News 24 Television
नेतृत्व चयनका लागि घमासान, एमालेमा आन्तरिक लोकतन्त्र थप बलियो

काठमाडौँ । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन मंगलबार नेतृत्व चयनका लागि मतदान हुँदैछ । भृकुटीमण्डपमा जारी बन्दसत्र र निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको टुंगो लाग्नेछ । निवर्तमान अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि असफल भएको छ । अध्यक्ष पदमा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुँदैछ । प्यानल नै खडा गरेर चुनावी मैदानमा होमिएका दुवै नेताबीच कडा टक्कर पर्ने अनुमान भइरहेछन् । बिहानैदेखि महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधि तथा कार्यकर्ताहरूको उल्लेख्य चहलपहल देखिएको छ । विभिन्न प्यानलका समर्थकहरू आ–आफ्ना नेताको पक्षमा नारा लगाउँदै भोट माग्न व्यस्त छन् । विद्युतीय मतदान मेसिनको प्रयोग गरिने भएकाले प्रक्रिया छिटोछरितो हुने अपेक्षा गरिएको छ ।

यस मतदानबाट एमाले अध्यक्षमा ओली दोहोरिन्छन् कि बढारिन्छन् ? मूल चासोको विषय यही भएको छ । देशभरबाट आएका २ हजारभन्दा बढी प्रतिनिधिहरूले पार्टीको आगामी नेतृत्व छान्ने प्रक्रियामा उत्साहपूर्वक सहभागीता जनाएका छन् । कतिपय युवा नेताहरुले ओलीको औचित्य समाप्त भएको भन्दै नयाँ नेतृत्वमा पोखरेललाई चयन गर्नुपर्ने बताइरहेका छन् । केही वयोवृद्ध नेताले स्वेच्छिक अवकाश लिएका छन् भने केहीले ओलीबाट अपेक्षित पदमा उम्मेदवारी नपाएपछि पदाधिकारीमा नबस्ने घोषणा भएको छ । विगतमा ओलीसँगै विद्रोह गरेर माधव नेपालसँग नयाँ पार्टी गठन गरेकी रामकुमारी झाँक्री हाल एमालेमै फर्किएर ओलीको कट्टर समर्थक बनेकी छन् । झाँक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु वर्तमानमा सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको जिकिर गरेकी छन् । 

ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाई छ । उनले जेन–जी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पारिन् । यद्यपि ओलीको आलोचना गर्दै आएका तर ओलीको विकल्पमा समेत जान नसकेका अर्का चर्चित नेता योगेश भट्टराईले पुरानै नेतृत्वले पार्टी सम्हाल्न नसकेको बताएका छन् । जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको भन्दै उनले यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताए । अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको भन्दै उनले पार्टीलाई जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरु प्रतिष्पर्धामा रहेको दाबी समेत गरे । 

ओलीले सहज ढंगले नेतृत्व हस्तान्तरण नगरेपछि चुनावी भिडन्तमा उत्रिएका नेता ईश्वर पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत ठिक ढंगले चलाउन आफू अध्यक्ष पदको उम्मेदवार बनेको दाबी गरेका छन् । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउँदै पार्टीको सांगठनिक जीवनमा आन्तरिक प्रतिष्पर्धालाई अस्वाभाविक रुपमा लिन नहुने जिकिर गरे । जनताको बहुदलीय जनवादद्वारा निर्देशित पार्टीलाई थप सुधार गरेर अगाडि बढाउन आन्तरिक प्रतिष्पर्धामा उत्रिएको उनको भनाइ छ । 

पोखरेलले आफूहरु हारे पनि एमालेबाट बाहिर नजाने र एमाले नै भएर रहने समेत बताएका छन् । नेतृत्वका लागि सहमति नजुट्नु र प्रतिस्पर्धाको भावना बढ्नुले एमाले आगामी दिनमा थप विभाजित वा कमजोर हुने कतिपयको आकलन छ । तर एमालेका निःवर्तमान उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरु भने प्रतिष्पर्धाले एमालेभित्र आन्तरिक लोकतन्त्र छ है भन्ने सन्देश दिएको बताउँछन् । प्रतिस्पर्धालाई लिएर पार्टी नफुट्ने र थप बलियो बन्ने उनको दाबी छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update