News 24 Television
नयाँ गन्तब्यमा पुग्न घनश्यामले गरे पुरानो यात्रा

काठमाडौं । तत्कालिन नेकपा एमाले विभाजनको बेला घनश्याम भुसाल केपी ओलीका कट्टर आलोचक थिए । उनले देशब्यापी रुपमा अभियान चलाए । तर माधव नेपालले पार्टी विभाजन गर्दा कुनै पार्टीमा पनि लागेनन् । 

पछिल्लो समय महासचिव पद लिएर एकीकृत समाजवादीमा आएका उनी अहिले माधव–प्रचण्डबीचको पार्टी एकतामा पनि नगई एकीकृत समाजवादी पुर्नगठन अभियान सञ्चालन गर्ने घोषणा गरे । विगतमा जस्तै एक्लो राजनीति थालेका भुसाल विभिन्न पार्टी तथा समूहहरुसँग एकता गरि शक्ति निर्माणको खोजीमा छन् । 

जेनजी आन्दोलनले यतिबेला ठूला साना सबै राजनीतिक दलहरुको मथिंगल हल्लाएको छ । मुलुकमा ब्याप्त भ्रष्टाचार र राजनीतिक दलहरुको अस्थिर राजनीतिक चरित्रका विरुद्ध भएको जेनजी पुस्ताको आन्दोलनपछि नयाँ, पुराना, साना, ठूला सबै दलहरु कोपभाजनमा परेका छन् । 

पुराना राजनीतिक दलहरु मात्र होइन, नयाँ भनिएका वैकल्पिक राजनीतिक शक्तिहरुबीच पनि ध्रुवीकरण तीब्र छ । विभिन्न दल तथा समूहलाई एकट्ठा परेर आफू सर्व शक्तिमान बन्ने अभियानमा सबै भन्दा अगाडि देखिएका छन्, पुष्पकमल दाहाल प्रचण्ड । 

घनश्याम, जनार्दन र विप्लवको आ–आफ्नै दाउपेच

माधव नेपालको दल एकीकृत समाजवादीदेखि विभिन्न समूह तथा पार्टीबाट अलग भएका र असन्तुष्ट नेता कार्यकर्ताहरुलाई समेटेर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टी धुवीकरणको केन्द्र बनेको छ । तर त्यो एकतामा सहभागी नभई एकीकृत समाजवादी पुनर्गठन अभियान अघि बढाउने घोषणा गरेका तत्कालिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल अहिले शक्ति सञ्चयको प्रयासमै छन् ।  

त्यही प्रयास स्वरुप भुसालले जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवसँग हात बढाए । सुधारको प्रयास असफल हुँदा दलहरुले जेनजी आन्दोलन थेग्न नसकेकाले अब पुरानै बाटो हिडेर नयाँ गन्तब्यमा पुग्न नसकिने भन्दै घनश्याम, विप्लव र जनार्दनले प्रतिवद्ध कम्युनिस्ट, समाजवादी र प्रगतिशील शक्तिहरुबीच वृहत्त मोर्चाबन्दीको आह्वान गर्दै सहकार्य गरेर अघि बढ्न संकल्प गरेका थिए । तर आगामी निर्वाचन प्रयोजनका लागि तीनै जना नेताहरुले छुट्टाछुट्टै दल दर्ता गराएका छन् ।

उनीहरु सबै आफू कसरी सर्वशक्तिमान बन्ने भन्ने राजनीतिक दाउपेचमै छन् । विप्लव र घनश्यामसँग सहकार्यको संकल्प गरेका जनार्दनले माक्र्सवादी विचारबाटै अलग भएका पूर्व माओवादी नेता डा.बाबुराम भट्टराईदेखि रास्वपाका नेता सन्तोष परियारसमेतलाई एक ठाउँमा ल्याएका ‘प्रगतिशिल लोकतान्त्रिक पार्टी’ घोषणा गरिसकेका छन् । 

यो एकताले विप्लवलाई जनार्दनसँगको सहकार्यका लागि टाढा बनाएको छ । जसले गर्दा विगतमा माओवादी नाम छाडेका विप्लवले नेकपा माओवादी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । 

नयाँ गन्तब्यको खोजी गर्दै पुरानो बाटोको यात्रामा घनश्याम 

जनार्दनसँगै एकता र सहकार्यको संकल्प गरेका घनश्याम पुराना कम्युनिस्ट नेता चन्द्रदेव जोशीको काँध हाल्न पुगेका छन् । र, भुसालले कोमामा पुगिसकेका पार्टी नेकपा संयुक्तसँग एकता गरि त्यही पार्टी र उसैको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने भएका छन् । विहिबार जोशीसँग पार्टी एकता घोषणा गर्दै भुसालले समाजको ब्याख्या गर्नसमेत भ्याएका छन् । समाजको असन्तुष्टिको आक्रोश जेनजी आन्दोलनबाट पोखिएको भन्दै उनले जेनजी आन्दोलनको अर्थराजनीति धेरै दुरगामी रहेको बताइरहेका छन् । 

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिस्थिति बिथोलिएको छ । यो अवस्थामा नेताहरु विभिन्न अवसरको खोजीमा छन् । अवसर र नयाँ शक्ति सञ्चयको खोजीमा लागेका घनश्यामको बाटो अझै कतातिर मोडिन्छ थाहा छैन । घनश्याम मात्र होइन, उनीजस्तै थुप्रै नेताहरु सत्ता र शक्ति निर्माणका लागि राजनीतिक दाउपेचमै देखिन्छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update