काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली फेरी निर्वाचित भएका छन् । पार्टीको ११औँ महाधिवेशनको अन्तिम मत परिणाममा ओलीले १६ सय ६३ मत का साथ विजयी प्राप्त गरे । यो सँगै ओली तेस्रो पटक एमालेको अध्यक्षमा निर्वाचत भएका छन् । उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्दै पराजित भएका छन् ।
यो महाधिवेशनमा अध्यक्षका लागि ईश्वर पोखरेल र केपी शर्मा ओली प्रतिस्पर्धामा थिए । उनीहरुले प्यानल नै बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । जसमा ओली पक्ष नै हावी भएको देखिन्छ । यद्यपि ईश्वर पोखरेल पक्षबाट पनि पदाधिकारीमा केहीले जित हासिल गरेका छन् । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् । जसमध्ये गोकर्ण विष्ट ईश्वर पोखरेल प्यानलका हुन् ।
यस्तै, महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल विजयी भएका छन् । उनले १२ सय २८ मत प्राप्त गरे । त्यस्तै उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेल ९ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । जसमा भट्टले १४ सय ५२ मत, महासेठले १३ सय ६८ र भट्टराईले १३ सय ४८ मत पाएका छन् ।
सचिवमा सबै ओली पक्षका
अन्तिम मत परिणाममा सचिवतर्फ सबै ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । जसमा सर्वाधिक मत महेश बस्नेतले पाए । उनले १५४४ मत ल्याएका छन् । पद्माकुमारी अर्याल १५३० मत, छविलाल विश्वकर्मा १५०६ मत, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८०, राजन भट्टराई ११८१ र भानुभक्त ढकालले ११०८ मत प्राप्त गरे ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि आरम्भ भएको थियो । यो महाधिवेशनमा देशभरबाट २ हजार २६२ महाधिवेशन प्रतिनिधि सहभागी थिए । जसमध्ये ३६ जना मतदानमा सहभागी भएका छैनन् ।
ओली विस्थापित गर्न असफल
जेनजी आन्दोलनपछि राजनीतिक दलहरुको नेतृत्वमा रुपान्तरणको अपेक्षा गरियो । त्यसमा पनि तत्कालीन सत्ता नेतृत्वमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै राजनीतिबाट विस्थापित गराउनुपर्ने दबाव सृजना भयोे । यद्यपि ओलीले राजनीतिबाट स्वेच्छिक अबकास रोजेनन् । यसपछि ओलीलाई हटाउने एक मात्रै विकल्प पार्टीको महाधिवेशन नै थियो । यो महाधिवेशनमा ओलीलाई टक्कर दिन ईश्वर पोखरेल मैदानमा उत्रिए । तर उनले तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने ओलीको रणनीतिलाई विफल पार्न असफल भएका छन् ।
यो निर्वाचन मत परिणामले ओलीलाई पार्टी भित्र फेरी शक्तिशाली सावित गराएको छ । जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिमा ओलीको पुनरागमन नरुचाइएपनि ओली एमालेको आन्तरिक प्रतिस्पर्धाबाट ओली फेरी केन्द्रीय सत्ताको नेतृत्वका लागि दाबेदार बनेका छन् ।
