News 24 Television
नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताएकी छन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले गत भदौ २३ र २४ गतेको जेन-जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउनुहुँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताइन् । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको उनले बताइन् ।

निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताइन् ।

उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको जेन-जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ । आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो । म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताइन् । शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि उनले बताइन् । खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भुमिका उत्तिकै महत्वपूर्ण हुने प्रधानमन्त्रीकाे भनाइ छ । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update