काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई भित्र्याउन चाहन्छ । यसका बारेमा दुई पक्षबीच घनीभूत छलफल भइरहेका छन् । यही छलफलकै कारणले हाल अन्तरिम सरकारमा तीन÷तीन वटा मन्त्रालयसमेत सम्हालिरहेका कुलमानको संरक्षणमा खुलेको दल उज्यालो नेपाल पार्टी दर्ता गर्नसमेत ढिला भएको तथ्य बाहिरिँदै आएका छन् । कुलमानलाई पार्टीमा भित्र्याउन लामै कसरत गरेको रास्वपाका नेताहरु उज्यालो पार्टी नेपाल स्थापनापछि पनि एकीकरणको प्रयास अझै घनिभूत रुपमा भइरहेको दावी गर्छन् । उनीहरु कुलमान घिसिङ कुनैपनि हालतमा रास्वपासँगको एकतामा आउने आत्मविश्वास प्रकट गरिहरको छन् ।
राजनीतिक सिद्धान्त र एजेण्डामा खासै फरक नभएका कारण पनि कुलमान घिसिङ रास्वपासँगको एकतामा आउने नेताहरुको दावी छ । तर कुलमानले भने एकताबारे अझैसम्म स्पष्ट संकेत देखाएका छैनन् । यसको कारण एकतापछि आफ्नो हैसियत र भविष्यबारे कुलमान विचरणीय अवस्थामा हुनु नै हो । कुलमानले रास्वपासँग एकता गर्दा कुनै न कुनै कार्यकारी भूमिकामा रहनुपर्ने माग गर्दै आएका छन् । रास्वपाले एकतापछि उपसभापति दिने प्रस्ताव गरेको भएपनि कुलमानले यो प्रस्ताव स्वीकार गरेका छैनन् । उनी कि त कार्यकारी अधिकारसहितको वरिष्ठ उपाध्यक्ष वा रवि कारागारमा रहुञ्जेलसम्म सभापतिको जिम्मेवारीसहितको एकताको रणनीतिमा छन् । तर यो अधिकारसहितको प्रवेश कुलमानलाई रास्वपाले दिने देखिँदैन । यसपछि कुलमानले काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रमुख हतियार बनाएका छन् । घिसिङले बालेनलाई शनिबार उनकै निवासमा पुगेर छलफल गरेका छन् । यो भेटलाई वैकल्पिक राजनीतिक शक्ति निर्माणको आधारमा अर्थपूर्ण रुपले हेरिएको छ ।
कुलमान–बालेन भेटको अन्तर्य के ?
अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङ शक्ति निर्माणको प्रयासमा छन् । एकल राजनीतिक नेतृत्वका लागि होस् वा एकीकृत रुपमै अघि बढेपनि उनी यो समय शक्ति निर्माणकै चरणमा देखिन्छन् । यही अवस्थामा उनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर थप शक्ति निर्माणको रणनीति अपनाउने कसरत गरेका छन् ।
उनले रास्वपासँगको डिललाई सशक्त बनाउनको लागि नै भएपनि बालेनसँग भेट गरेको चर्चा अहिले राजनीतिक वृत्तमा चलेको छ । बालेनको समर्थन रहे रास्वपासँग डिल गर्न थप सहज हुने र भनेअनुसारकै हैसियतमा एकता हुने भन्ने उदेश्य कुलमानमा देखिन्छ । यता बालेनले पनि वैकल्पिक शक्तिहरुको एकतालाई सकारात्मक भन्दै आएका छन् । यदी रास्वपा र उज्यालो नेपाल एकतामा गए बालेनले बाहिरै रहेर सहयोग गर्नसक्ने भनेर आँकलन पनि गर्न थालिएको छ । हुनत रास्वपाले बालेन समूहलाई पनि एकतामा ल्याउन प्रयास नगरेको भने होइन् । यद्यपि बालेनले यो प्रस्तावालाई सहज लिएका छैनन् । तर कुलमानसहितको एकतालाई भने बालेनले सकारात्मक लिने संकेत गरेका छन् । भेटपछि कुलमानले नै फेसबुक स्टाटसमार्फ देश बनाउने अभियानमा आफूहरु सँगसै रहेको भनेर सन्देश दिएका छन् ।
हर्क, बालेन र कुलमानको खिचातानी !
वैकल्पिक शक्ति निर्माणको कसरतमा लागेका नेतृत्व भनेर बुझ्दा कुलमान, बालेन तथा धरानका मेयर हर्क साम्पाङ नै बुझिन्छन् । तर उनीहरुबीच नै तानातान हुँदा अहिले बालेन, कुलमान तथा हर्क साम्पाङ फरक–फरक समूहबाट अभियान चलाइरहेका छन् । हर्कले श्रम संस्कृति पार्टी नै गठन गरेर पूर्वीपहाडी क्षेत्रमा अभियान र संगठन विस्तारको काम गरिरहेका छन् । यसअघि हर्क र कुलमानसँग सहकार्यका लागि छलफल भएपनि उनीहरुले संयुक्त रुपमा पार्टी गठन गर्न सकेनन् ।
अन्तरिम सरकारको गठन हुँदा आफूलाई मन्त्री बनाउन रोकेको भनेर हर्क बालेनसँग बिच्किए । यता सहकार्यका लागि सहमतिमा नआएका कुलमानसँग पनि हर्क चिँढिएका छन् । हर्कले काठमाडौं आउँदा कुलमानलाई भेटेरै सहकार्यको प्रस्ताव राखेपनि कुलमान र हर्क टिम एक बन्न सकेन । पछिल्लो पटक कुलमानले उज्यालो नेपाल पार्टी गठन गर्दा डकेन्द्र सिंह थेगिम तथा डा. महेन्द्र लावतीजस्ता नेताहरुले पनि हर्कको साथ छाडे । जसले पूर्वमा कुलमान घिसिङको पार्टी नै हर्कको चुनौतीको रुपमा खडा भएको छ ।
हाल पूर्वी पहाडी जिल्लाहरुमा हर्कले धामधम संगठन निर्माण र अभियान चलाइरहेका बेला यता कुलमान घिसिङ पनि आफ्नो अभियान लिएर धरानसहित मोरङ र झापामा पुगे । यद्यपि कुलमान पूर्वी क्षेत्रमा हुँदा पनि हर्कले भेट गर्ने चाह देखाएनन् । यसपछि काठमाडौं फर्किएका कुलमानले हर्कको काउण्टरका लागि पनि बालेनसँग भेट गरेको चर्चा छ । कुलमान सत्तामै रहेपनि अप्रत्यक्ष रुपमा दलिय शक्ति निर्माणको योजनामै छन् । उनी हर्कको साथ छाडेर बालेनसँग सहकार्य गर्दै रास्वपामा शक्तिसहित पदस्थापन हुने रणनीतिमै देखिन्छन् । तर बालेन लिएर रास्वपाको शक्ति हत्याउने कुलमानको राणनीति कति सफल होला ? यो भने हेर्न बाँकी छ ।
