News 24 Television
मुलुकलाई निकास दिन वैकल्पिक शक्तिहरूबीच एकता अपरिहार्य : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौैँ । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् । रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले  बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । 

जेन–जी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसी सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आबद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन् ।

श्रेष्ठले भनिन्, ‘धेरै जनाले सोध्छन् सुमना कहाँ छ ? सुमना एकतामा छ । वैकल्पिक शक्तिहरुबीच एकता हुनैपर्छ । पुरानो राजनीतिक संस्कार जसलाई फाल्नको लागि हाम्रा भाईबहिनिहरुले स्कुल युनिफर्ममा गोलि खाएर अपदस्त गरे उनीहरुलाई फेरी कुर्सिमा पुग्नबाट रोक्ने हामी सबैको दायित्व पनि हो । त्यसैले मैले सबैलाई अनुरोध गरे फराकिलो छाति राखौं । एजेण्डामा एकरुपता ल्याऔँ । एजेण्डामा सहकार्य गरेर अब यो देशलाई निकाश दिउँ । अबको बाटो सुशासनको बाटो हो । अबको बाटो विधिको बाटो हो । र अबको बाटो भनेको विभेदरहित समाज निर्माण तथा समान अवसरको प्रदान गर्ने समय हो ।’

उनले आफू वैकल्पिक शक्तिहरुलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको बताउँदै उज्यालो पार्टीलाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिइन् । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update