काठमाडौँ । शिक्षा पत्रकार समूहले नयाँ सरकारलाई शिक्षा क्षेत्रका पुराना र थाती रहेका समस्याहरूलाई उच्च प्राथमिकतामा राखी समाधान गर्न र शिक्षा सुधारका अभियानमा सक्रिय हुन सुझावसहित ध्यानाकर्षण गराएको छ।
समूहले नवनिर्वाचित सरकारलाई शिक्षा क्षेत्रका थाती रहेका मुद्दाहरू प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको हाे । समूहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई सम्बोधन गर्दै साढे दुई दशकदेखि आफूले शिक्षा क्षेत्रको सुधार र नीति निर्माणमा खेल्दै आएको भूमिकाको स्मरण गराएको छ ।

ध्यानाकर्षण पत्र अनुसार भर्खरै सम्पन्न आम निर्वाचनबाट बनेको शक्तिशाली र स्थिर सरकारले विगतका सरकारहरूबाट सम्बोधन हुन नसकेका शिक्षाका कयौँ पेन्डिङ मुद्दाहरूलाई समाधान गर्नेमा समूह आशावादी छ । समूहले संविधान निर्माण र विद्यालय शिक्षा विधेयक लेखनका क्रममा पनि सरकार र संसदीय समितिलाई संस्थागत सुझाव दिँदै आएको तथ्य उल्लेख गर्दै नयाँ सरकारको सफल कार्यकालका लागि समेत शुभकामना व्यक्त गरेको छ ।
पत्र बुझाउँदै शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्मला कक्षपतिले शिक्षाका समसामयिक मुद्दामा मन्त्रीसँग शिक्षा पत्रकार समूह सहकार्य गर्न तयार रहेको बताइन् ।
