News 24 Television
अर्बौँ घोटाला काण्डः ठूला उद्योगपति एउटै फाइलमा, कोको परे फन्दामा ?

काठमाडौं । नेपालको बैंकिङ र सेयर बजार इतिहासकै ठूलो वित्तीय अपराध प्रकरणमा ८६ जनाविरुद्ध मुद्दा दायर भएको छ । उद्योगका लागि लिएको ऋण सेयर बजार र सम्पत्ति शुद्धीकरणमा प्रयोग गरेको आरोप छ भने दिपक भट्ट र शुलभ अग्रवालमाथि अर्बौं बिगो कायम गरिएको यो अभियोग के हो ? 

नेपालको वित्तीय क्षेत्रलाई झस्काउने गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी अहिलेसम्मकै ठूलो मुद्दा अदालत पुगेको छ । सीआईबी र सम्पत्ति शुद्धीकरण विभागले धितोपत्र, बीमा तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न आर्थिक कारोबारमा गैरकानुनी लाभ आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा ८६ जनाविरुद्ध मुद्दा दायर गरेका छन्। विशेष अदालत, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएका छन् ।

यी हुन् मुख्य आरोपीहरूः

दिपक भट्ट

शंकरलाल अग्रवाल (अध्यक्ष, शंकर समूह)

शुलभ अग्रवाल (उपाध्यक्ष, शंकर समूह)

साहिल अग्रवाल (उपाध्यक्ष, शंकर समूह)

शेखर गोल्छा (अध्यक्ष तथा प्रबन्ध निर्देशक, गोल्छा समूह)

राजबहादुर शाह (प्रबन्ध निर्देशक, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज)

अमित मोर (प्रबन्ध निर्देशक, लक्की समूह)

चार अभियोगपत्रअनुसार भट्ट, अग्रवाल, गोल्छा, मोर र शाहले आफू निर्दोष रहेको दाबी गर्दै दोष एकअर्कामाथि थोपरेका छन् । 

सरकारी वकिलले उनीहरूले सञ्जाल बनाएर कानुन छल्दै कागजी जग्गा बैना, पारिवारिक अंशबन्डालगायतका माध्यम प्रयोग गरी वित्तीय अपराध गरेको आरोप लगाएका छन् । अभियोगपत्रअनुसार घटनाको सुरुआत २०७९ असोजमा भयो । 

जब जगदम्बा स्टिल्सले नेपाल इन्भेस्टमेन्ट बैंकबाट लिएको चालु पुँजी कर्जा कानुनविपरीत प्रयोग ग¥यो । उक्त रकम मेगा इन्भेस्टमेन्ट बैंकमार्फत दिपक भट्टको व्यक्तिगत खातामा ५४ करोड ५० लाख रुपैयाँ पठाइएको थियो । 

भट्टले यसलाई जग्गा बिक्रीको बैना भने पनि अनुसन्धानले फरक उद्देश्य देखाएको छ । आरोपअनुसार कर हेरफेरमा बिचौलिया बनेबापत जगदम्बाले उनलाई उक्त रकम दिएको थियो । तर भट्टले यसलाई सानेपास्थित ५४ आना जग्गाको बैना भने पनि अभियोजनकर्ताले कर हेरफेरमा बिचौलिया बनेबापत रकम पाएको दाबी गरेका छन् । राष्ट्र बैंकको पत्रपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु भएको थियो । 

आरोपअनुसार भट्टले रकम इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिइन्स्योरेन्समा लगानी गरे । 

पछि उनले ७५ करोड २६ लाख रुपैयाँ जगदम्बालाई फिर्ता पठाए । तर बैना कागज प्रमाणीकरण नभएको, जग्गा खरिदका लागि कर्जा नलिइएको, वर्षौँसम्म रजिस्ट्रेसन पास नभएको तथा रकमको स्रोतबारे स्पष्ट जवाफ नदिएको अभियोजनकर्ताको दाबी छ ।

राष्ट्र बैंकको अनुसन्धान चलिरहेका बेला २४ किस्तामा रकम फिर्ता गरिएको उल्लेख छ ।

त्यो पैसा कहाँबाट आयो ?

सिद्धार्थ बैंकको विशेष  स्थलगत निरीक्षण प्रतिवेदनअनुसार ७५ करोडमध्ये ६७ करोड ९० लाख रुपैयाँ त जगदम्बा समूहकै अर्थात् अग्रवाल परिवारकै पैसा थियो । अग्रवाल परिवारले बैंकबाट लिएको ऋणलाई आफ्ना सदस्यहरूको खातामा घुमाएर राउन्ड ट्रिपिङ गरी भट्टको खातामा पु¥याएका थिए । 

अग्रवाल परिवारबाट भट्टको खातामा गएको रकमको विवरणः

कृषिव अग्रवाल (शुलभका छोरा) : १४ करोड ३२ लाख

शुभी अग्रवाल (शुलभकी पत्नी) : १३ करोड १८ लाख

शुलभ अग्रवालः १० करोड ३० लाख

शाहिल अग्रवालः ९ करोड

जाना अग्रवाल (शुलभकी छोरी) : ८ करोड ३० लाख

ललिता अग्रवाल (शुलभकी आमा) : ८ करोड ३० लाख

शंकरलाल अग्रवालः ४ करोड ५० लाख

बाँकीमध्ये दीपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्टबाट १० करोड १७ लाख र भट्ट एकल सेयरधनी भएको कम्पनी इन्फिनिटी होल्डिङ्सबाट २९ लाख ४१ हजार गएको थियो । 

