News 24 Television
वैदेशिक रोजगारी ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा। कृष्णहरी पुस्करले पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने जानकारी दिए । सबै श्रमिकका लागि आधिकारिक सूचना र सुरक्षित निर्णय गर्न सहयोग गर्नको लागि अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर यो प्रणाली शुरु गर्न लागिएको उनले बताए ।

 उनका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गर्न लागिएको हो । यी सबै स्थानबाट कार्यलय समयमा सेवा लिन सकिने उनले जानकारी दिए । 

उनका अनुसार सेल स्थापना गर्नुका मुख्य तीन वटा उद्देश्य छन् । श्रमिकले राज्यको आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यमबाट फैलिरहेका ठगी तथा झुटा प्रलोभनबाट जोगिन सकुन् र वैदेशिक रोजगारमा पूर्ण सुरक्षितता सुनिश्चित होस् भन्ने उदेश्य रहेको उनले बताए ।

पछिल्लो समय टिकटक, फेसबुकका रिल लगायत सामाजिक सञ्जालमार्फत ‘यति पैसा कमाइन्छ’, ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ जस्ता भ्रमपूर्ण प्रचार बढेको छ । त्यसबाट श्रमिकलाई जोगाउन यो सेल प्रभावकारी हुने उनको विश्वास छ । ‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको उत्तर प्राप्त गर्न सक्नेछन् । यसमा कुन देशमा रोजगारीको माग छ वा छैन, आधिकारिक म्यानपावर कम्पनी कुन हुन्, कामका लागि आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना लगायतका विषय समावेश छन् । 

उनले भने, ‘सबै श्रमिकको ठगी र सुरक्षाको व्यवस्थापन गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पुस ८ गतेदेखी लागू हुनेगरी हेल्प टु हेल्प १० सेल हामी स्थापना गर्न गईरहेका छौँ । त्यो हेल्प टु हेल्प १० सेल भनेको के रहेछ भने ७५३ पालिकामा हाम्रो रोजगार सुचना केन्द्रहरु छ, सात वटै प्रदेशमा श्रम कार्यलयहरु छ, वैदेशिक रोजगार विभाग पनि छ र खास गरेर समाधान कल सेन्टर छ । त्यो हेल्प टु हेल्प १० सेल सेन्टर भनेको हामीले तीन वटा उद्देश्य राखेर शुरु गरिरहेका छौँ । एउटा, राज्यको सुचनालाई आधिकारिक मानोस्, राज्यकै सुचनालाई प्रमुख मानेर केही निर्णय गर्ने । दोस्रो, अहिले विभिन्न खालको ट्रयापहरु छ, जस्तो अब डिजिटल ट्रयाप, टिकटक, फेसबुक रिलमा यति लाख ल्याउनुस्, यो देशमा पटाईदिन्छौ भन्ने रिल हेरिराख्नु भएको छ, त्यो वाट जोगिनको लागी । अर्को चाहीँ यो विभिन्न खालको फ्रड फ्रि ट्रयापबाट बच्नको लागी र वैदेशिक रोजगारका कुराहरुमा फुल कम्प्लाईन्स हुनको लागि र जहिले पनि वैदेशिक रोजगारमा जाने हो भने सहि निर्णय गरेर मात्रै प्रवेश गरौँ । अर्को ईगभर्नेन्सको कुराहरु जुन श्रम मन्त्रालय, नेपालका जतिपनि सरकारका निकायहरु छ, सवैको अग्र स्थानमा छ, डिजिटल गभर्नेन्सको माध्यममा । त्यहीपनि मान्छेहरुले १० प्रतिशत पनि सेवा लिनुहुन्न । ९० प्रतिशत मान्छेहरु ईनप्रसन जानुहुन्छ । १० वटा प्रश्नको जवाफ दिनेगरि हामीले ८ गतेदेखि लागू हुनेगरी हेल्प टु हेल्प १० सेल सेन्टर स्थापना गर्न गईरहेका छौँ । मन्त्रालयले त्यसको व्यवस्थापन गर्छ ।'

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update