काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले कक्षा ५, ८, र १० को सामाजिक विषयको पाठ्यपुस्तक परिमार्जन गर्ने काम सुरु भइसकेको जानकारी दिएका छन् । सेभ द चिल्ड्रेन र शिक्षा पत्रकार समूहले आज राजधानीमा गरेको ‘बालबालिका, पाठ्यक्रम र पाठ्यपुस्तकबीचको तादम्यता’ विषयक अन्तर्क्रियामा बोल्दै उनले परिमार्जन भएका यी पुस्तकहरू वि.सं. २०८४ देखि कार्यान्वयनमा लगिने समेत जानकारी दिए ।
पाठ्यपुस्तक लेखिँदा सरोकारवालाहरूसँग छलफल गरिनुका साथै लेखकहरूलाई अभिमुखीकरण गरिने र विविधताबीच एकता खोजिने गरेको तर्क उनको थियो। पाठ्यपुस्तक लेखिँदा राष्ट्रियताको भाव बढोत्तरी गर्न नागरिकको भूमिका तथा असल समाज निर्माण जस्ता विषयमा नै ध्यान दिइने गरेको समेत उनले बताए ।
कार्यक्रममा शिक्षा पत्रकार समूहका तर्फबाट अहिले विद्यार्थीले पढ्दै गरेको पाठ्यपुस्तकहरूको अध्ययन गरी पुस्तकहरू बालबालिका मैत्री छन् कि छैनन्, पाठ्यपुस्तकमा भएका विषयवस्तुहरू लैंगिक मैत्री छन् कि छैनन्, अपाङ्गता तथा यौनिक अल्पसंख्यक समुदायलाई कसरी सम्बोधन गरिएको छ, साथै भाषाको प्रयोग कसरी गरिएको छ भनेर सूक्ष्म अध्ययन गरी प्रस्तुतीकरण गरिएको थियो।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरि निरौलाले नेपाली समाज बहुलवादी समाज भएकाले समाजको प्रतिनिधित्व कक्षा कोठामा हुने गरेको र पाठ्यसामग्री बनाइँदा दक्षता र विज्ञता भएका व्यक्तिबाट नै विभिन्न चरण पार गरेर बनाइने जानकारी दिए । पाठ्यपुस्तकका हरेक पाठलाई समावेशीकरण गर्ने प्रयास गरिएको धारणा उनको थियो।
सेभ द चिल्ड्रेनका सिनियर प्रोग्राम डेभलपमेन्ट एण्ड क्वालिटी एडभाइजर डाक्टर लक्ष्मी पौडेलले पाठ्यक्रम र पाठ्यपुस्तकबीच रहेको खाडलको चर्चा गर्दै कार्यान्वयन तहमा पनि समस्या रहेको बताइन् । साथै, पाठ्यपुस्तकले विद्यालय र घरलाई जोड्न नसकेको तर्क उनको थियो। उनले पाठ्यपुस्तकमा भएका ज्ञानको कमी (ग्याप) पूरा गर्न त्यसको परिपूरक पाठ्य सामग्री बनाउन सकिने समेत बताइन् ।
शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले पाठ्यक्रम र पाठ्यपुस्तक दुवै परिवर्तन गर्न सकिने भएकाले पाठ्यपुस्तक बनाउनु अघि समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूको सूची तयार पारिनुपर्ने बताए ।
शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले समूहगत छलफलबाट आएका सुझावहरू पाठ्यसामग्री बनाउँदा उपयोगी बन्न सक्ने भएकाले सहभागीहरूको सुझावसहितको प्रतिवेदन पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बुझाइने प्रतिबद्धता व्यक्त गरिन् ।
