काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्तारुढ रास्वपाकै सांसद र प्रतिपक्षीले तीव्र असन्तुष्टि जनाएका छन् । बालेन सरकारका विज्ञ अर्थमन्त्री मानिएका डा. स्वर्णिम वाग्लेले संसदमा बजेट र आर्थिक विधेयक पेश भइसकेपछि करका दरमा मनलाग्दी हेरफेर गरेको भनेर आलोचना भइरहेको छ । साथै उक्त बजेटले कतिपय उपभोग्य वस्तुमा अनावश्यक कर लगाएपछि धेरैले विरोध र असन्तुष्टि जनाएका छन् । कतिपय निर्वाचन क्षेत्र र मधेस तथा दुर्गम ग्रामीण क्षेत्रका लागि बजेट अपर्याप्त रहेको समेत गुनासो आएको छ ।
बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै यसलाई ‘फुकेको बेलुन’ को संज्ञा दिए । विद्वान् अर्थमन्त्री वाग्लेले ल्याएको यो बजेट कार्यान्वयन हुनै नसक्ने र फुकेको बेलुन जस्तै लामो समय नटिक्ने उनको दाबी छ । संविधान निर्माणका थोरै हस्ताक्षरकर्ता सांसदहरूमध्ये आफू पनि एक रहेको स्मरण गराउँदै नेता सिंहले संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकार मानेको अवस्थामा अर्थमन्त्रीले त्यसविपरीत विद्यार्थी र बिरामीमाथि कर लगाएको भन्दै कडा आपत्ति जनाए । बजेटमा सार्वजनिक विद्यालय सुधार्ने कुनै योजना नरहेको र निजी विद्यालय वा अस्पताललाई नभएर पढ्ने विद्यार्थीलाई करको भार थपिएको उनको आरोप थियो । बुढानीलकण्ठ स्कुल पढेका अर्थमन्त्रीले कम्तीमा सात प्रदेशमा त्यस्तै गुणस्तरका सातवटा विद्यालय बनाउने कार्यक्रम ल्याउने आशा गरिए पनि बजेटले त्यसलाई उपेक्षा गरेको उनले बताए ।
यो बजेटबाट सीमित व्यापारी र कर्मचारीबाहेक देशका आम जनता कोही पनि सन्तुष्ट नरहेको टिप्पणी गर्दै सिंहले झन्डै साढे ४ खर्ब ऋण लिएर पुरानो ऋणको सावाँ–ब्याज तिर्ने अर्थमन्त्रीको योजनाले विकास बजेटमाथि गम्भीर चाप पारेको टिप्पणी गरे । कर्मचारीको तलब २१ प्रतिशत बढाइए पनि देशका गरिब, मुसहर, दलित र चेपाङ बस्तीको भावनालाई बजेटले कतै नछोएको पनि उनले बताए ।
प्रतिपक्षी राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिव नागरिकलाई सेवा दिनेभन्दा पनि ठूला व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको बताए । बजेटमाथिको छलफलका क्रममा शाहीले नेपालको पुँजी समेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउने अर्थमन्त्री वाग्लेलाई ‘विज्ञ’ भन्न नसकिने भन्दै असन्तुष्टि पोखे । सरकारले रोगसँग लडिरहेका बिरामी नागरिकलाई पनि कर लगाउने निर्दयी नीति ल्याएको भन्दै आक्रोश व्यक्त गरे ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरे । मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै उनले कटाक्ष गरे । पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा उनले आक्रोश व्यक्त गरे ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निस्कल राईले संसद्मा पेस भइसकेको आर्थिक विधेयकको करको दरमा हेरफेर गर्नु गैरकानुनी मात्र नभई राजद्रोहसरह भएको टिप्पणी गरेका छन् । उक्त कार्यलाई अर्थमन्त्रीको अक्षम्य गल्ती भन्दै तत्काल छानबिन हुनुपर्ने राईको माग छ । उनले प्रश्न गरेका छन्– ‘सदनमा पेस भएको आर्थिक विधेयकलाई कार्यकारिणी निर्णयबाट कसरी परिवर्तन गर्न सकिन्छ ? अर्थमन्त्रीज्यूले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो कि आर्थिक विधेयकमा मनलाग्दी फेरबदल गर्नुभएको हो ?’ अर्थमन्त्रीको यो कदम विधि निर्माणको स्थापित सिद्धान्त र संसद्को अनुमतिबिना कर लगाउन वा हेरफेर गर्न नपाइने संवैधानिक मान्यताविपरीत रहेको भन्दै उनले जवाफ माग गरे ।
वीपी कोईरालालाई आदर्श मान्ने स्वर्णिम वाग्लेले ल्याएको बजेटले दुर्गम गाउँका नागरिकलाई बिर्सिएको आरोप समेत अर्थमन्त्रीमाथि लागेको छ । काँग्रेस सांसद सन्दीप रानाले बजेट अव्यवहारिक, असमावेशी र ग्रामीण जनजीवनप्रति असंवेदनशील रहेको टिप्पणी गरेका हुन् ।
