काठमाडौँ । नेकपा एमाले पछिल्लो एक दशकदेखि केपी शर्मा ओलीको छायाँमै लट्ठिएको छ । एमाले नेतृत्वमा ओलीको बलियो पकड भएदेखि नै उक्त पार्टीमा आन्तरिक लोकतन्त्र दयनीय देखिएको छ । पार्टीमा मात्र हैन, मुलुककै राजनीतिमा देखिएको ओलीको प्रभाव पछिल्लो विवाद, आलोचना र सार्वजनिक बहसको मूल विषय बन्दै आएको छ । विशेषगरी जेनजी आनदोलनपछि ओलीको पक्ष र विपक्षमा खुलेरै बहस हुने गरेको छ ।
यद्यपि बहुसंख्यक एमालेजन अहिले पनि पार्टीभित्र ओलीको निर्णय र शैलीको खुलेर विरोध वा आलोचना गर्न नसक्ने तथा अन्ध समर्थनमा उत्रने गरेका छन् । ओलीको सर्वज्ञानी र हेडमास्टरी शैलीका अघि प्रभावशाली नेताहरु समेत फिका भएका र किनारामा धकेलिएका छन् । माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, घनश्याम भुसाल, भीम रावलजस्ता नेताहरु ओलीको शैलीका कारण पार्टी छाडेर अन्यत्र जान बाध्य भएको बताइन्छ । ओलीको स्वभावमा विरोध र आलोचना सहन नसक्ने तथा प्रतिशोधको भावना पालेर बस्ने खालको रहेको देखिन्छ । असन्तुष्ट वा फरक मत राख्ने नेताहरूलाई पाखा लगाउने, किनारा लगाउने वा जिम्मेवारीविहीन बनाउने प्रवृत्ति एमालेभित्र हावी भएको छ ।
अहिले ११औँ महाधिवेशनको तीव्र तयारीमा रहेको एमालेमा फेरि एकपटक केपी ओली नारालाई भाइरल बनाइएको छ । विगतमा ‘आजलाई होइन, भोलिलाई : १० वर्ष केपी ओलीलाई’ नारा चर्काइयो । अहिले ‘मेरो होइन, माटोको बोली : फेरि एकपटक केपी ओली’, ‘ जोगाउन देशको अस्तित्व : केपी ओलीको नेतृत्व’ जस्ता नारा फैलाइँदैछ । एमाले नेतृत्वमा पुनः ओली नै दोहोरिनेमात्र हैन, भावी प्रधानमन्त्रीका रुपमा समेत ओली फेरि दोहोरिने दाबी नेताहरुको छ । एमाले उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । बिहीवार प्रेस चौतारी नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई नै अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताए । ओलीको नेतृत्वमा फेरि पनि एमाले एक हुने निश्चित भएको भन्दै उनले महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो तथा लफडा पार्टीले तत्काल सम्बोधन गर्ने बताए ।
बुधबार एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि ओलीलाई फेरि अध्यक्ष बनाउनुपर्ने कुरामा पार्टीभित्र विमति नरहेको बताए । उनले पार्टीको आसन्न ११औँ महाधिवेशन सहमतिका साथ टुंगिने दाबी समेत गरे । अध्यक्ष ओलीको नेतृत्वको वरिपरि गोलबन्द भएर पार्टीलाई एकताबद्ध गरेर जाऊँ भन्ने कुरालाई नमान्नुपर्ने कुनै कारण नरहेको उनको जिकिर छ । पाँचौँ राष्ट्रिय महाधिवेशनमा मदन भण्डारीविरुद्ध दिइएको उम्मेदवारी अन्तिम समयमा आएर फिर्ता भएको जस्तै आसन्न महाधिवेशनमा पनि सोही बाटोबाट एमालेले नेतृत्व चयन गर्ने उनको विश्वास छ । पार्टी, आन्दोलन र मुलुकको नेतृत्व गरिरहेकाले ओली नै भावी नेतृत्वमा उपयुक्त हुने उनको तर्क छ ।
११औँ महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारी ओलीविरुद्ध अध्यक्षमा उठ्न चाहन्थिन् । तर भण्डारीको सदस्यता नवीकरण गरिदिएन पार्टीले । भण्डारी पक्षबाट एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उठ्दैछन् । विगतमा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा ओलीको विकल्प खोज्दै डा. भीम रावलले उम्मेदवारी दिएका थिए । ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको नामावली बन्दसत्रमा प्रस्तावित गर्ने र त्यसलाई सर्वसम्मत बनाउने प्रयास गरेका थिए, तर रावलको उम्मेदवारीले सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना पूरा हुन दिएन । परिणाम, रावलले ठूलो संख्यामा प्रतिनिधिबाट मत प्राप्त गरे पनि ओलीद्वारा संगठित रूपमा प्रस्तावित र अनुमोदित टिमसँग पराजित भए । त्यसपछि उनले पार्टीमा पाखा लगाइएको महसुस गर्दै पार्टी परित्याग गर्ने निर्णय गरे
आगामी महाधिवेशनमा ओली र पोखरेल दुवैलाई आ–आफ्नो टिम बनाउन र प्रतिस्पर्धी व्यवस्थापनमा चुनौती देखिएको छ । पोखरेल अध्यक्षमा उठ्ने तयारीमा रहेका बेला उनलाई विभिन्न तहमा कमजोर पार्ने वा उनको पकडका क्षेत्रमा प्रतिनिधि छनोटमै दबाब दिने, नतिजा अस्वीकृत गर्ने र धाकधम्की दिने काम ओली पक्षधरबाट देखिइरहेका छन् । फरक मत राख्ने आकांक्षीलाई कसरी नियन्त्रण वा किनारा लगाइन्छ भन्ने यो पछिल्लो उदाहरण हो ।
अतः यी घटनाक्रमले एमालेभित्र ओलीको व्यक्तिगत पकड र वर्चस्व निकै बलियो रहेको देखाउँछ । महाधिवेशनको प्रक्रिया होस् वा दैनिक पार्टी सञ्चालन, ओलीको इच्छा र योजना नै पार्टीको मूल दिशा बनेको देखिन्छ । फरक विचार र नेतृत्वको आकांक्षा राख्ने नेताहरूलाई कि त ओलीको लाइनमा समाहित हुनुपर्ने, कि त संगठित दबाबको सामना गर्दै राजनीतिक किनारा लाग्नुपर्ने अवस्था छ ।
