News 24 Television
रास्वपा संस्थापकहरु हराइए, नव प्रवेशी हावी

काठमाडौं । प्रतिनिधिसभामा झण्डै २ तिहाई सिट ल्याएको संसदको सबैभन्दा ठूलो दल रास्वपा महाधिवेशनको दौडमा छ । असार ७ गतेदेखि ९ गतेसम्म रास्वपाको पहिलो महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनअघि वडा, पालिका र जिल्लाको अधिवेशन हुँदै अहिले प्रदेशको अधिवेशन जारी छ । वडा, जिल्लादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा रास्वपामा ठूलो गुटबन्दी सिर्जना हुने देखिएको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशनमा होमिएको छ । यहि असार ७ गतेदेखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्न लागिएको हो । 

पार्टी स्थापनाको चार वर्षमा पार्टी स्थापनाकै दिन पारेर महाधिवेशन गर्न लागेको रास्वपा वडा र जिल्ला तहको अधिवेशन सकेर यतिबेला प्रदेश अधिवेशनमा छ । हरेक जिल्लादेखि प्रदेश अधिवेशनमा रास्वपाको नेतृत्वका आकांक्षीहरु ठूलो संख्यामा देखिएका छन् । 

खासगरी सहमतिबाटै वडादेखि केन्द्रको नेतृत्व चयन गर्ने बताएको रास्वपाको सबै तहको निर्वाचनमा विवाद देखिएको छ । अझ कतिपय जिल्लाको अधिवेशनमा कुटाकुटकै अवस्था सिर्जना भयो भने केही जिल्ला विवादका कारण अधिवेशन नै स्थागित भएका छन् । 

पुराना पार्टी छाडेकाहरु नै हावी बन्दै 

रास्वपाले आफूलाई नितान्त नयाँ पार्टीको रुपमा लिने गरेको छ । सरकारदेखि सदनसम्मका नै रास्वपाले अन्य राजनीतिक दलहरुलाई पुराना पार्टीको भाष्य सिर्जना गरिरहेको छ । रास्वपा सांसददेखि मन्त्रीहरुले सदनमा धारणा राख्दा पनि आफूहरुलाई नयाँ र परिवर्तनशील शक्तिका रुपमा ब्याख्या गर्ने गरिहेको छ । तर रास्वपाको जिल्लादेखि प्रदेश अधिवेशनको अवस्था हेर्दा तिनै कांग्रेस, एमाले र नेकपा छाडेका नेता कार्यकर्ता नै रास्वपाको नेतृत्व हाँक्न आएका छन् । 

पुराना भनिएका तीनै पार्टीबाट अवसर नपाएको ब्यक्तिहरुले अधिकांश पालिका तथा जिल्लाको नेतृत्वमा आइपुगेका छन् । अझ एक पदको नीति अघि सारेको रास्वपामा बहुपदका लागि ठूलो संघर्ष भइरहेको छ । 

रास्वपा संस्थापकहरु नै पराजित 

वडा, पालिका र जिल्ला अधिवेशनपछि अहिले प्रदेश अधिवेशन जारी छ । कोशी र गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने शनिवार बाग्मती र लुम्बिनी प्रदेशको अधिवेशन चलिरहेको छ । सम्पन्न भएका कोशी र गण्डकी प्रदेशमा रास्पाको स्थापनाकालदेखि सक्रिय रहेकाहरु नै नेतृत्वमा पराजित भएका छन् । 

कोशीमा गोमा तामाङ ‘सरिन’ पराजित भई चन्द्रबहादुर राई निर्वाचित हुँदा गण्डकीमा प्रतिनिधिसभा सदस्यसमेत रहेका राजन गौतम पराजित भई नविन त्रिपाठी विजयी भए । 

पार्टी स्थापनादेखि सक्रिय रहेकी सरिन ७९ र पछिल्लो प्रतिनधिसिभा निर्वाचनमा पनि टिकट पाएकी थिइन् । तर दुबै चुनावमा पराजित भइन् । उनी प्रदेश सभापतिमा पनि पराजित भएपछि राजनीतिबाटै अलग हुने निर्णय गरिन् । 

यता गण्डकीमा पनि पार्टी स्थापनादेखि संगठन विस्तारमा सक्रिय रहेका गौतम नविन त्रिपाठीसँग पराजित भए । प्रदेश अधिवेशनका क्रममा उनले आफूले संगठन विस्तार र सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछानेको रक्षाका लागि भएको संघर्षमा आफूले गरेको योगदानको स्मरण गराएका थिए । 

नेतृत्वका लागि हानाथाप 

पालिका तथा जिल्लाको नेतृत्व लिन हानाथाप हुँदा अधिकांश ठाउँमा सर्वसम्मत हुन सकेन । प्रदेशमा पनि उस्तै हानाथाप छ । लुम्बिनीमा सभापतिका लागि मात्रै ६ जनाले उम्मेदवारी दिँदा बाग्मतीमा ४ जना प्रतिष्पर्धामा उत्रिए ।

रास्व्पाले भने यसलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा ब्याख्या गरेको छ । तर पालिका, जिल्ला तथा प्रदेशको नेतृत्व हत्याउन भएको हानाथापले रास्वपामा चरम गुटबन्दी सिर्जना गरेको भन्दै पार्टी भित्रै निराशा छाउँदै गएको छ । अब चितवनमा हुने पहिलो महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ कि पालिका, जिल्ला र प्रदेशसँगै हानाथाप होला, चासोको विषय बनेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update