News 24 Television
स्वदेशी उत्पादन र पर्यटन प्रवर्द्धनमा बालेनको विशेष जोड !

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह निर्वाचन अघि पार्टीको सभाहरुमा सम्बोधन गर्दै स्थानीयता, उत्पादन र प्रकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नतर्फ नै केन्द्रीत देखिएका थिए । सुदुरपश्चिमको सभामा पुग्दा होस् वा सुदुरपूर्व जहाँ पुगेपनि उनले नेपालकै भाषासंस्कृति, प्रकृतिक सम्पदा र उत्पादसँगै प्रदद्र्धनलाई नै जोड दिएका थिए । उनको यी अभिव्यक्ति र सम्बोधनको एकै उदेश्य थियो, ‘आत्मनिर्भरता, प्रकृतिक सम्पदा र स्थानीय कला संस्कृति प्रवद्र्धनलाई प्रोत्साहन गर्नु ।’

उनले सरकारको नेतृत्वमा आएपछि पनि नेपालकै उत्पादन, उद्यमशीलता र प्रकृतिक सम्पदाको प्रवद्र्धनमा थप जोड दिँदै आएका छन् । तर उनले सरकारको नीतिबाट भन्दा पनि व्यक्तिगत तवरले यसको प्रवद्र्धन गरेकोमा भने केही आलोचना खेप्नु परेको छ । सरकारकै नेतृत्वमा आएपछि बालेन शाहले उचित नीति र कार्यक्रममार्फत यसको प्रवद्र्धन गर्नुपर्ने थियो । तर पनि उनले सामाजिक संजालमार्फत व्यक्तिगत तवरले प्रचारर गर्दा केही पक्षबाट आलोचना खेपिरहेका छन् । 

बालेनको प्रचार र प्रभाव कस्तो ? 

१, बढीमालिकाको वर्णन र पर्यटकको उछाल

प्रधानमन्त्री बालेन शाहले फागुन २१ को निर्वाचन अघि नै बढीमालिकालाई ‘स्वीट्जरल्याण्डको बाउ, भनेर व्याख्या गरेका थिए । यसपछि नै यो क्षेत्रमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कालिकोट र बाजुरा जिल्लाको सीमामा पर्ने बढीमालिका भौगोलिक रुपमाले सुन्दर मात्रै होइन, यो क्षेत्र धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । ४२ सय मिटरको उचाइमा रहेको यो स्थान वन्यजन्तु र जडिबुटी लागि पनि प्रशिद्ध क्षेत्र हो । निर्वाचनअघि बालेनले गरेको सम्बोधनपछि यो क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या अत्याधिक बढेको छ । यो क्षेत्रलाई थप विकास गर्न लागि सरकाले आफ्नो १०० कार्यसूचीमासमेत समेटेको छ । 

२, डीडीसी याक चिजको ब्राण्डिङ

प्रधानमन्त्री बनिसकेपछि बालेन शाहले दुग्ध विकास संस्थान (डीडीसी)को उत्पादनलाई पनि फेसबुकमार्फत प्रचार गरेका थिए । उनले डीडीसीले उत्पादन गरेको चिज खाइरहेको तस्बीर फेसबुकमा पोष्ट गरेपछि सो तस्बीरले धेरैको ध्यान खिचेको थियो । यसपछि यसको उत्पादनले समेत बजार लिएको छ । डीडीसीले मुख्यतया उच्च पहाडी क्षेत्रका चौँरीको दूधबाट गुणस्तरिय याक चिज उत्पादन गर्दै आएको छ । यो कम्पनीले वार्षिक रुपमा झण्डै ३६ हजार केजी चिज उत्पादन गर्दै आएको दावी गरेको छ । बालेनको प्रचारपछि उक्त उत्पादनले नेपाली बजार नै धान्न मुस्किल परेको छ । यतिमात्रै होइन, डीडीसीको उत्पादन मन्त्रिपरिषद बैकमासमेत मन्त्रीहरुलाई बाँडिएपछि यसको चर्चा अझै चुलिएको हो ।  

३, गोल्डस्टारको प्रवद्र्धन र राष्ट्रिय चर्चा 

प्रधानमन्त्री बालेन शाहले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न नेपालमै उत्पादन भएको गोल्डस्टार जुत्ता लगाएर सदन गएको विषयले पनि ठूलै चर्चा पाएको थियो । यसपछि बजारमा उक्त जुत्ताको माग पनि अत्याधिक बढेको कम्पनीले जनाएको छ । जसले थप उत्पादनमासमेत टेवा पुगेको देखिन्छ । सदनमै आफ्नो कम्पनीको जुता लगाएर गएपछि कम्पनीकी संचालक तथा रास्वपा सांसद विदुषी रणालेसमेत प्रधानमन्त्रीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेको भनेर खुसी व्यक्त गरिन् । पछिल्लो समय माग बढेकाले कतिपय स्टोरहरुमा गोलस्टार जुत्ताको अभाव भएकोसमेत जनाइएको छ । 

४, अपीको काखमा क्रिकेट र सामाजिक सञ्जालको तरङ्ग  

बालेन शाहले केहिदिनअघि अपी हिमालको काखमा क्रिकेट खेलिरहेको आकर्षक दृष्यसहितको भिडियो फेसबुकमा पोष्ट गरेका थिए । बालेनले यो भिडियो अपीको प्रचार र पर्यटन प्रवद्र्धनलाई नै केन्द्रमा राखेर पोष्ट गरेका हुन् । जुन भिडियो हालसम्म ८० लाख भन्दा बढीले हेरेका छन् भने, ८ लाख हारमारीमा रियाक्ट गरिएको छ । सो पोष्टमा ५७ हजार कमेन्ट गरिएका छन् भने, १३ हजार बढीले भिडियो शेयर गरेका छन् । कतिपयले यो भिडियोमा टिप्पणी गर्दै सो क्षेत्रमा सरकारले क्रिकेट मैदान बनाएर विश्वकै उच्च स्थानमा क्रिकेट प्रतियोगिता गराउनुपर्ने सुझाव दिएका छन् । समग्रमा प्रधानमन्त्री बालेनले नेपाली उत्पादन र प्रकृतिक सम्पदाहरुको प्रचारमा विशेष जोड दिएको देखिन्छ । जुन विषयले उत्पादन, बजारीकरण र प्रचारमासमेत ठूलो टेवा पुगेको छ । तर मुख्यतः प्रधानमन्त्रीले व्यक्तिगत प्रचारसँगै नीतिगत सुधार र आर्थिक प्रोत्साहनको रणनीति अपनाए प्रधानमन्त्रीको योजना थप प्रभावकारी हुने देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update