अनुसन्धानकर्ताहरूले यसलाई जगदम्बा स्टिल्सले बैंकबाट ऋण लिएको रकम परिवारका सदस्यहरूको खातामा घुमाएर राउन्ड ट्रिपिङ गरी भट्टको खातामा रकमान्तर गरिएको देखिएको बताउँछन । 

यो पैसा केका लागि लिइएको थियो भन्ने प्रश्नमा मुख्य अभियुक्त दिपक भट्टले सापटी के प्रयोजनका लागि लिएको हो, हाल यकिन भन्न सक्दिनँ भन्ने गैरजिम्मेवार जवाफ दिएका छन् ।  

अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सको कर्जा दुरुपयोगपछि अवैध रकमलाई वैधानिक देखाउन हिमालयन रिइन्स्योरेन्स र सेयर बजार प्रयोग गरियो। दिपक भट्टले भृकुटी स्टक ब्रोकिङमार्फत अग्रिम रकम नतिरी ३ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार गरे । 

यसले कृत्रिम माग सिर्जना गरी नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य बढाइएको तथा विभिन्न व्यक्तिको मिलेमतो रहेको आरोप छ । 

अब प्रश्न उठ्छ, ब्रोकरले अर्बौंको उधारो कारोबार गर्ने पैसा कहाँबाट ल्याए ?

अभियोगपत्र भन्छ–यसमा प्रतिष्ठित उद्योगीहरूको पैसा प्रयोग भयो । 

शेखर गोल्छा (तत्कालीन अध्यक्ष, हिमालयन रिइन्स्योरेन्स)

उनले अनुसन्धान अधिकृतहरूसँग भृकुटी ब्रोकरलाई विभिन्न मितिमा ५२ करोड ५० लाख रुपैयाँ दिएको स्विकारेका छन् । तर उनको हास्यास्पद बयान यस्तो छ– भृकुटीका अध्यक्षलाई म चिन्दिनँ, त्यहाँ मेरो डिम्याट खाता पनि छैन । 

साथीहरू रोहित गुप्ता, राजबहादुर शाह, शुलभ र अमित मोरसँग सल्लाह गरी सेयर किन्न पैसा दिएको हुँ । दिपक भट्टसँग मेरो वित्तीय कारोबार छैन । स्मरणरहोस्, घोटाला बाहिरिएपछि गोल्छाले २०८२ फागुन २५ मा पदबाट राजीनामा दिएका थिए ।

राजबहादुर शाह (प्रबन्ध निर्देशक, जावलाखेल ग्रुप)

उनले नेपाल रिइन्स्योरेन्सको १ अर्ब ४१ करोड ८० लाखको सेयर किने तर ब्रोकरलाई जम्मा ५२ करोड ५० लाख मात्र बुझाए । उनको अझै ९० करोड रुपैयाँ तिर्न बाँकी छ ।

अमित मोर र राजीव मोर (लक्की समूह)

कम्पनीको अनुसन्धान तीव्र भएपछि बोर्डबाट राजीनामा दिएका यी दुई दाजुभाइको बयान हुबहु छ– हामीले नीतिगत निर्णयमा हस्ताक्षर मात्र गरेका हौँ, लगानीबारे विस्तृत छलफल भएन । वित्तीय कारोबारको जिम्मा सीईओ र व्यवस्थापकको हो । 

दुवैले यसरी बयान दिनुभन्दा तीन दिनअघि हिमालयन रिइन्स्योरेन्सका बोर्ड अफ डिरेक्टर पदबाट राजीनामा दिएका थिए । मोर परिवारकै ऋषिराजको भनाइमा उनले विभिन्न मितिमा ब्रोकर कम्पनीसँग ऋण लिएर सेयरमा लगानी गरेका हुन् । उनले ब्रोकरलाई अझै २३ करोड तिर्न बाँकी छ ।

बयानमा सोधिन्छ ब्रोकर कम्पनीले बैंकजस्तो कर्जा दिन मिल्छ ?

जवाफमा मोर भन्छन्, मलाई थाहा भएन । उनले के पनि भन्छन् भने, शुलभ अग्रवाल, शाहिल अग्रवाल, दीपक भट्ट र शुभी अर्थात शुलभकी पत्नी अग्रवाललाई चिन्दिनँ । तर, शुभी अग्रवालको खातामा उनले पैसा पठाएका छन् । त्यसबारे उनको भनाइ छ, के कति कारणले निजलाई पैसा दिएँ भन्ने कुरा म यहाँ खुलाउन चाहन्नँ । यो मेरो निजी मामिला हो ।

यो प्रकरणमा धेरै जना मुद्दा लगाइएका व्यक्तिहरू अहिलेसम्म फरार छन् । यी सबै मुद्दाको छिनोफानो अब यही तीन अदालतले गर्नेछन् । विशेष अदालतले भट्ट र अग्रवाललगायत ३९ जनाविरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा शुक्रबारदेखि प्रारम्भिक सुनुवाइ थालेको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा भट्टको बयान सुरु भएको छ । 

बयानलाई सोमबार पनि निरन्तरता दिइने अदालतले जनाएको छ । त्यसपछि शुलभको बयान हुनेछ । दुवैको बयान सकिएपछि यो मुद्दाको अन्तिम फैसला नआउन्जेल उनीहरूलाई थुनामै राख्ने अथवा धरौटी र साधारण तारिखमध्ये के मा छाड्ने भन्ने निर्णय अदालतले दिनेछ । 

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update