काठमाडौं । संसद अवरोध खुल्ने चरणमा पुगे पनि प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछाने र सत्तारुढ रास्वपामाथि कडा आलोचना गर्दै राजनीतिक दबाब बढाएको छ । जसका कारण संसददेखि पार्टीभित्र समेत असन्तुष्टि र बहस तीव्र बनेको छ । बुधबारदेखि संसदको अवरोध खोल्ने अवस्थामा पुगेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सदनमा निर्मम रुपमा प्रस्तुत भयो । आन्दोलनको स्वरुप परिवर्तन गरेर संसदमा प्रधानमन्त्री बालेन शाहकै प्रष्टिकरणलाई अनिवार्य शर्त बनाउनबाट पछि हटेको काँग्रेसले सत्ताको नेतृत्व गर्ने दलका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन शाह, सत्तारुढ दल रास्वपा सांसदहरु र सभामुख डीपी अर्यालकाविरुद्धमा निर्ममता प्रकट गरेको छ ।
काँग्रेसले आगामी दिनमा सदनमा प्रधानमन्त्री नखोज्नेदेखि सीमाको विषयमा प्रधानमन्त्री मात्रै नभइ पार्टी सभापति रवि लामिछानेले पनि गम्भीर रुपमा विषय उठान गर्न नसकेको टिप्पणी ग¥यो । काँग्रेसले रवि लक्षित टिप्पणीमा विगतमा राष्ट्रवादको प्रश्नमा बाघ झैँ गर्जिने भारत भ्रमाणमा जाँदा म्याउँ पनि नगरेको भन्दै गम्भीर प्रश्न उठाएको छ ।
प्रधानमन्त्रीको गलत अभिव्यक्तिपछि पुष्टि गर्न सत्तारुढ दलका सांसदहरु नै लागेको प्रति पनि असन्तुष्ट प्रतिपक्षीले आफ्नै राष्ट्रियतामाथि धावा बोल्दा चुँ नबोल्ने सांसदहरुलाई अजिव जीवन जिइरहेको रुपमा पनि विपक्षीले चित्रण गरिदिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रधानमन्त्री, सभापति रवि, रास्वपा सांसदको शैलीलाई मात्रै होइन, सभामुखको कार्यशैलीमा पनि खरो प्रश्न उठाएको छ । समग्र सांसद र यसको नेतृत्वलाई नै काँग्रेसले लाचारीको संज्ञा दिँदै आँफैले खनेको खाडलमा पछि आँफै फस्नसक्ने चेतावनीसमेत दिएको छ ।
यी सबै टिप्पणी हेर्दा संसदमा सरकार, सत्तापक्ष र सभामुखविरुद्ध विपक्षी दल तार्किक रुपमा हावी भएको देखिन्छ । उता सरकारले भारतसँगको सीमा विवाद र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमाथि दिएको प्रष्टिकरणलाई विपक्षीले चित्तबुझ्दो मान्न सकेको छैन ।
यसपछि प्रधानमनत्री बालेनकै कारण सत्तापक्षले ठूलो दवाब झेल्नु परिरहेको रुपमा निश्कर्षसमेत निकाल्न थालिएको छ ।
पार्टी भित्रै हुन थाल्यो बालेनको विरोध !
विपक्षीको चर्को पेलनका कारण रास्वपाबाटै प्रधानमन्त्री बालेनको विरोध हुन थालेको छ । समग्रमा अपेक्षाकृत कार्य गर्न नसक्दा रास्वपामाथि अपजस थोपरिँदै छ । जुन अपजसलाई रास्वपाले सबै बालेनकै कारण भएको निश्कर्ष निकालिरहेको छ । जुन कारण पनि रास्वपाकै नेताहरुले बालेनविरुद्ध फायर खोल्न थालेका छन् । यस विषयको संकेत संसदको शुन्य समयमा बोलेका रास्वपा सांसद विपिन आचार्यले दिएका छन् । उनले संसदको अवाज सरकारले नसुनेको गम्भीर टिप्पणी गरे ।
यतिमात्रै होइन, रास्वपाकै प्रभावशाली नेता प्रमोद न्यौपानेले समेत बिहीबार नै प्रधानमन्त्री बालेनकै स्टाइलमा ‘यसरी चाही बन्दै भन्दैन’ भनेर स्टाटस लेखेका थिए । जुन स्टाटस बालेनप्रति कटाक्ष गरिएकै रुपमा बुझिने प्रष्ट आधार छन् । यद्यपि उनले दोस्रो स्टाटस लेखेर सरकारको नेतृत्वलाई भनेको नभइ पार्टी अधिवेशन चलिरहँदा जिल्ला, पालिका र वडा कमिटिको महाधिवशेन लक्षित गरेर टिप्पणी गरेको भन्दै सच्याएका छन् । तर जे होस्, जुनसुकै कोणबाट विश्लेषण गरिएपनि सांसद विपिन आर्याय तथा प्रमोद न्यौपानेकै यी भाषामा पनि बालेन लक्षित कटाक्ष भने प्रष्ट देखिन्छ । बालेन नेतृत्वको सरकारले देखाएको अपरिपक्वताले रास्वपासमेत अपजसको जालोमा फस्दा रवि अब कहिलेसम्म बालेन चरित्रको रमिते बनेर बसिरहन्छन् ? यो भने प्रश्नको विषय बनेको छ ।
