुटिएर बनेको नेकपा एकीकृत समाजवादी र माओवादीको मुल धार मानिने नेकपा माओवादी केन्द्रसहितका विभिन्न १० दल तथा समूहले बुधबार पार्टी एकता घोषणा गरी नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेका छन् ।
अझै कम्युनिस्ट पार्टी थपिदै
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दलहरुबीच पार्टी एकता गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्दै गर्दा केही नेताहरु भने एकतालाई अस्वीकार गर्दै पार्टी पुनर्गठन प्रक्रियामै लागेका छन् ।
एकताप्रति असन्तुस्ट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा समूहले प्रगतिशिल कम्युनिस्ट अभियान अघि बढाउने घोषणा गरेका छन् भने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले समाजवादीलाई नै पुनर्गठन गर्ने बताएका छन् । एकतालाई अस्वीकार गरी पार्टी पुनर्गठन गर्ने बताएका उनीहरु पनि छुट्टाछुट्टै पार्टी दर्ता गरी अघि बढ्ने तयारीमा छन् ।
यता, माओवादीबाट अलग भई संसदीय ब्यवस्थाकै विरोध गरी ६४ सालपछिका निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्द विप्लव पनि यसपाली निर्वाचन आयोगमा दल दर्ता गरी संसदीय राजनीतिमा प्रवेश गर्ने प्रक्रियामा अघि बढिरहेको छ । तत्कालै छुट्टाछुट्टै पार्टी पुनर्गठन प्रक्रियामा लागेका जनार्दन र घनश्याम पनि कम्युनिस्टा पार्टीहरुको एकता र ध्रुवीकरणलाई तीब्र बनाउने बताइरहेका छन् ।
आगामी निर्वाचनमा कति नयाँ दल ?
जेनजी बिद्रोहपछि गठन भएको अन्तरिम सरकारले फागुन २१ गतेलाई निर्वाचनको मिति तोकेको छ । फागुन २१ गते निर्वाचन हुने बताएपछि विप्लव पनि पहिलो पटक निर्वाचनमा भिड्दै छन् ।
उनी बाहेक घनश्याम भुषाल, जनार्दन शर्मा, सहितका नेताहरुले पनि नयाँ कम्युनिष्ट पार्टी खोलेर अगाडी बढ्ने बताइसकेका छन् । जेनजीका प्रतिनिधि रक्षा बमको नेतृत्वमा नयाँ दल गठन गरेर निर्वाचनमा सहभागी हुने केही जेनजीका प्रतिनिधिहरु बताउँछन् ।
यो बाहेक सुदन गुरुङ, बालेन शाहको पनि नयाँ दल दर्ता गरेर निर्वाचनमा सहभागी हुने चर्चा चलिरहेको छ । वर्तमान सरकारमा सहभागी तत्कालित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ पनि नयाँ दल खोल्ने प्रयासमै छन् ।
जेनजी अभियान्ता मिराज ढुङ्गानाले पनि निर्वाचनमा सहभागी नहुने तर वाचडगका रुपमा रहने गरी पार्टी खोल्ने केही समय अगाडी पत्रकार सम्मेलन नै गरेर जनाएका थिए । धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ्गले पनि नयाँ राजनीतिक दल दर्ता गरेर अगाडि बढेका छन् ।
उनको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ । नागरीक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले पनि निर्वाचन आयोगमा पुगेर नागरीक उन्मुक्ति पार्टी नेपाल नाम नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
यो बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर बसेकी सुमना श्रेष्ठ, सञ्चारमन्त्री जगदीश खरेल, चिकित्सक सन्दुक रुइत, शिक्षा मन्त्री महाविर पुन सहित केहि जेनजी युवाहरुले पनि नयाँ राजनीतिक दल खोलेर निर्वाचनमा जाने चर्चा चलिरहेको छ । आगामी निर्वाचनमा सहभागी हुन कार्तीक ३० गते भित्र नयाँ दल खोल्नेहरुका लागि दल खोल्न समय सिमा निर्धारण गरीएको छ ।
यस अवधिमा १९ वटा नयाँ दलहरु थपिन सक्ने देखिन्छ । फागुन २१ को निर्वाचनमा सहभागी हुन कात्तिक ३० भित्र नयाँ दल दर्ताको प्रमाणपत्र लिइ सक्नु पर्छ त्यसैले कति नयाँ दल दर्ता हुन्छन् भन्ने एकिन तथ्यांक थाहा पाउन अझै ११ दिन कुर्नु पर्छ ।
