News 24 Television
काठमाडौं महानगरको छात्रवृत्तिमा कसले पाउँछन् अवसर, कहिलेदेखि खुल्छ आवेदन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३÷०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूबाट आवेदन माग गरेको छ । महानगरका संस्थागत विद्यालयमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने भएकाले हजारौं विद्यार्थीका लागि अवसर खुलेको छ । 

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र कक्षा १२ अध्ययनका लागि छात्रवृत्ति आवेदन माग गरेको छ । महानगर अन्तर्गतका विद्यालयहरूमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने भएकाले यो कार्यक्रम हजारौं विद्यार्थीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । 

महानगरको शिक्षा विभागले जारी गरेको सूचना अनुसार एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट अथवा इन्ट्रान्स डट काठमान्डु डट जीओभी डट एनपी मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । 

छात्रवृत्तिका लागि परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित एक सयवटा वस्तुगत बहुविकल्पीय प्रश्नहरू सोधिने जनाइएको छ । 

को–को विद्यार्थीले दिन पाउँछन् आवेदन ?

महानगरपालिकाका अनुसार न्यूनतम १.६ जीपीए सहित एसईई उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । तर, आवेदनको मुख्य शर्त भनेको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा विद्यार्थीहरूले जन्मदर्ता, नागरिकता वा बसाइँसराइ प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

यसैगरी, नुवाकोटको ककनी गाउँपालिका वडा नं. १, २ र ३ तथा धादिङको धुनिवेशी नगरपालिका वडा नं. १, ३ र ४ का स्थायी बासिन्दा विद्यार्थीले पनि आवेदन दिन सक्नेछन् । ती क्षेत्रलाई ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका रूपमा समेटिएको महानगरले जनाएको छ । साथै, संस्थागत विद्यालयमा कक्षा १० सम्म छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरूलाई पनि आवेदन दिने अवसर प्रदान गरिएको छ । 

छात्रवृत्ति कोटा र नतिजा

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययन गर्ने कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयन गर्दै आएको छ । २०७९ सालदेखि व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रममार्फत हालसम्म करिब १५ हजार विद्यार्थी लाभान्वित भइसकेका छन् । 

गत वर्षको छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । तीमध्ये १० हजार ८६७ जना उत्तीर्ण भएका थिए भने करिब ४ हजार ५ सय विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका थिए । 

महानगरले यो कार्यक्रमलाई शिक्षा क्षेत्रमा पहुँच विस्तार गर्दै आर्थिक रूपमा कमजोर विद्यार्थीलाई गुणस्तरीय शिक्षामा अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको जनाएको छ । महानगरले विषयगत अंककभार, परीक्षा केन्द्र तथा विद्यालयगत छात्रवृत्ति कोटासम्बन्धी विस्तृत विवरण भने वेबसाइटमार्फत पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update