News 24 Television
भारतमा गर्मीले हायलकायल, चिसो खोज्दै पोखराभरि भारतीय नागरिक

काठमाडौं । भारतमा बढ्दो गर्मी, बिदा र अनुकूल नीतिका कारण भारतीय पर्यटकको लहर पोखरामा उर्लिएको छ । अफसिजनमै होटल ९० प्रतिशत भरिएका छन् भने फेवातालमा दैनिक हजारौं पर्यटकको भीडले पर्यटन व्यवसाय उत्साहित बनेको छ । 

भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ । लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयर, होटल व्यवसाय र ट्रेकिङ गतिविधि निकै व्यस्त भएका छन् । डुङ्गा व्यवसायीका अनुसार फेवा तालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेका छन् । 

अन्नपूर्ण क्षेत्र आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उपस्थिति उल्लेख्य छ । बढ्दो पर्यटक चापका कारण अधिकांश होटल भरिएका छन् भने लेकसाइड क्षेत्रमा पार्किङ र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । 

वर्षातका कारण नेपालमा अफसिजन मानिने समयमा समेत भारतीय पर्यटकको उल्लेख्य आगमन हुनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको पर्यटन व्यवसायीहरूको भनाइ छ । भारतमा बढ्दो गर्मी र बिदाका कारण नेपाल लोकप्रिय गन्तव्य बनेको छ । धार्मिक पर्यटनअन्तर्गत मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्नेहरूको संख्या पनि बढेको छ ।

नेपाल आउने भारतीय पर्यटकमध्ये युवा पुस्ता विशेषगरी साहसिक पर्यटनतर्फ आकर्षित देखिएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर र उपल्लो मुस्ताङ क्षेत्रमा भारतीय युवाको बाक्लो उपस्थिति छ । पदमार्गहरूमा पर्यटक चाप बढेकाले अफसिजनमा समेत बासका लागि कोठा पाउन कठिन भइरहेको छ । युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटक भने धार्मिक स्थल भ्रमणमा केन्द्रित छन् । 

पर्यटक वृद्धि उत्साहजनक भए पनि बसमा सामूहिक यात्रा गर्ने केही पर्यटकले सडक किनारमै खाना पकाउने र खाने गर्दा व्यवस्थापन चुनौती देखिएको छ । होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीका अनुसार ३२ वर्षयताकै सबैभन्दा धेरै भारतीय पर्यटक यस वर्ष नेपाल आएका छन् । 

नयाँ वर्षयता निरन्तर रहेको चापले पोखराका होटलको अकुपेन्सी ९० प्रतिशत पुगेको छ । सामाजिक सञ्जालमार्फत मुक्तिनाथलगायत गन्तव्यको प्रचारले पनि पर्यटक बढाएको बताइएको छ ।

भारत सरकारले विदेशी मुद्रा सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुक भ्रमणलाई प्रोत्साहन गरेकाले नेपालमा भारतीय पर्यटक बढेको विश्लेषण गरिएको छ । बिहारलगायत सीमावर्ती राज्यबाट एकै दिनमा नेपाल पुग्न र छोटो समयमा धेरै स्थान घुम्न सकिने भएकाले युवा पुस्ता आकर्षित भएको छ । 

बिहारमा मदिरा निषेध भएकाले केही युवा मनोरञ्जनका लागि पनि नेपाल आउने गरेका छन् । भारत सरकारले ज्येष्ठ नागरिकलाई तीर्थाटनमा सहुलियत दिएकाले पशुपतिनाथ र मुक्तिनाथ आउने धार्मिक पर्यटक पनि उल्लेख्य छन् ।

प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, सहज यातायात र भारतको अत्यधिक गर्मीका कारण नेपाल, विशेषगरी पोखरा, भारतीयहरूको प्रमुख गन्तव्य बनेको हो । 

व्यवसायीहरूका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटक उल्लेख्य रूपमा बढेका छन् । भारतका विभिन्न सहरमा तापक्रम ४४–४५ डिग्री सेल्सियस पुगेपछि भारतीयहरु शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउन थालेका हुन् । पोखराको चिसो मौसममा रमाउन पाउँदा भारतीय पर्यटकहरू खुशी हुने गरेको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update