News 24 Television
अस्थिरताको चक्र उस्तै, देशभर एमालेबाहेकको गठजोड गर्ने प्रचण्डको हुँकार

काठमाडौँ । मधेश प्रदेशमा नेकपा एमालेले पछिल्लो एक–डेढ महिनाकै अवधिमा प्रमुख पदहरु गुमाउँदै सत्ताबाहिर धकेलिएको छ । मधेश प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक घटनाक्रम केन्द्रीय राजनीतिको अस्थिरता को प्रादेशिक विस्तार नै हो । केन्द्रमा ठूला दलहरुको गठबन्धन फेरिँदा प्रदेशमा पनि फेरिँदै आएकोमा अहिले गैरदलीय अन्तरिम सरकार हुँदा पनि यसको प्रभाव मधेशमा परेको छ ।

एमाले एक्लिनु र सत्ताविहीन हुनुमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई विश्वासको मतको आधारबिना र अन्य दलहरुको समर्थनबिना मुख्यमन्त्री बनाउनु नै मुख्य कारण देखिन्छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै होटमा शपथ खुवाएपछि यो विषय पेचिलो बन्यो । कांग्रेससहितका सात दल ले धारा १६८ (२) बमोजिम नै संयुक्त सरकार गठनको सम्भावना हुँदाहुँदै सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै तीव्र विरोध गरे, साथै सर्वोच्च अदालतमा रिट दायर समेत गरे । 

विवादास्पद रुपमा मुख्यमन्त्रीको नियुक्ति र होटलमा शपथ गराएको भन्दै तत्कालीन प्रदेश प्रमुखलाई संघीय सरकारले बर्खास्त ग¥यो । यस प्रकरणले निम्त्याएको दबाबका कारण एमालेबाट निर्वाचित सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलीय गठबन्धनले अविश्वास प्रस्ताव पारित गरेर पदमुक्त बनाए । लगत्तै सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि उनले विश्वासको मत पाउने आधार नदेख्दा राजीनामा दिए ।

हाल कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धनले काँग्रेस नेता कृष्ण यादवलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि संविधानको धारा १६८ (२) अनुसारै यादव मुख्यमन्त्री बनिसकेका छन् । आइतबार शपथग्रहणलगत्तै पदभार सम्हालेका र चार सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका उनले सुशासन र स्थायित्व आफ्नो प्राथमिकता रहेको बताए । प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका यादवले प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू केन्द्रित हुने बताए । 

मधेश प्रदेशमा एमालेलाई एक्ल्याएर नयाँ गठबन्धन बन्नुलाई केन्द्रीय राजनीतिका खेलाडीहरूले निकै महत्त्वका साथ हेरेका छन् । नवगठित नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरुमा पनि बनाउनुपर्ने बताएका छन् । शनिवार जनकपुरधाममा उनले मधेसमा काँग्रेस, नेकपा तथा मधेस केन्द्रित दलहरुबीच गठबन्धन बनेर नयाँ समिकरण बनेको र अब यस्तै समिकरणको शुरुवात अन्य प्रदेशहरुमा पनि बन्ने दाबी गरे । कम्युनिष्टहरुबीचको एकता प्रकृयालाई जारी राख्ने बताएका प्रचण्डले एमालेमा आबद्ध नेताहरुलाई समेत आफ्नो एकतामा सामेल हुन आह्वान गरे ।

नेपालको प्रादेशिक राजनीति सधैँ केन्द्रीय समीकरणबाट प्रभावित हुने भएकाले, केन्द्रमा बनेको वा बन्ने नयाँ गठबन्धनले अन्य प्रदेशमा पनि एमालेलाई एक्ल्याउन दबाब सिर्जना गर्न सक्छ । आगामी चुनावका लागि विभिन्न दलहरूबीच गठबन्धन हुने सम्भावना देखिन्छ, जसले गर्दा आगामी दिनहरुमा अन्य प्रदशहरुको सत्ता समीकरणमा समेत बदलाव ल्याउन सक्छ । पछिल्लो जेनजी आन्दोलनले केन्द्रीय सरकारको नेतृत्वबाट समेत एमालेलाई च्युत गरेको अवस्था छ भने निर्वाचनमा सामेल हुने वा संसद व्युँताउने विषयमा समेत एमाले एक्लो छ । 

मधेश प्रदेशको पछिल्लो घटनाक्रमले एमालेलाई आगामी निर्वाचनमा ठूलो जनसंख्या रहेको मधेशमा कमजोर बनाउने समेत देखिन्छ । विशेषगरी देशभर नै जेनजी युवाहरुको प्रमुख तारो बनिरहेको एमाले आगामी निर्वाचनमा कसरी उदाउँछ, त्यसले भावी केन्द्रीय सत्ताको मार्गचित्र कोर्नेछ ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update