बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–४मा रहेको नेपाल माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारसँगै पशु प्राविधिक शिक्षामार्फत सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । प्राविधिक शिक्षा, आधारभुत तहमा अग्रेजी अध्यापनसँगै विद्यालयले बालबालिकालाई आचरण सिकाउने भएको छ ।
बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा रहेको विद्यालयलले आउदो शैक्षिक सत्रबाट बालबालिकालाई आचरण सिकाउनका लागि ‘१२ घण्टे विद्यालय’ कार्यक्रम बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्यालयमा राख्ने निर्णय गरेको हो । कुल चार सय ११ जना विद्यार्थी संख्या रहेकोमा पशु विज्ञापन तर्फ ३९ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले आधारभुत तहको लागि अग्रेजी माध्यममा अध्यापन गराउदै आएको छ । कक्षा १–५ मा अध्ययन गर्ने बालबालिकालाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमा राखेर बानी व्यवहार र आचरण सिकाउने भएको हो । पछिल्लो समय साना उमेरका बालबालिकाहरु मोबाईलको लतमा पर्ने र अन्य आनीबानी र व्यवहारपनि सामाजिक हुन नसकेको देखिएकाले यो कार्य गर्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रकाश रोकाको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीका अनुसार बालबालिकालाई रैथाने संस्कृति र सीपहरु समेत सिकाउनका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
विगतका वर्षहरुमा प्राविधिक धारतर्फ न्यून विद्यार्थीको सहभागिता भएपनि यस वर्षबाट झण्डै तीन गुणा वृद्धि भएको विद्यालयले जनाएको छ । पशु विज्ञापन अध्ययन गर्ने विद्यार्थीलाई अभ्यास गर्नका लागि विद्यालयले आफ्नै पशु फार्म सञ्चालन गरेर भैंसी र बाख्रापालन गरेको छ ।
विद्यार्थीलाई आकर्षण गर्नका लागि स्वेच्छिक छात्राबास सञ्चालन गर्ने, विद्यालय बस सञ्चाल गर्ने योजना अगाडि सारिएको छ । विगतमा कक्षा १० र कक्षा ८ का विद्यार्थीका लागि मात्रै सञ्चालन गरिएको छात्राबास आउने शैक्षिक शत्रदेखि कक्षा ८ देखि माथि सबैका लागि सञ्चालन गरिने भएको छ । विद्यालयको भौतिक निर्माणको काम लगभग सकिएकाले अब शैक्षिक विकासमा विद्यालय केन्द्रित हुने विद्यालय व्यवस्थापन समितीले जनाएको छ ।
