काठमाडौं । शनिबार त्रिभुवन विमानस्थलको धावन मार्गमा रहेका लाइटमा समस्या आएपछि जहाजहरु काठमाडौंको आकाशमा केहीबेर फन्को मारेर, दिल्ली, लखनउ, ढाका पुगेर अवतरण गरे । नेपालमा भैरहवामा र पोखरामा पनि अन्तराष्ट्रिय विमानस्थल छ ।
काठमाडौंमा विमान अवतरण गर्न नसकेका विमानहरु ती विमानस्थलमा अवतरण गर्नुपर्ने हो । तर डाइभर्ट गरिएका विमानहरु अवतरणका लागि दिल्लीदेखि ढाका पुगेको विषय यतिबेला चर्चामा छ । किन पोखरा र भैरहवामा अवतरण भएनन् त काठमाडौंबाट डाइभर्ट गरिएका अन्तर्राष्ट्रिय विमानहरु ?
शनिबार साँझ करिब साढे पाँच बजेदेखि राति १० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको लाइटमा समस्या आएपछि विमानस्थल बन्द भयो । यस कारण कोरियन एयरलाइन्सको जहाज दिल्ली, कतार एयरवेजको ढाका र फ्लाई दुबईको जहाज लखनउमा अवतरण भए । नेपाली आकाशमा प्रवेश गरिसकेका जहाजहरू पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै पनि किन यी विदेशी सहरहरूमा पुगे भन्ने प्रश्न चर्को रूपमा उठिरहेको छ ।
केहीले पोखरा र भैरहवाको विमानस्थल प्रयोगमा ल्याउन नसकिने भए किन बनाएको भन्दै आक्रोशसमेत पोखिरहेका छन् । तर, भैरहवा र पोखरामा अवतरण नहुनुमा विमानस्थलको भन्दा पनि एयरलाइन्सहरूको निर्णय मुख्य कारक हुने नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।
उडान भर्ने क्रममा नै एयरलाइन्सहरूले निर्धारित गन्तव्यमा अवतरण हुन नसकेको खण्डमा कुन वैकल्पिक विमानस्थलमा अवतरण गर्ने भन्ने तय गर्ने र कुनै पनि देशले आफ्नो देशमा भएको अर्को विमानस्थलमा अवतरण गर्न प्लेनलाई दबाब दिन नमिल्ने नागरिक उड्डेयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन् ।
भुलका अनुसार, भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कोड ई स्तरको विमानस्थल हो, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने जति सबै विमानहरू सहजै अवतरण गर्न सक्छन् ।
यसको कुल लागत ६ करोड १९ लाख अमेरिकी डलर रहेको छ, जसमध्ये एशियाली विकास बैंक, ओपेक फन्डको ऋण र नेपाल सरकारको लगानी रहेको छ । पोखरामा बनेको विमानस्थल ’कोड सी’ वा ’कोड डी’ स्तरको हो, जसलाई एक ’क्लास सानो’ विमानस्थल मानिन्छ । न्यारोबडी एअरबस ब्घद्दण् र सोही क्लाससँग इक्विभ्यालेन्ट हुने जहाजहरू पोखरामा सहजै अवतरण हुने भुलको भनाइ छ ।
भुलले काठमाडौंमा अवतरण हुने सबै जहाज भैरहवामा अवतरण हुन सक्ने बताए पनि अहिले पनि जहाज कम्पनी र पाइलटहरूले काठमाडौंमा अवतरण हुन नसकेको जहाज भैरहवामा अवतरण गर्नका लागि विकल्पमा रोजेको पाइँदैन ।
विमानस्थल बने पनि किन रोज्ने गरेका छैनन् भन्ने विषयमा सरकारको ध्यान जानुपर्ने यसका जानकारहरू बताउँछन् ।
भैरहवामा विमानस्थल सञ्चालन गर्दा क्रस–बोर्डर हवाई ट्राफिक व्यवस्थापनमा भारतीय पक्षसँगको समन्वय आवश्यक हुन्छ । उडान र अवतरणका लागि नेपाली आकाशबाटै सम्भव भए पनि नेपाल र भारतको हवाई क्षेत्र एक–आपसमा जोडिएको छ ।
धेरै अन्तर्राष्ट्रिय उडानहरू जुन नेपाल आउँछन्, तिनीहरू भारतको हवाई क्षेत्रबाटै प्रवेश गर्छन् वा भारतको नजिकैबाट उड्छन् । सुरक्षा र समन्वयका लागि, विशेष गरी अन्तर्राष्ट्रिय उडानहरूको आगमन र प्रस्थानको क्रममा, दुई देशका एयर ट्राफिक कन्ट्रोल एकाइहरूबीच निरन्तर समन्वय आवश्यक हुन्छ ।
यदि कुनै विमान भारतको हवाई क्षेत्रबाट नेपालको हवाई क्षेत्रमा प्रवेश गर्दैछ भने, त्यसको ह्यान्डओभर प्रक्रिया सहज बनाउन भारतीय ब्त्ऋ सँग समन्वय चाहिन्छ ।
गौतम बुद्ध विमानस्थल नेपाल भारतको सीमा क्षेत्रमा नै पर्छ, त्यसैले उडान भरेको केही समयमै विमान भारतको आकाशमा समेत जान सक्छ ।
जस्तो कि, गौतम बुद्ध विमानस्थलबाट उडेको विमान भारतको नजिकको हवाई क्षेत्रमा पुग्नेबित्तिकै भारतीय ब्त्ऋ को क्षेत्राधिकारमा जान सक्छ वा त्यसको नजिकबाट उड्न सक्छ, जसका लागि पहिले नै भारतसँग समन्वय हुनुपर्ने जानकारहरू बताउँछन् ।
भैरहवाको गौतम बुद्ध र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै यसमाथि उजुरी परेको थियो ।
पोखराको विमानस्थलका सन्दर्भमा विघटित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिको प्रतिवेदनमा समेत अर्बाैंको अनियमितता भएको उल्लेख छ ।
