मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका पहिले–पहिले अवैध रुपमा गाँजा र अफिम खेती हुने स्थानीय तहका रुपमा परिचित थिए । विगतदेखि गर्दै आएको पुर्खौली पेशा जस्तै बन्न पुगेको थियो गाँजा र अफिम खेती ।
यहाँका प्रायः पुरुषहरु अवैध लागुऔषध ओसारपसार मुद्दामा कारागार जीवन बिताइरहेका छन् । तर, अब भने विस्तारै नागरिक चेतनास्तर बढ्दै गएर जीवन पद्दति पनि परिवर्तन भइरहेको छ ।
मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका जिल्लाकै विकट पालिका हो । केही समय अघिसम्म मकवानपुरको विकट पालिकाको रुपमा चिनिने कैलाश र राक्सिराङ गाउँपालिकाका पाखाबारीदेखि बेशीका खेतसम्म गाँजा, अफिम जस्ता अवैध लागुऔषधको खेति गरिन्थ्यो ।
सडक सञ्जाल नहुँदा ति लागुऔषधको भारी बोकेर बजार झर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका दर्जनौं स्थानीयहरु यतिबेला पनि कारागारमा छन् ।
पहिल्यै देखि नै गाँजा रोप्न जानेका स्थानीयहरुले बर्षौंसम्म पनि आफ्ना खेतबारीमा अवैध लागुऔषधकै खेति गरे । तर, पछिल्लो समय भने कैलाशका पाखाहरुमा पहेँलै तोरी फुलेका छन् । खेतमा फलेका धान भित्र्याउने चटारो छ ।
कतै कोदो पाकेर टिप्न हतारमा भएको छ भने कतै काउली, काँक्रो, रायोको साग, मुला, अदुवा जस्ता नगदेबालीहरु लहलह भएका छन् । गाउँमा सडक सञ्जालको पहुँच, प्रर्याप्त सिचाईँ सुविधा र बजारको चिन्ता हटेपछि यहाँका स्थानीयहरु अन्नबाली तथा तरकारी खेति गरेर आयआर्जनसँग जोडिन थालेका छन् ।
त्यसोत, आफ्ना स्थानीय तहका नागरिकहरुलाई सुरक्षित राख्न अवैध लागुऔषधको खेति त्यागेर व्यवसायीक कृषि पेशामा केन्द्रीत गर्न कैलाश गाउँपालिकाले हरेक वर्ष कृषि तथा पशुपालनका क्षेत्रमा नयाँ–नयाँ योजनाहरु ल्याउने गरेको छ ।
सडक सञ्जालको पहुँचमा वृद्धि भएपछि चालु आर्थिक वर्षबाट गाँजाको विकल्पमा अन्नबाली तथा तरकारी खेति तर्फ स्थानीयहरुको लगाब बढेको स्थानीय जनप्रतिनिधिको दाबी छ ।
सडक संरचना सुधार हुँदै गएपछि कैलाश गाउँपालिकामा ठूलो परिवर्तन देखिन थालेको छ । हेटौंडाबाट ४५ किलोमिटर दूरीमा रहेको यो विकट गाउँमा वर्षैभरि सडक नचलेका कारण कृषि उत्पादन बजारसम्म पु¥याउन कठिनाइ थियो ।
अहिले भने चुनिया–नामटार–कालिकाटार–भार्ता सडकखण्ड कालोपत्रेको अन्तिम चरणमा पुगेपछि किसानहरू उत्साहित छन् ।
सडक सुचारु भएपछि गाँजा–अफिमजस्ता अवैध लागुऔषधका बाली त्यागेर स्थानीयहरू अन्नबाली र तरकारीखेतीतर्फ फर्किरहेका छन्, जसले उनीहरूलाई स्वाबलम्बी बन्न सहयोग पु¥याइरहेको छ । बजार पहुँच बढेसँगै कृषि नै रोजगारी र आयको मुख्य आधार बन्दै गएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।
