काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन् ।
उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गरे । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको समेत बताए । उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्र्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘सामुहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ हुन सक्दैन, बलियो हुन सक्दैन । टिकाउ पनि हुन सक्दैन । राम्रोसँग चल्न सक्दैन । कलेक्टिक लिडरसिप विनाको नेतृत्व, डेमोक्रेसी देशमा सफल हुन सक्दैन । संसारको उदाहरण हेर्ने होभने हामी त्यो पाउँछौँ । त्यसो भएको हुनाले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो । त्यसलाई हामीले लगातार मान्दै आएको हो । तर हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ । तर व्यवहारमा लागू भएन । त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ । नीति प्रदान कि नेतृत्व प्रदान । यो अर्को गम्भिर प्रश्न हो । यो हामीले नीति प्रदान भनेर दस्तावेजमा लेखेकै छौँ । तर व्यवहारिक रुपमा हामी के अभ्यास गर्दै आईरहेका छौँ भने नीति होइन, नेता प्रदान हो भन्ने कुरालाई स्थापित गर्न खोजिरहेका छौँ । यो कुरासँग हामी असहमत छौँ । यो धेरै महत्वपूर्ण कुरा हो । त्यसकारण नीति प्रदान हो, नीति अन्तर्गत नेता रहनुपर्छ नीतिको आधारमा सबै चल्नुपर्छ । नीतिको आधारमा देश चल्नु पर्छ, जनता चल्नु पर्छ । नीतिको आधारमा सम्पूर्ण पार्टी चल्नुपर्छ । नीतिको आधारमा राष्ट्रपति, प्रधानमन्त्री चल्नुपर्छ । नीतिको आधारमा पार्टीका सबै नेताहरु चल्नुपर्छ भन्ने मान्यतालाई हामी पुनः स्थापित गर्न चाहन्छौ । त्यसलाई अगाडि बढाउन चाहन्छौँ । यसकारणले गर्दा हामीले नेता फेर्न खोजिरहेका छौँ ।’
उपाध्यक्ष ज्ञवालीले आफूहरुले ईश्वर पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेल्न चाहेको पनि बताए ।
