News 24 Television
इरान युद्ध रोक्न ट्रम्पको चीन कार्ड ! ताइवान त्रसित

काठमाडौं । चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ऐतिहासिक शिखरवार्ता भएको छ । व्यापार, ट्यारिफ, इरान संकट र ताइवान मुद्दामा केन्द्रित छलफलमा दुवै पक्षले सहकार्यको संकेत दिएका छन् । व्यापारिक प्रगति देखिए पनि भू–राजनीतिक तनाव र रणनीतिक प्रतिस्पर्धाले विश्वको ध्यान आकर्षित गरेको छ । 

चीनको बेइजिङमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । टिम कुक, एलन मस्क, जेन्सेन हुआङ सहितका ठूलो व्यापारिक टोली लिएर ट्रम्प चीन भ्रमणमा रहेका छन् । 

यो भेट विश्वव्यापी व्यापार, ट्यारिफ, इरान युद्ध र ताइवान मुद्दामा केन्द्रीत हुने रहेको छ । अमेरिकी राष्ट्रपति १० वर्षपछि चीनको भ्रमणमा आएका हुन् । 

भेटवार्तामा के भयो ?

ग्रेट हल अफ द पिपुलमा औपचारिक स्वागतपछि दुई नेताले द्विपक्षीय वार्ता गरे । सी जिनपिङले हामी साझेदार हो, प्रतिद्वन्द्वी होइनौं भन्दै साझा हित जोडे । ट्रम्पले सीलाई महान नेता” भनेर प्रशंसा गर्दै हाम्रो सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ र फेन्टास्टिक फ्यूचरको कुरा गरे । व्यापार सन्तुलन, दुर्लभ खनिज, प्रविधि र इरान युद्धमा चीनको भूमिका मुख्य विषय थिए । वार्तापछि व्यापारिक सहयोगमा केही प्रगति भएको संकेत देखिएका छन् । 

इरान चासो 

ट्रम्पले सी जिनपिङलाई इरानमाथि दबाब दिन आग्रह गरेका छन् । चीन इरानको तेलको सबैभन्दा ठूलो खरिदकर्ता भएकोले अमेरिकाले चीनलाई इरानलाई शान्ति सम्झौतातर्फ लैजान दबाब दिन खोजेको छ । चिनियाँ पक्षले युद्धको तत्काल अन्त्य र हर्मुज खोल्ने पक्षमा जोड दिएको छ ।

ताइवान मुद्दामा चेतावनी !

राष्ट्रपति सी जिनपिङले सौहार्दपूर्ण शिखर भेटवार्ताकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ताइवानको विषयमा अप्रत्याशित चेतावनी दिएका छन् । ताइवान मुद्दालाई गलत तरिकाले सम्हाल्न खोजिएमा यसले द्वन्द्व र अत्यन्त खतरनाक अवस्था निम्त्याउन सक्ने चिनियाँ राष्ट्रपतिको चेतावनी छ । चीनले आफ्नो दाबी गरेको स्वशासित टापु ताइवान संवेदनशील रेडलाई भएको स्पष्ट पारेको छ । 

चीनले अमेरिकी हातहतियार बिक्री रोक्न र ताइवान स्वतन्त्रताको विरोधको माग समेत गरेको छ तर प्रतिक्रिया सार्वजनिक नगरिसकेका अमेरिकी राष्ट्रपति ट्रम्पले यो विषयलाई सहजरुपमा नलिन सक्ने सम्भावना छ । 

विश्वको चासो 

ट्रम्प–सी शिखर वार्तालाई विश्वका अन्य देशहरूले चासोपूर्वक हेरेका छन् । विशेषगरी तेल आपूर्तिमा देखिएको समस्यामा विश्वको ध्यान केन्द्रीत छ । युरोपेली राष्ट्रहरू व्यापारिक ट्यारिफ र चीनको बढ्दो प्रभावबाट सशंकित छन् । यसमा रुसले आफ्नो प्रभाव घट्ने आशंका गरेको छ भने ताइवान सबैभन्दा बढी चिन्तित देखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update